दार्जीलिङ, 21 जनवरी : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -ले तेस्रो मोर्चालाई समर्थन नगरेको विमल गुरुङपन्थी युवा मोर्चाका अध्यक्ष प्रकाश गुरुङले स्पष्ट पारेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गरी गुरुङले गोजमुमोले तेस्रो मोर्चालाई समर्थन नगरेको बताएका हुन्।
उनले विज्ञप्तिमा गोर्खाल्याण्डको आवाजलाई नदबाउने पार्टीलाई गोजमुमोले आगामी लोकसभा चुनाउमा भोट दिने बताएका छन्। गुरुङले विज्ञप्तिमा लेखेका छन्, “पार्टीले अहिले धेरै कुरालाई ध्यानपूर्वक अध्ययन गर्दैछ। र सटीक समय आएपछि जातिको हितमा आफ्नो अड़ान स्पष्ट पार्नेछ। गोर्खा जनमुक्ति मोर्चाले पहाड़, तराई अनि डुवर्सको आवाजलाई आत्मसात गरेर हिँडेको छ। यसैले गोर्खा जनतालाई चोट नपुग्ने नीतिभित्र हामीले काम गर्नुपर्ने जिम्मेवारीलाई बुझेका छौं। गोर्खा जनमुक्ति मोर्चाले देशको तेस्रो मोर्चा गठबन्धनलाई समर्थन गरेको छैन। समय अनुसार जनताको हितलाई लिएर हामीले निर्णय लिनु बाँकी नै छ।”
युवा मोर्चा अध्यक्ष गुरुङले गोजमुमोले तेस्रो मोर्चालाई समर्थन गरेको कुरालाई पनि पार्टीले सोझै नकारेको बताएका छन्। उनका अनुसार विमल गुरुङनेतृत्व गोजमुमोले अहिलेसम्म तेस्रो मोर्चाको गठबन्धनलाई स्वीकार गरेको छैन।
“सत्तामा चोरबाटो पसेका विनय तामाङहरूको तथाकथित मोर्चा-2-को गठबन्धन भयो होला, तर मूलबाटोमा बसेको गोर्खा जनमुक्ति मोर्चाले अहिले पनि गोर्खाल्याण्डको मुद्दालाई जिउँदो राख्न सत्तासँग सम्झौता नगरी सिँगौरी खेलेर बसिरहेको छ”, उनले दाबी गर्दै भनेका छन्, “पहाड़, तराई र डुवर्सका जनता अहिलेसम्म पनि पार्टी अध्यक्ष विमल गुरुङसँग छन्। विगतको गोर्खाल्याण्ड आन्दोलनमा गोर्खाको छातीमा बन्दुकको निशाना बनाउने तृणमूल कङ्ग्रेसका उम्मेद्वारलाई लोकसभा चुनाउमा जिताउने वचन दिने विनय तामाङले हिजो ममता ब्यानर्जीलाई आठ बुँदे माग गरेको पढ़ेपछि अब गोर्खाअघि विनय तामाङको राजनीति स्पष्ट भएको छ।”
सुकना घोषणामा ‘जाति र माटोको सुरक्षा गरौं’ भन्ने विनय तामाङले मुख्यमन्त्री ममता ब्यानर्जीलाई चढ़ाएको माग-पत्रमा गोर्खाल्याण्डको कुनै उल्लेख नगरेको दाबी पनि प्रकाश गुरुङले गरेका छन्।
“उनले बुँदा एकमा ‘गोर्खाहरूको राष्ट्रिय चिह्नारी एवं राजनीतिक सुरक्षा सुनिश्चित गरिनुपर्नेछ’ भने पनि गोर्खाल्याण्ड शब्दको प्रयोग नगर्नुले उनको माग केवल गोर्खाको आँखामा छारो हाल्ने कागजमात्र साबित भएको गोर्खा जनमुक्ति मोर्चाले ठहर गरेको छ” उनले विज्ञप्तिमा थप लेखेका छन्, “गोर्खा समुदायका 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिनुपर्नेछ भनेर आफ्नो दोस्रो बुँदामा लेख्नु पनि केवल झूटको राजनीति हो। किनभने शीतकालीन सत्रमा बील नआउँदा राजनीतिक रोटी सेक्नु खोज्ने विनय तामाङले अध्यक्ष विमल गुरुङको अनुरोधमा गएको टोलीलाई जनजाति मन्त्रीले बजेट सत्रको आस्वासन दिँदा रातारात भाका फेरेको पनि गोर्खा दाजु-भाइले देखिसकेका छन्।”
