कोरोनाले सोनादानिवासी युवकको दुबईमा मृत्यु

0
1918

दार्जीलिङ, 20 अप्रेलः कोरोना भाइरसको कारण दार्जीलिङनिवासी 36 वर्षीय युवकको दुबईमा मृत्यु भएको छ। मृतक युवक नाम अर्पण छेत्री हो। उनी सोनादा मुण्डा-बाँसघारीनिवासी रहेको बताइएको छ।

पारिवारिक सूत्रका अनुसार पछिल्लो 10 अप्रेलका दिन उनी दुबईस्थित एक अस्पतालमा भर्ना भएका थिए। उपचाराधीन अवस्थामै हिजो उनको मृत्यु भएको बताइएको छ।

परिवारले उनको मृत्युको खबर हिजै अपराह्न प्राप्त गरेको बताइएको छ।

जानकारीका अनुसार घरका जेठो छोरो अर्पण करिब एक वर्षअघि दोस्रोपटक काम गर्नका लागि दुबई गएका थिए।

मृतकका भाइका अनुसार केही दिनदेखि ज्वरोले सताएपछि उनी जँचाउनका लागि 10 अप्रेलका दिन स्थानीय एक अस्पताल गएका थिए। त्यसै दिन उनी अस्पतालमा भर्ना भएका थिए भने उनको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको थियो।

परिवारसँग अर्पणको अन्तिमपटक फोनमा कुराकानी त्यसै दिन भएको थियो। त्यसपछि घरकाहरूले धेरैपटक कल गर्दा पनि अर्पणसँग कुराकानी हुनसकेन।

पछि परिवारले कोठामा सँगै बस्ने अर्पणका साथीहरूसँग कुराकानी गरी अस्पताल प्रबन्धन पक्षसँग उनको स्वास्थ्यबारे जानकारी लिनका लागि कुराकानी गरेका थिए।

अन्तिमपटकको कुराकानीमा अर्पणको स्वास्थ्यमा सुधार आइरहेको अस्पताल प्रबन्धनपक्षले बताएको थियो। तर, हिजो अचानक परिवारले अर्पणको मृत्यु खबर सुनेपछि अवाक बनेका छन्। छोरो गुमाएको पीड़ाले आमा-बाबा विह्वल बनेका छन्। भाइको अवस्था पनि त्यस्तै भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here