–भविलाल लामिछाने
श्रीश्री नेपाली विष्णुमन्दिर कमिटी, डिगबोइ (असम) ।
नाउँले एउटा साधारण धार्मिक संस्था बुझाउने यो अनुष्ठान धेरैका लागि महत्त्वपूर्ण नहोला।
हुनसक्छ कतिले यसको नाम पनि नसुनेका होलान् तर पूर्वाञ्चलमा नेपाली साहित्यको इतिहास लेखिएछ भने भारतीय नेपाली साहित्य मात्रै होइन सम्पूर्ण नेपाली साहित्यमा यो आस्थाको सानो मन्दिरमातहत भएको संस्थाको नाउँ छुट्न गएमा ठुलो अन्याय हुने ठाउँ रहिजान्छ।
असम डिगबोइतिर नेपालीहरूको प्रवेश आजभन्दा दुई सय वर्षअघिदेखि नै भइसकेको थियो। सन् १८६० को दसकबाट असममा मट्टितेलको खोजी हुनथालेको हो। सन् १८८९ मा डिगबोइमै तेलको पहिलो खातको स्थापना भयो। त्यतिखेरसम्म यो ठाउँको नाउँ ‘डिगबोइ’ थिएन। तेलको खोजी गर्ने ब्रिटिश थिए। उनीहरूले ‘एआरटीसी’ (Assam Road & Transport Company) अन्तर्गत तेलको खोजी गरेका थिए। उनीहरूले काम अह्राउँदा काम गर्नेहरूको हौसला बढाउन चिच्याउने गर्थे ‘DIG BOY DIG’ (खन बाबु हो खन)। त्यसैबाट यो ठाउँको नाउँ डिगबोइ (Digboi) भएको हो भनिन्छ।
त्यसअघि नै लिडुमा कोइलाखननको काम चलिरहेको थियो। त्यहाँ काम गर्नेहरूमा दार्जिलिङ, कालेबुङबाट गएका नेपालीहरूको आधिक्य थियो।
तेलखननमा पनि ठेकादारहरूले ओडिसा, आन्ध्रप्रदेश, उत्तरप्रदेशलगायत नेपालतिरबाट लिएर आएका नेपाली श्रमिकहरूले काम गरेका थिए।
यसरी सन् १९०१ मा ‘असम अयल कम्पनी’ (AOC) अन्तर्गत एसिया महादेशको प्रथम तेल रिफाइनरी डिगबोइमा आरम्भ भयो।
सन् १९२१ सम्म श्रमिकहरू ठेकादारकै अधिनमा काम गर्थे भने सन् १९२१ देखि उनीहरूलाई कम्पनीले निज कर्मचारी बनाएर ‘फोटो पास’ (ID Card) दियो। यसरी कम्पनीमा नाउँ दर्ता हुने प्रथम नेपाली नेपालको प्युठान जिल्लाका थुमी सुनार (क्रमाङ्क २१) थिए।
थुमी सुनारजस्तै अरू नेपाली मानिस पनि कम्पनीका कर्मचारी भए। उनीहरूको ज्याला बढ्यो। बस्ने घर र अन्य चाहिने जम्मै सुविधा कम्पनीले गरिदियो। यसरी उनीहरूको स्थायित्व आएपछि डिगबोइमा एउटा समाजको निर्माण भयो।
समाजको निर्माण त भयो, तर त्यसको विकसित रूप त्यतिखेर सामुन्ने आयो, जतिखेर सन् १९४२ मा डिगबोइमा ‘श्रीश्री नेपाली विष्णुमन्दिर कमिटी’-को स्थापना भयो। कम्पनीमा काम गर्ने नेपाली कर्मचारीहरूका छोरा-छोरीहरूका लागि नेपाली माध्यमको स्कुलको मागमा अखिल भारतीय गोर्खा लिगको सहयोगमा श्रीश्री नेपाली विष्णुमन्दिर कमिटीले आन्दोलन गरी सन् १९४८ , ११ सेप्टेम्बरदेखि स्कुल प्राप्त गऱ्यो।
यसप्रकार एओसी नेपाली एमई स्कुलको स्थापनापछि डिगबोइको नेपाली समाजमा एउटा ठुलो जागरण आयो।
यो स्कुलको स्थापनामा तत्कालीन ‘अखिल भारतीय गोर्खा लिग’-का अध्यक्ष तथा नेपालीका प्रख्यात कथाकार शिवकुमार राई आफैँ डिगबोइ पुगेर कम्पनीविरुद्ध आन्दोलनको नेतृत्व गरेका थिए।
