बर्न्सबेग गोलीकाण्ड र कालेबुङ बमकाण्डको एनआईए जाँच रिपोर्ट सार्वजनिक गर्नुपर्ने केकेएसको माग

0
1764
केकेएसका महासचिव विष्णु छेत्री (फाइल फोटो)।

कालेबुङ, 20 अगस्त :  पछिल्लो गोर्खाल्याण्ड आन्दोलनअवधि दार्जीलिङको बर्न्सबेगमा भएको गोलीकाण्ड र कालेबुङमा भएको बम विस्फोटकाण्डलाई लिएर नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआईए)-ले गरेको जाँचको रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले गरेका छन्।

जानकारीका अनुसार एनआईएको जाँच रिपोर्ट सार्वजनिक गर्नुपर्ने मागले केकेएसले सांसद राजु विष्टलाई एक ज्ञापनसमेत चढ़ाएको छ। सांसद विष्टलाई केकेएसले उक्त ज्ञापन 16 अगस्तको दिन चढ़ाएको बताएका छन्।

‘बर्न्सबेग गोलीकाण्ड र कालेबुङ बम विस्फोटको एनआईए जाँच भइसकेको छ। तर अझैसम्म यसको रिपोर्ट सार्वजनिक गरिएको छ’, मङ्गलबार जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै विष्णु छेत्रीले भने, ‘दोषी जो सुकै होस्। कारबाही हुनुपर्छ। तर जाँच रिपोर्टलाई लुकाएर भने राख्नु हुँदैन।’

उनको आरोप अनुसार छुट्टै राज्य गोर्खाल्याण्डको संवैधानिक मागलाई राज्य सत्ताले जहिल्यै देशद्रोही माग साबित गर्ने षड़यन्त्र गर्दै आएको छ। यसैले यी दुईवटा काण्डको एनआईए जाँच रिपोर्ट सार्वजनिक हुनुपर्छ भन्ने केकेएसको माग छ।

‘बर्न्सबेग गोलीकाण्ड र कालेबुङ बम विस्फोटकाण्डको यथार्थ र यसमा संलग्न मानिसहरूको पत्तो एनआईएले अवश्यै आफ्नो जाँचमा लगाएको होला। दोषीहरूलाई कानूनसम्मत कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो। तर, सम्पूर्ण जाति र संवैधानिक गोर्खाल्याण्डको मागलाई बदनाम गराउने/देशद्रोही साबित गर्ने षड़यन्त्र बन्द हुनुपर्छ’, उनले थपे।

उनका अनुसार यसैले एनआईएको रिपोर्ट सार्वजनिक हुनुपर्ने मागमा विष्टलाई केकेएसले ज्ञापन चढ़ाएको हो। यसबारे गृहमन्त्री अमित शाहलाई अवगत गराई दुवै काण्डको रिपोर्ट सार्वजनिकीकरणका लागि ठोस पहल गरिनुपर्ने उनले सांसदसँग थप माग गरेका छन्। केकेएसले एनआईएको जाँच रिपोर्ट सार्वजनिक गर्ने माग गर्दै पछिल्लो वर्ष तत्कालीन गृहमन्त्री राजनाथ सिंह र भाजपाका अध्यक्ष अमित शाहलाई पनि पत्राचार गरेको छेत्रीले थप जनाएका छन्।

उल्लेखनीय छ,  13 अक्टोबर 2017 को दिन दार्जीलिङदेखि केही टाढ़ास्थित बर्न्सबेग चियाकमानमा भएको गोलीकाण्डमा दार्जीलिङ सदर थानाका एसआई अमिताभ मल्लिकको मृत्यु भएको थियो। त्यसैगरी 20 अगस्त 2017 को सखारै कालेबुङ थानाअघि भएको बम विस्फोटमा सिभिक पुलिस राकेश रावतको मृत्यु भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here