श्रमिक सङ्गठनहरूको कुरामा राजनीति गरिनु ठीक होइन : एचपीडब्ल्यूयू

0
1032
पत्रकारहरूलाई सम्बोधन गर्दै ।

दार्जीलिङ, 20 अक्टोबर : चियाश्रमिकहरूका लागि श्रमिक सङ्गठनहरूले गरिरहेको कार्यमा राजनीतिकरण गर्नु उचित नरहेको गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-ले बताएको छ।

एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष  डीके गुरुङले आइतवार दार्जीलिङमा पत्रकारहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। नामै काढ़ेर नभने तापनि उनको सङ्केत गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङको अनशनतर्फ थियो।

‘गर्नु परे हामी नै भोक हड़ताल गर्नेछौं’, उनले थपे, ‘अनशन त हामीले शुरु गरिसकेका थियौ।’ गुरुङले थप भने, ‘हामीले राजनीतिकरण गरेका छैनौं। र, गर्दैनौं पनि। जे कुरा सत्य कुरा भन्नु थियो, त्यही कुरा भनेका छौं। बैठकमा जे घटना भएको थियो, त्यसलाई नै जनतासमक्ष बुझाउने प्रयास गरेका हौं।’

उल्लेखनीय छ, आइतवार गोरामुमो ब्राञ्च कमिटीको कार्यालयमा एचपीडब्ल्यूयूको सभा सम्पन्न भयो। सभापछि उनले बैठकमा छलफल भएका मुद्दाबारे जानकारी गराउनका लागि पत्रकारहरूलाई सम्बोधन गरे।

पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा गुरुङले 11 अक्टोबरको दिन कोलकाताको बैठकपछि आजको दिनसम्म विनयपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई, डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू) एकै शब्द नबोलेको पनि बताउँदै  डीटीडीपीएलयूले पनि सत्य कुरा के हो, त्यसबारे चियाश्रमिकसमक्ष राख्नुपर्ने कुरामा जोड़ दिए।

यसैगरी उनले आउँदो 15 नोभेम्बरभित्र त्रिपक्षीय बैठक बसेर रहल 8 प्रतिशतको छिनोफानो गरी 31 दिसम्बरभन्दा अघि नै सम्पूर्ण बोनस दिइसक्नुपर्ने माग गरेका छन्।

आफूहरूले पहिलो किश्तीअनुसार 12 प्रतिशतको बोनसको विरोध कहिल्यै नगरेको तर श्रमिकहरूले यस्तो विरोधमा ‘मास पिटिशन’ एचपीडब्ल्यूयूसमक्ष बुझाएकोले श्रमिकहरूको मागअनुरूप नै मालिकपक्षले एकैचोटि 20 प्रतिशतको बोनस दिइनुपर्ने माग गरेको पनि गुरुङले खुलाए।

अर्कोतिर, चियाश्रमिकहरूका लागि न्यूनतम रोजवृद्धि र 8 प्रतिशतको बोनस नदिलाएसम्म एचपीडब्ल्यूयू लागिपर्ने पनि डीके गुरुङले प्रतिबद्धता जाहेर गरेका छन्।

उनका अनुसार न्यूनतम रोजवृद्धिका लागि एचपीडब्ल्यूयूले सांसद राजु विष्टलाई दबाउ दिइरहेको छ। यसका साथै चियाश्रमिकहरूको न्यूनतम रोजवृद्धिको मागमा प्रधानमन्त्री, मुख्यमन्त्री, सांसद, विधायक र जिल्लापालसमेत अन्य सम्बन्धित निकायका अधिकारीहरूलाई ज्ञापन बुझाउने पनि आजको सभामा निर्णय गरिएको बताए।

गुरुङले बताएअनुसार न्यूनतम रोज वृद्धिको मागमा केन्द्रिय नेतृत्वहरूको समर्थन जुटाउनका लागि चाँड़ै एचपीडब्ल्यूयूको एक प्रतिनिधि दिल्ली जानेछन्।

आजको सभामा एचपीडब्ल्यूयूका पदाधिकारीहरूलगायत गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्ड पनि विशेष रूपले उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here