दार्जिलिङ, २० दिसम्बरः असमका साहित्यकार युद्धवीर राणालाई यस वर्षको साहित्य अकादमी पुरस्कार दिइने भएको छ। उनको खोजपूर्ण पुस्तक नेपाली लोकसाहित्य र लोकसंस्कृतिको परिचयलाई यस वर्षको साहित्य अकादमी पुरस्कार दिने निर्णय गरिएको हो।
यो पुस्तक २०२० मा प्रकाशित भएको हो।
साहित्य अकादमीका सचिव डा. के श्रीनिवास रावले आज चौबिसवटै भाषाका कृतिका लागि साहित्य अकादमी पुरस्कारको घोषणा गरे।
नेपाली भाषाका जुरी सदस्यमा डा. चिन्तामणि शर्मा, हरेन आले र एसआर सुब्बा थिए।
११ दिसम्बर १९३९ असमको डिगबोईमा जन्मेका युद्धवीर राणा बहुआयामिक व्यक्ति हुन्। चिहान नपाएका तक्माहरू कविता सङ्ग्रहले नेपाली साहित्यमा चर्चा कमाएको उनका मानव यात्रा, नेपाली संस्कृति हाम्रो अस्तित्व, सृष्टि र प्रव्रजन आदि कृति प्रकाशित छन्।
साहित्यकार राणाको नृत्य, नाटक, गीत-सङ्गीतमा समेत राम्रो दख्खल छ। उनी मूलतः काष्ठ कलाकार हुन्, जसका काष्ठ कलाकृति भारत र नेपालका धेरै ठाउँमा प्रदर्शन भइसकेको छ।