सिलगढ़ी, २० अक्टोबर : आइतवार दिल्लीमा आयोजित एयरटेल दिल्ली हाफ म्याराथन २०१९-को १५औं संस्करणमा दार्जीलिङ र कालेबुङका गोर्खा धावकहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। यो प्रदर्शनसँगै उनीहरूले सबैलाई गौरवान्वित बनाएका छन्।
विकास भुजेलले १० किलोमिटरको समग्र श्रेणीमा पहिलो स्थान ओगटेका छन्। उनले ३३ मिनट ४ सेकेण्डमा दौड़ पूरा गर्दै पहिलो स्थान ओगटेका हुन्।
त्यसैगरी १५ देखि १९ वर्ष वर्गको १० किलोमिटर दौडअन्तर्गत महिला वर्गमा अपशना तामाङ दोस्रो भएकी छन्। उनले ४७ मिनट १५ सेकेण्डमा दौड़ पूरा गरी दोस्रो स्थान ओगट्न सफल भएकी हुन्।
अर्कोतिर, २० देखि २५ वर्षको महिला वर्गअन्तर्गत १० किलोमिटरको दौड़मा सबिना राईले तेस्रो स्थान ओगटेकी छन्। उनले ४० मिनट ४१ सेकेण्डमा दौड़ पूरा गर्दै तेस्रो बनेकी हुन्।
यसैगरी ३०-३५ वर्ष उमेरको पुरुष वर्गअन्तर्गत २१ किलोमिटरको दौड़मा रुनेश तामाङ पाँचौं भए। उनले १ घण्टा १९ मिनट ३६ सेकेण्डमा रन पूरा गरे। अर्कोतिर कमल थापाले २१ किलोमिटरको हाफ म्याराथन १ घण्टा ३३ मिनट ४० सेकेण्ड तथा रोशनी राईले २ घण्टा ३९ मिनट ५१ सेकेण्डमा दौड़ पूरा गरिन्।
उल्लेखनीय छ, आज केन्द्रिय खेल मन्त्री किरण रिजिजुले जवाहरलाल नेहरु स्टेडियमा हावामा पिस्तोल प्रहार गरी उक्त एयरटेल हाफ म्याराथन-२०१९ को थालनी गरेका छन्। आयोजकका अनुसार यो हाफ म्याराथनमा ४०,६३३ जना धावकले अंशग्रहण गरेका थिए।