गान्तोक, 20 अप्रेलः आउँदो बजेटमा माछा पालकहरूलाई सहयोग गर्न सिक्किम सरकारबाट धनराशि छुट्याउने मुख्यमन्त्री पीएस गोलेले घोषणा गरेका छन्।
आज राजधानी गान्तोकको एमजी मार्गमा सिक्किम सरकारको मत्स्य निर्देशालयद्वारा हैदराबादको मत्स्य विकास बोर्डको प्रायोजनामा आयोजित दुईदिने माछा मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस्तो घोषणा गरेका हुन्।
सिक्किममा पहिलोपल्ट यसरी माछा मेला आयोजन गरिएको छ।
राज्यका चारै जिल्लाबाट धेरै सङ्ख्यामा माछा पालकहरूले सहभागिता जनाएको यस मेलामा विभिन्न प्रजातिका माछा बिक्री-प्रदर्शनीमा राखिएको छ।
राज्यमा माछाको माग र बजार ठूलो छ भन्दै माछा पालनलाई व्यवसायको रूपमा लिएर स्वनिर्भर बन्न सकिने मुख्यमन्त्री गोलेले आफ्नो सम्बोधनमा बताए।
सरकारले पहिलेदेखि नै माछा पालकहरूलाई विभिन्न प्रकारले सहयोग गर्दै आएको कुरा उल्लेख गर्दै आगामी दिनमा थप सहयोगको निम्ति बजेटमै धनराशि आवण्टन गरिने उनले बताए।
यसका साथै सरकार मत्स्य निर्देशालयको ब्लू रेभ्यूलेशन-को निम्ति आवश्यक धनराशि प्रदान गर्न पनि तयार रहेको उनले थप बताए।
माछा पालन व्यवसाय एउटा दीर्घमियादी व्यवसाय हो भन्दै उनले स्वास्थ्यको निम्ति पनि माछा लाभदायक रहेको बताए।
राज्यमा माछा पालनको सम्भावना अपार छ भन्दै यसलाई बृहत् रूपमा विस्तार गर्न सकेको खण्डमा भविष्यमा सिक्किमबाट छिमेकी सिलगढ़ी अन्य अन्य ठाउँमा माछा निर्यात गर्न सकिने मुख्यमन्त्री गोलेले भनाइ रहेको छ।
यो कार्यक्रम धेरै अघि तय गरिएको तथा किसानहरूसित सम्बन्धित रहेकोले यसलाई स्थगति गर्न नसकिएको अनि कोविड 19 को प्रोटोकललाई पालन गर्दै मेलाको आयोजना गरिएको उनले बताए।
कृषि, बागवानी एवम् पशुपालन मन्त्री लोकनाथ नेपालले यस दुईदिने माछा मेलालाई ऐतिहासिक घट्नाक्रम बताए।
कार्यक्रममा पूर्व निर्देशक डा. पुष्पा तामाङलाई उनको योगदानको कदर गर्दै अभिनन्दन जनाइयो साथै माछा मेलामा सहभागिता जनाउने माछा पालकहरूलाई पनि सम्मान जनाइयो।
समारोहमा सिक्किम विधानसभाका अध्यक्ष एलबी दास, लोकसभा सांसद इन्द्रहाङ सुब्बा साथै विभिन्न विभागका मन्त्री अनि विभागीय अधिकारीहरूको पनि उपस्थिति थियो।