दार्जीलिङ, 20 दिसम्बरः पछिल्लो गोर्खाल्याण्ड आन्दोलनपछि विस्थापित बनेका युवाहरू आफ्ना घर परिवारमा फर्केकोमा सांसद राजु बिष्टले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताको पक्षबाट बधाई एवं शुभकामना दिएका छन्।
यसका साथै उनले गोर्खा जनमुक्ति मोर्चाले तृणमूल कङ्ग्रेससँग हात मिलाउनुका सबै नकारात्मक पक्षहरूबीच केवल एउटै सकारात्मक पक्ष विस्थापित युवाहरू आ-आफ्ना घर फर्कन सफल हुनु मात्र रहेको पनि बताएका छन्।
यद्यपि यी युवाहरूविरुद्ध तृणमूल कङ्ग्रेस सरकारले लगाएका सबै झूटा र बनावटी मुद्दाहरू फिर्ता लिइनु बाँकी नै रहेकोमा दुःख व्यक्त गर्दै तृणमूल कङ्ग्रेसले गोजमुमोलाई वास्तवमा अप्रत्यक्ष रूपमा जेलमा नै राख्नका लागि ती मुद्दाहरूको दुरुपयोग गर्नेछ भन्ने दावी पनि गरेका छन्।
उनको दावीका अनुसार गोजमुमोका नेतृत्वहरूले तृणमूल कङ्ग्रेसले भनेअनुसार काम नगरेको खण्डमा उनीहरूलाई फेरि जेलमा हाल्नेछ।
‘दुःखद कुरा के छ भने तृणमूल कङ्ग्रेस-गोजमुमो गठबन्धन दार्जीलिङ पहाड़, तराई र डुवर्सका जनताको भलाइका लागि नभएर केही व्यक्तिहरूका राजनीतिक हितसाधनका लागि मात्र गरिएको हो जस्तो मलाई लाग्दछ। यो गठबन्धनका कारण क्षेत्रमा धेरैजनाका आत्मसम्मान र स्वाभिमानलाई राजनीतिक स्वार्थको बलिवेदीमा होमिएको छ‘, बिष्टले भनेका छन्, ‘यद्यपि अहिले गोजमुमोका नेताहरूले जिम्मेवारी पन्छाउँदै हाम्रा जनताविरुद्ध तृणमूल कङ्ग्रेस सरकारले गरेका नृशंशता र दमनका कृत्यहरूलाई ढाकछोप गर्ने प्रयास गरिरहेका छन्। तर, सत्य के हो भने जनताले आफूविरुद्ध गरिएका ती कृत्यहरूलाई पटक्कै बिर्सेका छैनन्। र, तृणमूल कङ्ग्रेसलाई कुनैपनि मूल्यमा माफ गर्ने मूडमा छैनन्।
राजु बिष्टका अनुसार गोर्खा मनले उनीहरूलाई तृणमूल कङ्ग्रेसको पक्षमा भोट हाल्ने अनुमति दिनेछैन भन्ने कुरा गोजमुमोका सबै नेता तथा कार्यकर्ताहरू राम्ररी थाह छ।
यसैले पनि आउँदो चुनाउमा जनताले नै तृणमूल कङ्ग्रेसलाई दार्जीलिङ पहाड़मा मात्रै होइन, तर सम्पूर्ण बङ्गालभरि नराम्रो घतले पराजित गरी तृणमूलको दमनको जवाफ दिने पनि उनको भनाइ छ।
‘दार्जीलिङको प्रतिनिधित्व गर्न संसदका लागि जनताले मलाई निर्वाचित गरेको बल्ल डेढ़ वर्ष भएको छ र एक सांसदको रूपमा यो छोटो अवधिमा मैले हाम्रा जनताका सपना र आकांक्षाहरू पूरा गर्नका लागि पूरा इमानदारी अनि वचनबद्धताका साथ काम गर्दै आइरहेको छु। गोजमुमोका नेताहरूद्वारा असन्तुष्टिका बीउहरू रोप्ने प्रयास गरिए तापनि, मेरो कार्यकाल पूरा हुनुअघि मैले गरेका सबै वाचा पूरा गरेरै देखाउनेछु भनी म मेरा जनतालाई विश्वास दिलाउँछु’, उनले भनेका छन्।