“टिकट भयो ’रे दाजु; पर्सि साढ़े तीनतिर बाघडुग्रामा झर्छ ‘रे” भनिराखेर गइहालेकी थिई ममता बहिनी।
“ए, रातै पर्ने रहेछ हगि बहिनी!’’ बिहानको चिया तीन सुरुप्प पारेर भनेँ।
“एतैबाट हालिदिएँ नि, के गर्नु!” अलिक माथि पुगेर आधा घुमिवरी भनी र गई पनि हाली।
००००००००००००००००
कोरोनाले गर्नु गरिसकेको सामाजिक दुरुवस्थाको कुरा हो यो। सामाजिक दूरीलाई कायम गर्ने बाध्यतामा घटेका मानवीय संवेदनहरूका विघटनका घटनाहरूले परिवार, समाज, राष्ट्र र विश्वकै पनि नयाँ चरित्र निर्माण भइरहेको थियो। विश्व स्वास्थ्य सङ्गठनले दुई गजको दूरी निर्धारण गरे तापनि शङ्का र उपेक्षाको सक्रिय व्यवहारले मान्छेमाझको साइनोबिच कोशौँ गजको दूरी निर्माण भएको अनुभव भइरहन्थ्यो।
घटिरहेका भनेकै घटना-दृश्यहरूमध्ये एउटा सानो क्लिपिङ मनभित्र धेरै समयसम्म राख्न नसकेपछि शेयर गर्ने आँट गरेँ। यसरी-
ममता बहिनीसितको वार्तालापको संवेदनशील अवस्थालाई यसरी सृजना गर्ने कोरोना भाइरस अपवाद सहेर विश्वप्रसिद्ध भइरहेथ्यो। अपजस सहने देश चीन पनि उस्तै लाचार थियो। देशहरूको लाचारी सात समुद्र तरेर वारिपारि गरिरहेको दृश्य थियो।
दार्जीलिङ पहाड़को इतिहासमा सायद पहिलोचोटि हामीले गन्दै थियौँ रोजीरोटीको निम्ति प्रवासिएका पहाड़का असङ्ख्य कर्णधारहरूका वैरङ्ग र विवश उपस्थितिलाई। गन्दै थियो सत्ताले, राजनीतिले, बुद्धिजीवीहरूका मगजले, असहाय पहाड़ले पनि। दार्जीलिङ पहाड़ यस्तो भाग्यमानी ठाउँ हो, जहाँका हरेक परिवारमा स्नातकोत्तर शिक्षाको डिग्रीधारी छोराछोरीहरू पाइन्छन्। दार्जीलिङ पहाड़कै फेरि यस्तो दुर्भाग्य पनि छ, हरेक परिवारमा यस्ता शिक्षित छोराछोरीहरूका डिग्रीहरूले फगत कागजको टुक्रा भएर उनीहरूलाई नै गिज्याइबस्छन्।
“दुःखै नगरी भाग्य बनिने व्यवस्था त छ नि ; तर हाम्रो होइन, जसको मान्छेको हातमा चाबी छ, उसैको भाग्यको कुरा गरेको नि।”
युवाहरूको मुखबाट निस्किने एउटा लोकगीत हो यो।
मैले पनि देखेको छु, सम्बन्धित ठाउँमा आवेदन बुझाएर परिवार डल्लैले आशा गरेर बसेको। र आशा मरेको पनि। यसरी आशा मर्नु भनेको मान्छेको मनमा आइलागेको ठूलै दुर्घटना हो। कोही बेला यस्तो दुर्घटनामा मान्छेको चेतना फाट्छ। चेतना फाटेपछि, मैले देखेको छु- संसारमा कत्रो कत्रो उथुल-पुथल ल्याएको छ त्यसबाट निसृत्त ऊर्जाले।
पहाड़मा नब्बे प्रतिशत शिक्षित छोराछोरीहरू निराश छन्। दश प्रतिशत ढुक्क छन्। ‘‘पहाड़मा त खाली पहाड़ मात्र छ’’, भन्छन् युवापिँढ़ी। उनीहरूले खोजेका कुरा –‘‘रोजगारका लागि पूर्वाधारहरू तयार गरियोस् र प्रयोगमा आवोस्…’’
