सिलगढ़ी, 21 जनवरी : सोमबार अपरान्ह कञ्चनजङ्घा स्टेडियममा उत्तर बङ्ग उत्सवको उद्घाटन गरेपछि मुख्यमन्त्री ममता ब्यानर्जी सोझै दार्जीलिङ प्रस्थान गरेकी छन्। यसअवधि उनले उत्तर बङ्गालका 9 जना विभूतिलाई बङ्ग रत्न अवार्डले सम्मानित गरिन्। मुख्यमन्त्रीलाई बाघडुग्रा विमानस्थलमा भव्य स्वागत जनाइएको थियो।
आज अपरान्ह लगभग 4:46 बजे बाघडुग्रा विमानस्थल आइपुगेकी उनी उत्तर बङ्ग उत्सवमा केवल 20 मिनट रहिन्। आफ्नो संक्षिप्त सम्बोधन गरिन्। मुख्यमन्त्रीलाई सुन्नका लागि स्टेडियमलाई बाक्लो सङ्ख्या मानिस र विद्यार्थीहरूको उपस्थिति थियो।
आज बङ्ग रत्न अवार्ड पाउनेहरूमा दार्जीलिङका वरिष्ठ समाजसेवी एवं रेडकर्सका पूर्व सचिव मेजर (अवकाशप्राप्त) केपी मल्ल, एशियन गेम्सकी स्वर्ण पदक विजेता एथ्लीट स्वप्न बर्मन, सामाजिक कार्यकर्ता अजीत बर्मन, प्रसिद्ध कलाकार परितोष पाल, शिक्षाविद् परिमल दे, वरिष्ठ पत्रकार सुशान्त गुहा, शिक्षाविद् अमित कुमार सरकार तथा इतिहासकार एवं साहित्यकार सुकुमार सरकार छन्। उल्लेखनीय छ, आजदेखि शुरु भएको यो उत्सव आगामी 3 फरवरीसम्म चल्नेछ।