दार्जीलिङ, 20 अप्रेल : शुक्रबार राति दार्जीलिङमा आगलागी हुँदा तीनवटा दोकान जलेर पूर्ण रूपले खरानी भएका छन् भने अन्य 6 वटा दोकान आंशिक जलेका छन्।
दार्जीलिङ नगरपालिका अध्यक्ष प्रतिभा राईका अनुसार यो अग्निकाण्ड हिजो राति लगभग 11 :30 बजे चोकबजारमा भएको हो। आगलागीको सटीक कारण पत्तो लाग्न सकेको छैन।
राईका अनुसार यो समयमा नै घटनाबारे थाहा पाएकोले ठूलो विनाश हुनबाट शहर जोगिएको थियो। यद्यपि आगलागीको कारण स्थानीय दोकानदारत्रय मङ्गलावती देवी, वीरेन्द्र प्रसाद र हरिनारायण प्रसादको दोकान जलेर खरानी भएको छ।
यसका साथै हनुमान दास सिङ्घल, नन्दकिशोर अगरवाल, अवधकिशोर एन्ड ब्रदर्स, महासागर बाल्मिकी, राम नारायण प्रसाद र तारादेवी प्रसादको दोकानलाई आंशिक क्षति पुगेको छ। उनले यो आगलागीमा लाखौं रुपियाँको क्षति भएको पनि जनसंवादलाई बताएकी छन्।
अग्निशमन विभाग, पुलिस प्रशासन र स्थानीय मानिसहरूको तत्परता र सक्रियताले समयमा नै आगो निभाउन सकेकोले नै शहर ठूलो दुर्घटनामा पर्नदेखि जोगिएको पनि नगरपालिका अध्यक्ष प्रतिभा राईले जनसंवादलाई बताएकी छन्।