‘‘आफ्ना क्षमताहरूका मूल्याङ्कन हुने ठेगानाहरू बनून्।’’
‘‘ओहोर-दोहोर बसाइँ सरिरहने राजनीतिक संस्कारको सेवक नबनूँ।’’
कहिले कहिले दुःख पोखाउँछन्-‘‘जति पढ़्यो उति दुःख।’’
तर होइन। ‘‘पढ़ेर डिग्री पाउनु एउटा कुरा हो, तर पढ़ाइसँगै संसारलाई चिन्नु, शिक्षित हुनु हो। संसारलाई शिक्षित मान्छे चाहिन्छ।’’-धेरैलाई भनेको छु, मैले। यसो पनि भनेको छु-“राजनीति र सत्ता भनेको सधैँ के के नमिलिरहेको, नपुगिरहेको एउटा मञ्च हो। यी दुईका कारण समाज कहिलेकाहीँ अस्तव्यस्त बन्छ। धैर्य गर, इलिम बद्लाऊ। स्वालम्बी बन। कसैको आशा-भरोसामा उमेर नफाल।”
मैले भनेको त छु नि तर म पनि त्यै ड्याङको मूला त हुँ। त्यै पहाड़मा अल्मलिरहेको एउटा लहरा।
“केले बन्ने स्वालम्बी? पैसा छैन।”- भन्छन् उनीहरू।
नहुनेकोमा त साँच्चै केही हुँदैन।
०००००००००००००००००
ममता बहिनीको छोरोले स्वालम्बी हुन्छु भन्दा एक दिन उसले भनेकी थिई- “पैसा त छैन।”
ठीकै भनेकी थिई।
“हाम्रा बाउले हावामा यत्रो सालसम्म आन्दोलन गरेको। के पायो र?” ठीकै हो छोरोले भनेको। खै, के पायो र! ममता बहिनीलाई पनि मनमा खिन्नता त छ नि। उसले पनि गरेकै हो आन्दोलन। अहिले ‘जसको शक्ति उसकै भक्ति’ भइरहेको देख्दा उसलाई मनमा रिस उठ्छ। यो रिस कहाँनेर पोखाउनु पर्ने त्यो ठाउँ उसलाई खासै थाहै छैन।
थुप्रै केटाहरू बेङ्लोर भटाभट् जाँदैछन् भनेको चाल पाएपछि सम्झाइ बुझाइ उनीहरूसितै टिकट काटेर छोरोलाई उँधो पठाएकी थिई उसले।
राम्रैसँग चलिरहेको एक वर्षपछि चीनबाट कोरोना भाइरस फुत्केको हल्ला फैलियो। अनि त सङ्क्रमण रोक्नलाई गरिएको लकडाउनसम्म आइपुग्दा देशै अस्तव्यस्त भयो। छोरोको रोजीरोटीले पनि गुहार माग्न थाल्यो। उँधोबाट फर्किनेहरूका पीड़ामय कथा दिनैपिच्छे फेसबुक वालमा उसले पढ़न थाली। मिडियाले भनिरहेका कुराले कोरोना भाइरसको आक्रमणभन्दा तीन गुणा ठूलो भएर मान्छेलाई ठाड़ै खाइरहेको थियो। “अब खाना खाने पैसा पनि सकिन आँट्यो” भनेपछि ममता बहिनी आत्तिई। लोग्ने हुँदो हो त यस्तो बेला आँट मिल्ने थियो। उसले त स्वर्गबाट धरतीको बिजोग हेरिरहेको होला, ठान्थी।
त्यसपछि पैसा पठाइदिई उँधो।
००००००००००००००००००
‘पोजिटिभ’ शब्द कुनै शहरमाथि खस्नै लागेको क्षेप्यास्त्रजस्तो लाग्थ्यो। मान्छे ‘नेगेटिभ’ शब्दका लागि छट्पटाइरहेको देख्दा जीवन उल्टा हिँड़्दैछ जस्तो लाग्नु स्वाभाविकै हो।
