बाटो मरम्मतीको मागमा चालकहरू आमरण अनशनमा

0
1465

दार्जीलिङ, 13 जनवरी: जर्जर अवस्थामा पुगेको बाटो मरम्मतीका लागि सम्बन्धित विभागलाई पटक पटक अनुरोध गर्दा पनि कानमा तेल हालेर बसेपछि चालकहरू आमरण अनशनमा बस्न बाध्य बनेका छन्।

यो घूम-बिजनबारी मार्गको कुरा हो। पुल-बिनबारी, कैंजले तथायसकावरिपरि क्षेत्रकै लागि प्रमुख बाटोसमेत रहेको घूम-बिजनबारी मार्गको अवस्था पछिल्ला केही समययता अत्यन्त जीर्ण बनेको छ भने यसको मरम्मतीका लागि सम्बन्धित विभागको पक्षबाट आजका दिनसम्म कुनै ठोस पहल नगरिएको थाह लागेको छ।

जानकारीका अनुसार बाटो जीर्ण बनेपछि यस मार्ग भएर गाड़ी चलाउने चालकहरूले पीडब्ल्यूडी, जीटीए, जिल्लापाल, स्थानीय बीडीओ गरी सबैलाई धेरैपटक अर्जी चढ़ाएका थिए। तर, सम्बन्धित निकायबाट कुनै ठोस पहल नभएपछि नै आजदेखि चालकहरू आमरण अनशनमा बसेको बताइएको छ।

यसका साथै जबसम्म सम्बन्धित निकायले बाटो मरम्मतीका लागि ठोस कार्य शुरू गर्दैन तबसम्म आमरण अनशन जारी रहने उनीहरूको अड़ान छ।

अनशन बिजनबारी बजारमा बसिएको छ। 6 जना चालक अनशन बसेका छन्।

“बाटो अत्यन्त जीर्ण बनेपछि गाड़ी चलाउन एकदमै गाह्रो बनेको छ। हामीले धेरैपटक पीडब्ल्यूडी, जीटीए, जिल्लापाल र बीडीओलाई बाटो मरम्मतीको माग गर्दै अर्जी चढ़ायौँ, तर आजका दिनसम्म उनीहरूबाट कुनै ठोस कार्य भएन। यसैले हामीले आजदेखि आमरण अनशन शुरू गरेका हौँ। जबसम्म बाटो मरम्मतीका कार्य शुरू हुँदैन, तबसम्म हाम्रो अनशन जारी रहनेछ”, अनशनरत् चालकहरूले जनसंवाद सँगको कुराकानीमा भने।

उनीहरूको यो जायज मागलाई बिजनबारीका व्यापारी समुदाय र नागरिकले पनि सहयोग र समर्थन गरेका छन्।

जानकारीका अनुसार चालकहरूका मागलाई समर्थन जनाउँदै आज बिजनबारी बजार नै बन्द राखिएको थियो।

चालकहरूले मरम्मतीको मात्र होइन तर यो बाटोलाई पुनः पीडब्ल्यूडीमै अन्तर्भुक्त गर्नुपर्ने माग पनि गरिरहेका छन्।

उनीहरूका अनुसार शुरूमै यो बाटो पीडब्ल्यूडीअधीनस्थ नै थियो। पीडब्ल्यूडीमा हुँदा बाटोको अवस्था, मरम्मती र रखरखाऊ राम्रो थियो। तर, पछि दार्जीलिङ गोर्खा पार्वत्य परिषद् (दागोपाप)-को गठनपछि यो बाटो पीडब्ल्यूडीबाट हटेर स्थानीय प्रशासनअधीनस्थ गएपछि बाटोको समुचित मरम्मती र रखरखाउ पनि राम्रो हुन छाड़ेको तथा दिनोदिन बाटोको अवस्था जर्जर हुँदै गएको उनीहरू बताउँछन्।

“बाटोको मरम्मती हामी चालकहरूको मात्र सरोकार र माग होइन। यो त यस भेककै सम्पूर्ण मानिसका लागि आवश्यकता हो। किनभने बाटो दुरवस्थाबाट सबै नै पीड़ित छन्। सबैले जोखिम उठाएर यात्रा गरिरहेका छन्”, उनीहरूले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here