नेपाली युवतीहरू खाड़ी देश लगेर बेच्ने मोस्ट वान्टेड लोपसाङ लामा दिल्ली पुलिसद्वारा पक्राउ

0
4546
पक्रा परेका मोस्ट वान्टेड महिला तस्कर लोपसाङ लामा ( तस्वीरको बीचमा )।

नयाँदिल्ली, 21 जनवरी :  नोकरी प्रलोभन देखाएर खाड़ी देशहरूमा नेपाली युवतीहरूलाई बिक्री गर्ने मोस्ट वाण्टेड तस्करलाई दिल्ली पुलिसको स्पेशल सेलले पक्राउ गरेको छ।

पक्रा परेका आरोपी तस्करको नाम लोपसाङ लामा हो। उमाथि पुलिसले एक लाख रुपियाँको इनाम राखेको थियो।

दिल्ली पुलिसको स्पेशल सेलले पक्राउ गर्न पछ्याइरहेको थाहा पाएपछि पक्राउबाट बच्न आरोपी लामा यमुना नदीमा हाम फालेका थिए, तर सेलका कन्स्टेबल मनोज त्यागीले यमुना नदीमा पौड़ेरै यी महिला तस्करलाई पक्रे।

उल्लेखनीय छ, दिल्ली पुलिसले यी मोस्ट वाण्टेड महिला तस्करलाई पछिल्लो 25 जुलाई 2018  देखि नै खोजिरहेको थियो। त्यसै दिन दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालको नेतृत्वमा दिल्लीको मुनिरकाबाट  16 नेपाली युवतीलाई उद्धार गरिएको थियो। यसै मामिलामा लामाविरुद्ध वसन्त विहार थानामा मुद्दा दर्ता गरी पुलिसले खोजी गरिरहेको थियो।

यद्यपि यो घटनापछि आरोपी लामा नेपाल भागेका थिए।

त्यसपछि पुनः गत वर्षको अक्टोबर महिनामा दिल्ली फर्केर पुनः नेपालबाट युवतीहरू दिल्ली ल्याएर जाली (कीर्ते) दस्तावेजमार्फत् खाड़ी देशहरूमा पठाउने तयारी गरिरहेका थिए। यसैबीच महिला तस्कर लामा आईएसबीटी नजिक रहेको पुलिसले जानकारी पायो। यसपछि पुलिसले लामालाई पक्रिन जाल बिछ्याएको थियो। अन्त्यमा यो जालोमा यी मानव तस्कर फँसे।

पुलिसको केरकारमा धेरै वर्ष अघिदेखि नेपालका युवतीहरूलाई खाड़ी देशहरूमा बेच्दै आएको अपराधलाई लामाले स्वीकारेका छन्। दिल्ली पुलिसका अनुसार यो मानव तस्करीको काममा उसँग अन्य मानिस पनि सामेल छन्। अहिलेसम्म लगभग 30 जना नेपाली युवतीलाई आरोपी लामाले खाड़ी  देशहरूमा बिक्री गरिसकेका छन्।

प्राप्त जानकारीका अनुसार नेपालको ग्रामीण क्षेत्रका आर्थिक रूपले विपन्न युवतीहरूलाई नोकरीको प्रलोभन देखाएर लामाले खाड़ी देशहरूमा पठाउँदै आएका थिए। पुलिसले महिला तस्कर लामामाथि एक लाख रुपियाँको इनाम पनि तोकेको थियो।

मुनिरकामा छापामारी अवधि भागेका लामा उत्तर प्रदेश र नेपालको सीमा क्षेत्र सोनौलीमा केही महिना बसेका थिए। त्यसपछि पुनः दिल्ली आएर महिला तस्करीको धन्धा शुरु गर्ने तयारीमा थिए।

महिला तस्करीका मास्टर माइण्ड मानिने लोपसाङ लामा पूर्व नेपालको ओखलढुङ्गा निवासी हुन्। उनको पिता असम राइफल्सबाट अवकाशप्राप्त सैनिक हुन्। उनका एक भेना २०१७ देखि कुवैतमा छन्। कुवैतमा रहेका भेनाले नै लामालाई महिला तस्करको यो कार्यमा सहयोग गर्थे।

पुलिसका अनुसार लामाले युवतीहरूलाई नेपालबाट दिल्ली ल्याएपछि  ती भेनाको मद्दतले खाड़ी देशहरूमा बेच्ने गर्थे। यसका लागि उनले एक युवतीबाट  ४० देखि ४५ हजार पाउँथे। पुलिसले थप बताएअनुसार लामा गत वर्षदेखि यो मानव तस्करीको यो धन्धामा सक्रिय थिए।

पुलिस सूत्रका अनुसार नोकरीको नाममा नेपालबाट ल्याइएका धेरजसो युवतीहरूलाई केही समय मुनिरकामा राखेर  देहव्यापारको धन्धामा लगाइन्थ्यो। त्यसपछि ती युवतीहरूलाई कुवैत, दुबई र इराक पठाइन्थ्यो। यी देशहरूमा डोमेस्टिक हेल्परको रूममा काममा राखिन्थ्यो। तर डोमेस्टिक हेल्पर नाम मात्र हुनेगर्थ्यो। उनीहरूले त्यहाँ पनि देह व्यापारकै काम गर्नपर्थ्यो।

उल्लेखनीय छ, गत वर्षको जुलाई महिनामा दिल्ली महिला आयोगको सक्रियतामा मुनिरकाबाट 39 नेपाली युवतीलाई खाड़ी देशहरूमा बिक्री हुनबाट बचाइएको थियो।

त्यसपछि दिल्ली महिला आयोगले गोप्य सूचनाको आधारमा दिल्लीकै पहाड़गञ्जस्थित होटल हृदयबाट 18 नेपाली युवतीलाई उद्धार गरिएको थियो, जसमध्ये दुईजना बङ्गालका थिए। यसैबीच पछिल्लो वर्ष आयोगले एक अभियान चलाएर एक साताभित्र 73 नेपाली युवतीलाई उद्धार गरिएको थियो। यो अभियान मुनिरका, मैदानगढ़ी र पहाड़गञ्जमा चलाइएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here