घर फर्किने प्रवासीहरूलाई समाजले क्वारेन्टाइन घर बनाएर चौध दिनको निगरानीमा राख्नुपर्ने आदेश सरकारले गऱ्यो। चारैतिरबाट, पहाड़भरि फर्किरहेका प्रवासीहरूलाई समाजले खूबै राम्रोसँग सतर्कता अप्नाएर क्वारेन्टाइन घरमा स्वागत गरिरहेका खबरहरू छापिन थाले। देशको खबरले एक राज्यबाट अर्को राज्यमा पैदल फर्किरहेका प्रवासीहरूका दुःखका फोटोहरू देखाउँथ्यो। हाम्राहरू तर दुःखै गरेर पनि हावाजहाजबाट आए, रेलबाट आए वा धेरै खर्च गरेर भाड़ा गाड़ीमा चढ़ेर आए।
कस्तै परिस्थितिमा पनि उनीहरूले आफ्नो आत्मबल हराएनन्। दुःख अरूलाई देखाउन चाहेनन्। हाम्रो जातिको यो स्वाभिमानी गुणलाई हामीले नै प्रशंसा गर्नुपर्छ।
समाजको सभाले तय गरेअनुसार ममता बहिनीको छोरोलाई चार सालअघि बनिएको कम्युनिटी हलमा सुरक्षित ढङ्गले राखिने भयो।
“टोयलेट पनि छ।” भएकै कुरा भन्यो कसैले।
“पानीको पनि सुविधा हुने।” फेरि अर्कोले पनि थप्यो।
अनुमति पाएपछि कम्युनिटी हलभित्र पसेर सरसफाइ शुरू भयो। हल परिसरका घरहरूबाट एकदुई गर्दै मानिसहरू आई चिहाउन थाले।
यता हल सफा भयो।
उता हलको आँगनमा मान्छेहरू भेला भइसके। समाजका सभापतिलाई बोलाइयो, त्यहाँ। निक्कै तर्कातर्की भयो। तर्कातर्कीबीच सुनियो, “तपाईंहरूको एरियाबाट अर्काको एरियामा कोरोना ल्याउनु ‘काँ पाउँछ?”
“पानी पनि एउटै कलमा खानु?” अर्को कोही बोलेको सुनियो, नारी आवाजमा।
“वरिपरि नानीहरू छन्, बूढ़ाबूढ़ी छन्; सऱ्यो भने?” फेरि अर्को आवाज आयो नारीकै।
“सर्दैन सर्दैन।” सभापतिले भने।
डर भन्ने चीज कति भयङ्कर रहेछ, यसै पालि सबैले बुझे। डर त हामीलाई पनि लागिरहेकै हो। मिडियाले अचम्मै डर देखाइदिएरै हो, मान्छे मिडिया फोबियाग्रस्त भएको। मिडिया भ्रम हो कि सत्य हो भनेरै मान्छे डराएको! एकपल्ट, गाउँमा देशान आएर कुखुराहरू भकाभक मरे। एउटै खाड़लमा बीस-तीसवटालाई पुरेँ। त्यसबेला सम्झेथेँ, ‘मान्छेलाई पनि यस्तै देशान लाग्यो भने कस्तो हुन्छ होला’ भनेर। भगवानले सुनिदिए जस्तै, तीन महिनापछि कोरोना देशान शुरू भयो।
मान्छेलाई मृत्युले भन्दा पनि धेरै प्रभावित पारिरहेको थियो डरले। यस्तो बेला विरोधाभाषी विचारहरू उठ्नु स्वाभाविकै हो।
“मान्छे आफूमात्रै बाँच्न खोज्छ। हुँदैन हुँदैन, याँ पाउँदैन।” तर्क र हल्लाले हामीलाई त्यसपछि लखेटिछाड़्यो।
ममता बहिनीको घरमा आएर सल्लाह गऱ्यौँ। अलिक तलको सेल्फहेल्प ग्रुपको क्लस्टर हाउसमा केटोलाई राख्ने निर्णय भयो।
“अँ अँ, त्यहाँ पनि सबै कुरा छ।” भनी ममता बहिनीले नै। निक्कै खुशी थिई ऊ।
