युवा मोर्चा नेता असित राईको गाड़ी तोड़फोड़ : विमल, मन घिसिङ र प्रताप खातीहरूविरुद्ध पोस्टरिङ

0
1796
कालेबुङ शहरमा पोस्टरिङ गरिँदै।

कालेबुङ, 20 अप्रेल : चुनाउ सकिए लगत्तै कालेबुङमा हिंसा शुरु भएको छ। मतदानकै दिन विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा  एवं भाजपाका चुनावी संयोजक तोप्देन भोटियाको वाहन तोड़फोड़ गरिएको थियो भने शनिवार विनय तामाङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला कमिटीका कोषाध्यक्ष असित राईको  वाहन पनि तोड़फोड़ गरिएको घटना प्रकाशमा आएको छ।

आफ्नो घरबाट कालेबुङ आइरहेको बेला होम्स फाटक नजिक बङ्गाली गोलाइमा लगभग 2.20 बजे एक झुण्ड युवाले अचानक असित राईको वाहनमाथि ढुङ्गामूढ़ा गर्नका साथै तोड़फोड़ गरेको बताइएको छ।

वाहनका मालिक एवं विनयपन्थी युवा मोर्चा नेता असित राईका अनुसार अचानक एक झुण्ड युवाले उनको वाहनलाई तोड़फोड़ गरे। यसपछि घटनाबारे जानकारी पाएपछि गोजमुमो केन्द्रिय समितिका नेता रूदेन लेप्चा, विनय घिसिङ, अमिर बस्नेत र इमान चामलिङहरू घटनास्थलमा पुगेका थिए। राईको वाहनका सबै ऐना तोड़फोड़ गरिएको छ।

यो घटना सम्बन्धमा विनयपन्थी गोजमुमोले कालेबुङ थानामा प्राथमिकी पनि दर्ता गरेको छ। प्राथमिकीमा घटनामा संलग्न दोषीहरूलाई पक्राउ गरी उचित कारबाही गर्नुपर्ने माग गरिएको छ।

यसका साथै उनीहरूले घटनामा संलग्न मानिसहरूलाई पक्राउ गर्नुपर्ने माग गर्दै केही घण्टा धरना दिए। अर्कोतिर यसै घटनाको सम्बन्धमा विनयपन्थी मोर्चाले पोस्टरिङ गरेको छ। पोस्टरमा विशेष गरी विमल गुरुङपन्थी गोजमुमोका नेताहरूलगायत भाजपालाई समर्थन जनाउने पार्टीका नेताहरूमाथि अशान्ति सिर्जना गर्न खोजेको आरोप लगाइएको छ।

पोस्टरमा विमल गुरुङलगायत उनका सहयोगी नेताहरू क्रमैले विजय सुन्दास, तोप्देन भोटिया, शुभ प्रधान र वन्दना योञ्जन तथा गोरामुमोका अध्यक्ष मन घिसिङ, प्रवक्ता नीरज जिम्बा र अभागोलीका महासचिव प्रताप खातीको नाम उल्लेख गरिएको छ।

गोजयुमोको नाममा टाँसिएको पोस्टरमा भनिएको छ-‘विनय तामाङ र अनित थापाले शान्त बनाएको पहाड़लाई विमल गुरुङ, मन घिसिङ, नीरज जिम्बा र सहयोगी दलहरू मिलेर अशान्त बनाउँदैछ।’

अर्कोतिर यो घटना सम्बन्धमा बोल्दै विनयपन्थी युमो मोर्चा महासचिव अमिर बस्नेतले विमलपन्थी गोजमुमो र गोरामुमोका नेताहरूले कालेबुङका गाउँ बस्तीतिर धम्की दिने कार्य गरिरहेको आरोप लगाएका छन्।

उनले भने, ‘‘कालेबुङका गाउँ बस्तीतिर विमल गुरुङपन्थी गोजमुमो र गोरामुमोका नेतृत्वहरूले हाम्रा कार्यकर्ताहरूलाई धम्की दिने कार्य गरिरहेका छन्। यी दुई दल चुनाउ सकिएलगत्तै हिंसामा ओर्लिएका छन्।’’

बस्नेतले पहाड़लाई हिंसाबाट जोगाउने दायित्व सबै राजनीतिक दलको रहेको पनि बताएका छन्। हामी चाहन्छौं, अब पहाड़ले हिंसाको राजनीति त्यागेर निर्माणको राजनीतितिर अघि बढ़ोस्। जनताले विजयी बनाएको दलहरूले धम्कीको राजनीति होइन, तर जनतालाई के कति सुविधा र विकास दिन सकिन्छ भन्नेतर्फ सबैभन्दा बढ़ी गम्भीर बनुन्। हिंसाले पहाड़को भलाइ हुनेछैन, उल्टा विनाश मात्र हुन्छ।

उनले कालेबुङमा शुरु भएको हिंसाको राजनीतिमाथि प्रशासनले गिद्दे दृष्टि राखेर दोषीहरूलाई चिह्नित गरी कठोर कारबाही गर्ने माग गरेका छन्। ‘‘हामी हिंसाको राजनीतिमा विश्वास गर्दैनौं। र यस्ता कार्यमा संलग्न पनि हुँदैनौं। हामी दार्जीलिङ पहाड़को साँचो विकास र उन्नति गर्न चाहन्छौं’’, विनयपन्थी युवा मोर्चा कालेबुङ जिल्ला कमिटीका महासचिव बस्नेतले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here