राजनैतिक अपरिपक्वताको कारण नीरज जिम्बाले सिक्किमविरुद्ध तथ्यहीन बयानबाजी गरेका हुन् : विनय

0
938

दार्जीलिङ, 20 जुलाईः दार्जीलिङका विधायक नीरज जिम्बाले सिक्किमेली जनताविरुद्ध दिएको अनैतिक बयानका लागि गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले सम्पूर्ण सिक्किमेली जनतासित माफी मागेका छन्।

उनले भाजपाका विधायक जिम्बाले राजनैतिक अपरिपक्वताको कारण नै यसप्रकारको तथ्यहीन बयानबाजी गरेको बताएका छन्।

उनले भने, “नीरज जिम्बाको बयानले सिक्किमेली जनतालाई आघात पुगेको छ, यसका लागि सिक्किमका मुख्यमन्त्री पीएस गोले, पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङका साथै सम्पूर्ण जनताअघि म माफी माग्न चाहन्छु।‘’

यसैबीच, तामाङले आज नै सिक्किमका मुख्यमन्त्री र पूर्व मुख्यमन्त्रीलाई पत्राचार गरेर पनि माफी मागेको बताएका छन्।

उनले भने, “नीरज जिम्बाको यसप्रकारको बयानको गोर्खा जनमुक्ति मोर्चाले अघिबाटै भर्त्सना गरिसकेको छ। यति मात्रै होइन, उनको यस बयानको हाल चौतर्फी विरोध भइरहेको छ। नीरज जिम्बाले राजनैतिक अपरिपक्वताको कारण नै यस्तो बयानबाजी गरेका हुन्। यसैले एकजना भाइले गरेको भूलको लागि दाजुको नातामा मैले माफी मागेको हुँ।’’

विनयले थपे, “सिक्किम र दार्जीलिङ पहाड़का जनतामाझ नङ्ग र मासु जस्तो सम्बन्ध छ, यो सम्बन्ध अटुट रहनुपर्छ। सिक्किमलाई पर्दा दार्जीलिङले साथ दिनेछ अनि दार्जीलिङलाई परेको समय सिक्किमले सहयोग दिएकै हो। सन् 1986-को गोर्खाल्याण्ड आन्दोलनको समय होस् वा नेपाली भाषा आन्दोलनको समय, सधैं सिक्किमले दार्जीलिङलाई सहयोग प्रदान गरेको छ।’’

अर्कोतिर नीरज जिम्बाले सिक्किमेली जनतालाई लिखित रूपमा माफी मागेको उचित मोर्चा दोस्रो खेमाका अध्यक्ष तामाङले बताए।

यति मात्रै होइन, विधायक जिम्बाले 1986-को आन्दोलनमा कुनै स्थानमा गएर आश्रय लिएको झूटो कुरा गरेको पनि विनयले बताए।

“किनभने, सन् 1981-मा जन्मेका नीरज 1986-मा केवल 5-6 वर्ष मात्रै पुगेका थिए’’, उनले थपे, “त्यति सानो उमेरका बालकलाई आन्दोलनमा कुनै स्थानमा गएर आश्रय लिने कुनै आवश्यकता परेको जस्तो लाग्दैन।’’

एक जनप्रतिनिधि भएर यसप्रकारको झूटो नबोलेको उचित हुने पनि तामाङले जिम्बालाई सुझाउ दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here