भोलिपल्ट अपराह्न, बहिनीले नै निकालेकी अनुमति लिएर क्लस्टर हाउस सफा गऱ्यौँ।
“बाघडुग्रा आइपुग्यो रे दाजु। यहाँ आइपुग्दा रात पर्छ अरे। जीटीएले राम्रो व्यवस्था गरेको रै’छ भन्दैथ्यो।” भनी ममता बहिनीले।
मैले हेरेँ, चार बज्न लागेको थियो घड़ीमा।
क्लस्टर हाउसको आँगनमा तीन चारजना मान्छे देखेँ। चिनेकै।
“सर एकछिन्।” उनीहरूले भनिहाले।
गएर उभिएँ।
“याँ त अप्ठ्यारो हुन्छ होला।”
“किन?” भनेँ।
“उ पल्लो घरमा बिरामी छ; तल्लो घरमा दुइवटा बालखा नानी छ। एतापट्टि घरको भित्तै टाँसिएको छ। माथ्लोपट्टि अस्ति भेल्लोरबाट जाती भएर आएको मान्छे छ।”
“होइन, आएर ऊ सुरक्षित बस्छ नि। डर हुँदैन।” भनेँ।
“र पनि सर्छ नि!”
“उसले कोरोना ल्याउँछ भन्ने के ग्यारेन्टी छ?” मलाई रिस उठ्यो।
“उसले कोरोना ल्याउँदैन भन्ने पनि के ग्यारेन्टी छ?” उ पनि रिसायो।
यी दुवै ग्यारेन्टी द्वैतविरोधाभाषी थिए, त्यसबेला। वास्तवमा यो ‘ग्यारेन्टी’ नै कोरोनाभन्दा बढ़ी चलायमान थियो पहाड़भरि।
उनीहरूले मानेनन्। द्वन्द्व निभेन। हार-जीत हुनु पनि द्वन्द्व नसकिनु हो। त्यसपछि हामी फर्केर फेरि ममता बहिनीकै घरमा थुप्रियौँ। सबैजना चुपचाप। मोबाइलमा डिजिटल समय मात्रै चलेको चलेकै थियो।
ममता बहिनी रोई। मन दुखाएरै रोई। यो रूवाईमा छोरोप्रतिको माया, कोरोनाप्रतिको रिस, छरछिमेकीप्रतिको अविश्वास, पहाड़मा नपाइने नोकरीप्रति धिक्कार, आफैले गरेको आन्दोलनप्रतिको पश्चाताप मिसिएको थियो।
घरी घरी चुन्नीले आँसु पुछ्दा हाम्रो पनि चित्त दुखेर आउँथ्यो।
“दाजु उ त्यो गोठमा एकापट्टि बारेर ऊ अँटाउने ठाउँ बनाइदिनोस्न। बरू हामी पनि त्योसितै क्वारेन्टाइन बस्छौँ।” कमानको ठाउँ भएकोले घर मुन्तिर सानो गह्रामा बनाएको गोठ देखाएर उसले भनी। “अब यतिबेला कसरी बनाउनु हगि राम्रो त। बसोस् गोठ मै। मेरो छोरो त मान्छे होइन, राम्रो ठाउँमा नराख्दा पनि भो नि!” फेरि आँसु पुछी।
हामीले अन्तिम जाँगर चलायौँ।
हावाजहाज चढ़ेर आएको मान्छे, राति साँढ़े सातमा आइपुग्यो। सुटकेश लिएर सीधै पस्यो गोठमा। ऊ खुशी थियो। घर परिवार देखेर उसको अनुहार उज्यालिएको थियो। हामीसित खिसिक्क हाँस्यो। स्थितिहरूसँग अनभिज्ञ ऊ घरको अँगालोमा लुट्पुटियो।
हामीले भने मानवता लड़िबड़ी गर्दै रोएको सुन्यौँ। हामीले देखिरहेका थियौँ, त्यो गोठमा पस्ने वस्तु कोरोना कहाँ हो र ऊ त ममता बहिनीको छोरो हो। हामी किन डराउनु? यही सोचिरहेका थियौँ हामी त्यसबेला।