दुई किस्तीमा 20 प्रतिशतको बोनसः जोइन्ट फोरमले भन्यो- डीटीडीपीएलयूले श्रमिकहरूसँग गुल्चे खेल्यो

0
1225

दार्जीलिङ, 20 सेप्टेम्बरः यसपालि पनि दार्जीलिङ पहाड़का चियाश्रमिकहरूले दुई किस्तीमा 20 प्रतिशतकै दरमा बोनस पाउनेछन्।

श्रमिक सङ्गठनहरूको चापका कारण मालिकपक्ष 20 प्रतिशतको दरले बोनस दिन त सहमत बन्यो, तर दुई किस्तीमा ल्याएर अड़्को थाप्ने कार्य गऱ्यो।

जानकारीका अनुसार आज दोस्रो चरणको बैठकमा पहाड़का चियाश्रमिकहरूलाई  दशैँअघि 15 प्रतिशत र तिहारअघि 5 प्रतिशत गरी दुई किस्तीमा बोनस दिइने कुरामा विनयपन्थी गोजमुमोका श्रमिक सङ्गठन डीटीडीपीएलयू र मालिकपक्ष सहमत भए।

अर्कोतिर, जोइन्ट फोरम र तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठनले भने दुई किस्तीको बोनस दिइने कुरा तीखो शब्द विरोध जनाएका छन्। जोइन्ट फोरमले स्पष्ट शब्दमा भनेको छ, ‘यसपालि पनि गोजमुमो-2 को श्रमिक सङ्गठन डीटीडीपीएलयूले श्रमिकहरूसँग गुल्चे खेलेको छ। श्रमिकहरूको हितका छौँ भनेर ठूल्ठूला भाषण दिने डीटीडीपीएलयूले मालिकपक्षसँग मिलेर कसरी श्रमिकहरूका हक अधिकारको दोहन गरिरहेको छ, त्यो फेरि एकपटक प्रमाणित भएको छ।’

जोइन्ट फोरमका प्रवक्ता सुनिल राईले भने, “एकैपटकमा 20 प्रतिशतको दरले बोनस दिइनुपर्छ भन्ने हाम्रो अड़ान थियो। तर डीटीडीपीएलयूले दुई किस्तीको बोनसलाई स्वीकाऱ्यो। हामी 20 प्रतिशत दरको बोनसलाई स्वागत गर्छौं, तर दुई किस्तीको बोनसलाई कदापि स्वीकार गर्दैनौँ।”

आज बोनस बैठक हिजोजस्तै भर्चुअल भएको थियो। डीटीडीपीएलयूले दुई किस्तीको बोनसमा सहमति जनाएपछि जोइन्ट फोरम र तृणमूल कङ्ग्रेसका श्रमिक सङ्गठनका प्रतिनिधिहरू बैठक नै वकआउट गरेका थिए।

यसबारे जोइन्ट फोरमले एक पत्र नै जारी गरी दुई किस्तीको बोनसको विरोध जनाएको छ।

जानकारीका अनुसार भर्चुअल बैठकमा जोइन्ट फोरम र तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठनहरू डीटीएमा बसेका थिए भने डीटीडीपीएलयूका प्रतिनिधिहरू उनीहरूकै पार्टी कार्यालयमा बसेका थिए।

अर्कोतिर, विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन डीटीडीपीएलयूका कार्यकारी अध्यक्ष जेबी तामाङले भने, “हिजो भएको बोनस बैठकमा चियाबगान मालिकहरू 18.5 प्रतिशतको दरले बोनस दिन राजी भएको थियो। त्यसैले आज 18.5 प्रतिशतको दरबाट नै बोनस बैठक शुरू भयो। धेरै तर्कातर्कीपछि चियाबगान मालिकहरू 20 प्रतिशतको दरले बोनस दिन राजी भए, तर दशैंअघि 10 प्रतिशत अनि दशैंपछि 10 प्रतिशतको दरले दिने अड़ानमा अडिग बसे। यसमाथि पनि धेरै बहस भयो, जसको फलस्वरूप श्रमिक सङ्गठनले दशैंअघि 18 अनि दशैंपछि 2 प्रतिशतको दरले बोनस दिने माग गरेको थियो, जसमा चियाबगान मालिकपक्ष नमान्दा डीटीडीपीएलयू 15 र 5 प्रतिशतमा राजी बन्न परेको हो। ताकि दशैंमा चियाश्रमिकहरूलाई कुनै सङ्कट नपरोस्।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here