दार्जीलिङ, 21 फरवरीः पाँच वर्षको कार्यकालअवधि स्थायी राजनीतिक समाधान गरेरै छोड्ने दार्जीलिङका सांसद राजु विष्टको दाबीलाई राष्ट्रवादी कङ्ग्रेस पार्टी (एनसीपी)-ले केवल झूटो आश्वासनको संज्ञा दिएको छ।
राष्ट्रवादी कङ्ग्रेस पार्टीका दार्जीलिङ जिल्ला अध्यक्ष फैजल अहमदले यसबारे भने, “दार्जीलिङ पहाड़का जनताले भारतीय जनता पार्टीलाई अघिबाटै 10 वर्षको समय दिइसकेका छन्। र, अझै 5 वर्ष दिएको कारण राजु विष्ट सांसद बनेका हुन्। राजु विष्ट सांसद बनेको करिब एक वर्ष भइसक्यो, तर उनले दार्जीलिङमा सांसद कोषबाट के-कस्ता विकासको कार्य गरेका छन्, त्यो सार्वजनिक गरून्।’’
यसैबीच सांसद राजु विष्ट र उनका सहयोगीहरूले गोर्खाल्याण्ड, युनियन टेरिटोरी जस्ता मुद्दाहरू अघि ल्याएर केवल अशान्ति फैलाउने मात्रै कार्य गरिरहेका उनले आरोप लगाएका छन्।
अहमदका दाबीका अनुसार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको दिशानिर्देशमा दार्जीलिङ पहाड़मा अनित थापा र विनय तामाङले धेरै विकासका कार्य गरिरहेका छन्। जसलाई राष्ट्रवादी कङ्ग्रेस पार्टीले स्वागत जनाएको छ।
अर्कोतिर यी एनसीपी नेताले सांसद राजु विष्टलाई आँट छ भने दार्जीलिङ पहाड़का जनतासित एक महिना समय बिताउने पनि चुनौती दिएका छन्।
उनले दार्जीलिङ लोकसभा आसनबाट चुनाउ जित्ने राजु विष्ट अन्तिम भाजपा सांसद बन्ने कटाक्ष प्रहार गर्दै भाजपाले दार्जीलिङ पहाड़का जनतालाई केवल झूटो आश्वासन दिएर मात्र चुनाउ जितेको बताएका छन्।