श्रीश्री नेपाली विष्णुमन्दिर कमिटीकै कार्यालयमा ‘अखिल भारतीय गोर्खा लिग’ ( डिगबोइ शाखा)-को पनि कार्यालय थियो। विष्णुमन्दिरको तत्परतामा प्राप्त भएको एओसी नेपाली एमई स्कुल नै डिगबोइको साहित्यिक फाँटको क्षितिज बन्यो।
एओसी नेपाली एमई स्कुलका शिक्षकद्वय चिन्तामणि जैसी सुवेदीको सम्पादनमा ‘गोर्खा’ नाउँले सन् १९५२ मा प्रकाशित भएको ‘अखिल भारतीय गोर्खा लिग’ (डिगबोइ शाखा)- को हस्तलिखित वार्षिक मुखपत्र नै डिगबोइबाट निस्केको पहिलो पत्रिका हो। त्यसै वर्ष सन् १९५२ मै असममा सर्वप्रथम भानुजयन्ती श्रीश्री विष्णुमन्दिर, डिगबोइमै मनाइयो। गुवाहाटीमा पनि त्यही वर्ष भानुजयन्ती मनाइएको कुरो उपन्यासकार लीलबहादुर क्षत्रीले गरेका छन्।
यो स्कुलकै प्रभाव थियो, सन् १९५४ मा स्कुलकै शिक्षक जशु सुब्बाको सभापतित्वमा रामप्रसाद जैसीका घर ‘डिगबोइ नेपाली छात्र सङ्घ’-को गठन भयो।
‘डिगबोई नेपाली छात्र सङ्घ’-को मुख-पत्र ‘कोपिलो’-को प्रकाशन र सन् १९५७ मा सुनामधन्य कवि हरिभक्त कटुवालको आगमनका साथै डिगबोइमा नेपाली साहित्यको गतिविधिले तीव्र रूप लिन्छ।
श्रीश्री नेपाली विष्णुमन्दिर कमिटीको आफ्नै साहित्य विभाग थियो, जसले समयसमयमा साहित्यिक कार्यक्रम गरिरहन्थ्यो। अन्य सहयोगी संस्थाहरूलाई साहित्यिक कार्यक्रम गर्नका लागि एउटा दह्रो मञ्चको आवश्यकता थियो, जसको खाँचो विष्णुमन्दिरले टारिरहेको थियो।
नेपालबाट आएको भैरव नृत्य-दल (सन् १९५५), धर्मराज थापाको असम भ्रमण (सन् १९५७) र सन् १९६४ मा जनार्दन समको नेतृत्वमा आएको साहित्यिक/सांस्कृतिक टोलीको आतिथ्य भार श्रीश्री नेपाली विष्णुमन्दिर कमिटीले नै उठाएको हो।
धार्मिक संस्था भएकाले दुर्गापुजा, शिवरात्री, जन्माष्टमी जस्ता धार्मिक कार्यक्रम यो कमिटीले सम्पन्न गर्थ्यो भने समय समयमा कविगोष्ठी, भानुजयन्ती, देवकोटा जयन्ती, पारसमणि जयन्ती जस्ता साहित्यिक कार्यक्रम धुमधामले आज पनि मनाइन्छ।
हरिभक्त कटुवाल, युद्धवीर राणा, भविलाल लामिछाने, गुरुभक्त धिताल, के.बी. नेपाली जस्ता अन्य साहित्यकारहरूको उदयमा श्रीश्री नेपाली विष्णुमन्दिरको ठुलो भूमिका छ भन्दा अतिशयोक्ति नहोला।
सन् १९९८ देखि खड्कराज गिरीको सम्पादनमा ‘भानुस्मारक’ शीर्षकले आरम्भ भएको श्रीश्री नेपाली विष्णुमन्दिरको साहित्यिक मुख-पत्र केही वर्ष स्थगित रहेर फेरि सन् २००३ बाट आजसम्म ‘मुहान’ शीर्षकले नियमित रूपमा प्रकाशित भइरहेको छ।
आज डिगबोइमा जनसङ्ख्याको ह्रास हुँदै गए तापनि विष्णुमन्दिरको महत्त्वमा कुनै कमी आएको छैन। सर्वभाषी जनताबाट पाएको माया र सहयोगले यो संस्था डिगबोइ र यसको सेरोफेरो मात्र नभएर सम्पूर्ण असमका जनताका लागि एउटा ऐतिहासिक माइल खुट्टी बनेको कुरो सबैले स्वीकार्नु पर्छ।
यसै वर्ष ‘साहित्य अकादमी’-बाट पुरस्कृत हुने बहुआयामिक सर्जक युद्धवीर राणाले विष्णुमन्दिरलाई केन्द्र गरी डिगबोईका नेपालीहरूको एउटा ऐतिहासिक टिपोटलाई पुस्तकको रूप दिने प्रयास गरिरहेको कुरा सुनेर राम्रो लागिरहेछ।
-(सालबारी)