त्रिपुराका दुई मन्त्रीसँग भागोपको भेटवार्ता, उठायो गोर्खाहरूका समग्र विकास र सुरक्षाको मुद्दा

0
1080
त्रिपुराका मन्त्री एनसी देवबर्मासँग भागोपका प्रतिनिधिहरू।

दार्जीलिङ, २१ जनवरीः त्रिपुराका गोर्खाहरूका समग्र विकास र सुरक्षाको मुद्दा बोकेर भारतीय गोर्खा परिसङ्घ (भागोप)-का प्रतिनिधिहरूले त्रिपुराका दुई मन्त्रीलाई भेट गरेका छन्।

भागोपका कार्यकारी अध्यक्ष डा. मुनिष तामाङका अनुसार प्रतिनिधि टोलीले त्रिपुराका राजस्व एवं मत्स्य पालन विभागका मन्त्री एनसी देवबर्मा र जनजाति मन्त्रालय तथा वन विभागका मन्त्री मेवार जमातियासँग भेट गऱ्यो।

एनसी देवबर्मा इण्डिजिनियस पिपुल्स फ्रण्ट अव् त्रिपुराका अध्यक्ष पनि हुन्।

दुवै मन्त्रीसँगको भेटवार्तामा भागोपले राज्यका गोर्खाहरूका संवैधानिक सुरक्षा र समग्र विकासका लागि ठोस पहल गरिनुपर्ने माग राखेको तामाङको भनाइ छ।

यसका साथै त्रिपुरा अटोनोमस काउन्सिलमा पनि गोर्खा जातिका लागि सीट आरक्षित गरिनुपर्ने माग गरिएको उनले बताएका छन्।

“हामी 125औं संवैधानिक संशोधन विधेयकमाथि पनि चर्चा गऱ्यो। किनभने त्रिपुराका जनजाति क्षेत्रहरूमा धेरै गोर्खा छन्”, मुनिष तामाङले थपे, “त्यसैले त्यहाँका गोर्खाहरूको संवैधानिक सुरक्षा चाहन्छौं।”

उनका अनुसार भेटवार्ताअवधि दुवै मन्त्रीले गोर्खा सुरक्षा र विकास सम्बन्धित मुद्दाहरूमा सकारात्मक आश्वासन दिएका छन्। प्रतिनिधि टोलीमा तामाङलगायत राष्ट्रिय अध्यक्ष सुकमन मोक्तान पूर्वोत्तर क्षेत्रका अध्यक्ष जगन्नाथ कोइराला, महासचिव लाक्पा तामाङ, त्रिपुरा राज्य समितिकी अध्यक्ष पद्मा रावत र महासचिव राजु छेत्री आदि सामेल थिए।

अर्कोतिर, उल्लिखित विषयहरूमा आज त्रिपुरामा भागोपको बैठक बसिने पनि भागोप कार्यकारी अध्यक्ष डा. मुनिष तामाङले जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here