नयाँ दिल्ली, २० जुलाई : गोर्खा गौरव शिव थापा कजाखिस्तानमा सम्पन्न सातौं प्रेसिडेन्ट कप बक्सिङ टुर्नामेन्टमा स्वर्ण पदक जित्ने पहिलो भारतीय बक्सर बनेका छन्। चारपटक एशियेली पदक विजेता थापाले फाइनलमा वाकओभर पाएपछि स्वर्ण पदक जितेका हुन्।
६३ किलोग्राम (ओलम्पिक वर्गमा)-को अन्तर्राष्ट्रिय खेलमा पदार्पण गरेका थापाको भिड़न्त फाइनल खेलमा कजाखिस्तानका जाकिर सफिउल्लिनसँग थियो। तर, सफिउल्लिन चोटको कारण रिङमा उत्रिन सकेनन्। त्यसपछि म्याच नखेलीकनै थापालाई विजेता घोषित गरियो। यसभन्दा अघि थापा ६० किलोग्रामको वर्गमा खेल्थे।
असमको गुवाहाटीनिवासी २५ वर्षे थापा यसभन्दा अघि एशियेली च्याम्पियनशिपको सेमिफाइनलमा सफिउल्लिनसँगै पराजित भएका थिए। स्वर्ण पद जितेपछि पीटीआईसँग कुराकानी गर्दै उनले भने, ‘नयाँ ओजनको वर्गमा आफैलाई ढाल्नु सहज रह्यो। मैले उस्तो धेरै कठिनाइको सामना गर्न परेन।’