सत्यमोहन सम्झना : जोशीका जोश र जाँगरमाथि चर्चा

0
824

सिलगढी, २० अक्टोबरः “संस्कृतिविद् एवं इतिहासकार सत्यमोहन जोशीले आफ्नो जीवनमा जे जति कार्य गरे, त्यति कार्यको एक छेउसम्म पनि हामीले हाम्रो जीवनमा कल्पनासम्म गर्न सक्दैनौँ”, दार्जिलिङका राजनीतिक लेखक/ चिन्तक डीएस बम्जनले भने ।

पछिल्लो आइतबार बिहान १०३ वर्षका उमेरमा निधन भएको नेपालका ‘शताब्दी पुरुष’ संस्कृतिविद् एवं इतिहासकार सत्यमोहन जोशीलाई बुधबार शब्द समय सालबारीले सम्झना गर्दै शोक सभा आयोजन गऱ्यो ।

यस शोक सभामा बम्जन प्रमुख वक्ता थिए ।

 “जोशीले देश र समाजका लागि चाहिएका खाँचाका सबै कुरा दिए । नेपालका सुदूर भेकहरू घुमेर त्यहाँका लोक संस्कृति अरूलाई चिनाए । नेपाली मुद्राहरू खोजेर निकाले । अत्यन्त कठिन र जोखिमपूर्ण कार्य नेपालको मानचित्र नै तयार पारे । मूर्तिकला र मूर्तिकारका इतिहास नै बताए ”, उनले थपे, “ उनका कृति र कर्मलाई हामी एक बसाइ र एक अध्यायमा बखान गर्न सक्दैनौँ । उनका कृति कर्म र योगदान त अध्याय अध्यायमा छन् । कतिसम्म भने नेपालका समाजमा सत्यमोहन जोशीका योगदान त पत्रैपत्रका ठूलो थाक छ, जसलाई पढ्न र बुझ्न मात्र हामीले करिब करिब एक जीवन खर्चन पर्ने हुन्छ ।”

साहित्यकार नरबहादुर दाहालले सत्यमोहन जोशीसँगका स्मरण साझा गरे ।

“सत्यमोहनजीले बाल कथाबाट लेखन आरम्भ गरेका हुन् । पछि संस्कृतिविद् र इतिहासकार बने। संस्कृतिविद् र इतिहासकारकै रूपमा प्रख्यात बने । तीनपटक मदन पुरस्कार पनि संस्कृति र इतिहाससम्बन्धी पुस्तककै लागि नै प्राप्त गरे ”,  साहित्यकार दाहालले भने, “उनको मिहिनेत र समर्पण गज्जबको थियो ।”

साहित्यकार ज्ञानेन्द्र खतिवडाले सत्यमोहन जोशीका कृति कर्म र योगदान सबैका लागि अनुकरणीय रहेको बताए ।

“जुन समयमा सत्यमोहन जोशीले यति बग्रल्तै र गज्जबका कार्य गरे, त्यो अद्भुत छ । हाम्रा लागि अति अनुकरणीय पनि”, खतिवडाले भने, “एक व्यक्तिले साहित्य लेखे । संस्कृति बटुले । मुद्रा खोजे । विदेशीलाई नेपाली पढाए । स्थापत्यकला चिनाए । अरू थुप्रै के के गरे । सबैभन्दा बढी जीवनभर उनी खोज अनुसन्धान र लेखनमै समर्पित भइरहे । उमेरलाई कहिल्यै जित्न दिएनन् उनले । बरू आफ्नो उमेरलाई नेपाली समाजका लागि खोज र अनुसन्धानमा घोटाइरहे।”

कवि / कथाकार कालुसिंह रनपहेँलीले सत्यमोहन जोशीको परिचय राख्दै उनीप्रति समर्पित कविता सुनाए ।

हेमन्त काफ्लेले सत्यमोहन जोशीबारे लेखक गिरिश गिरीले भनेका कुरा पढे ।

शोक सभामा साहित्यकार मोहन ठकुरी, भविलाल लामिछाने, पूर्ण मगर आदि पनि उपस्थित थिए ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here