गुरुङले सिन्कोना बगान र चियाकमान सम्बन्धित मागहरू राज्य सरकार अघि चढ़ाएका पुराना मागहरू हुन् भन्दै सिन्कोना बगान र चियाकमानमा शोषण राज्य सरकारकै उदासीन नीतिले गर्दा भइरहेको दाबी गरेका छन्।
उनले भनेका छन्, “आज सिन्कोना बगान र चियाकमानको भविष्यसँग खेलाइँची गर्नेहरूसँग नै विनय तामाङहरूले हात मिलाएका छन्। आज पहाड़, तराई र डुवर्समा गोर्खाहरूले जेजति राजनीतिक, भौगोलिक, सामाजिक अनि आर्थिक समस्याहरू भोग्नु पर्दैछ ती सबैको एउटै मात्र समाधान भनेको गोर्खाल्याण्ड हो। र विनय तामाङहरूले गोर्खाको त्यही एकमात्र समाधानसँग सम्झौता गरिरहेका छन्।”
भारतमा गोर्खाको सबैभन्दा पुरानो राजनीतिक माग गोर्खाल्याण्ड रहेको र स्वार्थी बनेर सत्ताको भोग गर्नका लागि विनयलगायत अनित थापा, आलोककान्त मणि थुलुङ, सतीश पोखरेलहरूको झुण्डले ब्रिगेड ग्राउण्डमा गोर्खाल्याण्डको मागलाई सेलाएको आरोप लगाएका छन्। “फगत् 0 400 करोड़ रुपियाँ मागेर उनीहरूले भारतभरिका गोर्खाहरूको सपना गोर्खाल्याण्डलाई साट्ने काम गरेका छन्। अध्यक्ष विमल गुरुङले विनय-अनितले जस्तो मञ्च पाउँदा, एनडीएले ठूलो मञ्च दिँदा जहिल्यै गोर्खाल्याण्डको माग राखेको इतिहास झूटो होइन, तर विनयपन्थीले यति ठूलो मञ्च पाउँदा पनि गोर्खाल्याण्ड नभनेर 400 करोड़को माग राख्नु भनेको गोर्खाको सपनालाई बन्धकी राख्नु हो।”
विमल गुरुङनेतृत्व गोर्खा जनमुक्ति मोर्चा अहिले पनि गोर्खाल्याण्डका लागि सङ्घर्षरत रहेको दाबी युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङले गरेका छन्। उनका अनुसार विमल गुरुङले भारतीय गोर्खालाई संवैधानिक सुरक्षा दिन उनले गोर्खाल्याण्डको मुद्दासँगै सम्पूर्ण गोर्खा समुदायलाई जनजाति बनाउने मुद्दालाई पनि सँगै लिएर काम गरिरहेका छन्।
“सम्पूर्ण देशका गोर्खाहरूको त्याग, बलिदान र गोर्खाल्याण्डप्रतिको समर्पणलाई भुलेर, शहीदको रगतलाई विकासको नाममा आएको कागजका केही नोटहरूसँग साटेर, 105 दिनअवधि पहाड़का जनताको भोको पेटलाई जीटीए-2 को कुर्सीसँग साटेर, गोर्खाल्याण्ड शब्दलाई खिया परेको बाकसभित्र थुनेर जाति र माटोको कुरा गर्नु भनेको निलो रङमा चोबिएको स्याललाई जङ्गलको पशुहरूले राजा मानेको कथाजस्तो मात्रै हो”, गुरुङले भनेका छन्।