जम्मू-कश्मीरमा पुनः दुई गोर्खा जवान शहीद

0
1301
फोटो साभार-सोशल मिडिया।

दार्जीलिङ, २० अक्टोबर : देशको सुरक्षार्थ पुनः दुईजना गोर्खा जवान शहीद भएका छन्। आइतवार बिहानै जम्मू-कश्मीरको कुपवड़ाको तङ्गधार सेक्टरमा भारतीय सेनाको चौकी र ग्रामीण क्षेत्रलाई लक्षित गरी पाकिस्तानी सेनाले गरेको गोलीबारीमा दुई गोर्खा जवान शहीद भएको बताइएको छ।

शहीद हुने गोर्खा सैनिक क्रमैले हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ हुन्। यद्यपि उनीहरू कहाँका निवासी हुन्, त्यसको भने पुष्टि भएको छैन। पछिल्ला दुई महिनायता पाकिस्तानी गोलीबारीमा ५ गोर्खा सैनिक शहीद भइसकेका छन्।

केही दिनअघि मात्र पाकिस्तानी सेनाले रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको गोलीबारीमा बाघडुग्रामा  निवासी नाइक सुवास थापा शहीद भएका थिए।

भारतीय सेना सूत्रका अनुसार आज सखारै युद्धविराम गरी पाक सेनाले तङ्गधार सेक्टरमा गरेको गोलीबारीमा थप ३ सैनिक घाइते भएका छन्। एक नागरिक पनि मारिएका छन्।

पाक सेनाको गोलीबारीपछि प्रतिआक्रमणमा ओर्लेको भारतीय सेनाले कठोर कारबाही गरी आतङ्कवादीका धेरै क्याम्पहरू नष्ट गरेको बताइएको छ। भारतीय सेनाको कारबाहीमा करिब एक दर्जन पाकिस्तानी सेना र २२ आतङ्की मारिएको पनि भारतीय सेनाले बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here