चियाश्रमिकको रोज 15 प्रतिशत बढ़्यो, 176 देखि बढ़ेर 202 रुपियाँ भयो

0
1168

दार्जीलिङ, 21 जनवरीः चियाश्रमिकहरूका दैनिक रोजी 176 देखि बढ़ेर 202 रुपियाँ हुने निश्‍चित भयो। यसमाथि सबै श्रमिक सङ्गठन र चियाबगान मालिक सङ्गठनहरू पनि राजी बनेका छन्।

अहिले नै चियाश्रमिकहरूका लागि मिनिमम वेजेस ऐन लागू गर्न नसकिने अवस्थालाई केन्द्र गरेर नै राज्य सरकारले यसै जनवरी महिनादेखि चियाश्रमिकहरूका साथै स्टाफ, सब-स्टाफहरूको रोजी अनि वेतनमा 15 प्रतिशतको दरले वृद्धि गर्ने घोषणा गरेको छ।

हिजो सिलगढ़ीको डागापुरस्थित श्रमिक भवनमा राज्यका श्रममन्त्री मलय घटकको विशेष उपस्थितिमा चियाश्रमिक अनि स्टाफ, सब्-स्टाफहरूका रोजी अनि वेतन वृद्धि विषय लिएर त्रिपक्षीय बैठक भएको थियो, जसमा मालिकपक्षले यसबारे अझै समय मागेको थियो, तर सरकारपक्षले आगामी विधानसभा चुनाउका लागि कुनै पनि चुनाउको आदर्श आचार संहिता लागू हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर मिनिमम वेजेस लागू नभएसम्मका लागि रोजी र वेतनमा अन्तरिम वृद्धि गराउने घोषणा गऱ्यो।

यसमाथि बैठकमा उपस्थित सबै श्रमिक सङ्गठन अनि मालिकपक्ष राजी बनेका छन्।

यस बैठकमा दार्जीलिङ पहाड़बाट गोजमुमो दुवै खेमाका श्रमिक सङ्गठनका नेताहरूले भाग लिएको यी दुवै खेमाका श्रमिक सङ्गठन नेताहरूले बताएका छन्।

यसबारे विमलपन्थी श्रमिक सङ्गठनका अध्यक्ष सुरज सुब्बाले भने, “चियाश्रमिकहरूको रोजी वृद्धि विषय लिएर सङ्गठनले लगातार सरकार अनि मालिकपक्षमाथि चाप दिइरहेको थियो।”

यसमाथि धेरैपल्ट बैठक भइसकेको थियो। तर, हिजो भएको बैठकमा चियाश्रमिकहरूको रोजीमा 15 प्रतिशत अर्थात् 26 रुपियाँ अनि कर्मचारीहरूको वेतनमा पनि 15 प्रतिशत वृद्धि गरिएको सुब्बाले बताए। जसअनुसार, चियाश्रमिकहरूको दैनिक रोजी 1 जनवरी 2021-देखि 202 रुपियाँ पुगेको छ।

यसरी नै विनय तामाङपन्थी श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका मूलसचिव भरत ठकुरीले हिजो भएको बैठकमा सङ्गठनको पक्षबाट 7 जना सदस्य उपस्थित रहेको बताउँदै चियाश्रमिक अनि कर्मचारीहरूका वेतन-रोजीमा वृद्धि भए पनि आफ्नो सङ्गठन असन्तुष्ट रहेको बताए।

उनले भने, “गत 29 दिसम्बरका दिन यसै विषय लिएर एक बैठक भएको थियो, जसमा हामीले चियाश्रमिकहरूको दैनिक रोजी मिनिमम वेजेस लागू नभएसम्मका लागि कम्तिमा पनि 250 रुपियाँ हुनपर्ने माग राखेको थियो। तर, हिजोको बैठकमा चियाश्रमिकहरूको रोजी केवल 26 रूपियाँ मात्रै बढ़ेको छ।”

यसका साथै चियाश्रमिक अनि स्टाफ, सब्-स्टाफको 2017-देखिको रोजी र वेतनको वृद्धि दर पनि दिनुपर्ने सङ्गठनले माग राखेको उनले बताए।

“विगतमा प्रत्येक 3 वर्षमा चियाश्रमिक अनि स्टाफ, सब्-स्टाफको रोजी र वेतन वृद्धि हुने गर्थ्यो। तर, 2017-देखि यता चियाश्रमिक अनि कर्मचारीहरूका रोजी र वेतनमा वृद्धि भएको छैन’’, ठकुरीले भने।

यसैले यस अवधिको वृद्धि दर पनि दिनुपर्ने उनले बैठकमा माग राखेको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here