‘क्याप’-को प्रतिनिधि टोलीले भेट्यो राज्यपाल, चढायो ज्ञापन

0
557

गान्तोक, २१ फरवरीः एसकेएम सरकारले गलत तरिकाले सिक्किम ऊर्जा लिमिटेडको सेयर बेचेको बताउँदै यसको प्रतिवादमा पछिल्लो ६ दिनदेखि गान्तोकको जिल्ला न्यायालयको परिसर अघि धर्ना प्रदर्शन गरिरहेको सिटिजन एक्सन पार्टीको एक प्रतिनिधि टोलीले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग भेट गरी यस विषयमा ध्यानाकर्षण गराएको छ।

पार्टी अध्यक्ष एलपी काफ्लेको नेतृत्वमा राज्यपाल भेट्न गएको प्रतिनिधि टोलीमा पार्टीका वरिष्ठ नेता भरत बस्नेत, बीएम रामुदामु, दाउछो लेप्चा, लाक्पा शेर्पा, डीबी चौहान, फुरी शेर्पा र शान्ति तामाङ सहभागी थिए।

प्रतिनिधि टोलीले राज्यपाललाई एक ज्ञापन पनि चढाएको छ, जसमा राज्यको वर्तमान एसकेएम सरकारले सिक्किमकै सबैभन्दा ठुलो सम्पदामध्ये एक सिक्किम ऊर्जा लिमिटेडको सेयर गलत तरिकाले बिक्री गरेको मुद्दालाई मात्र उठान गरेको छैन, तर यस कार्यको प्रतिवादमा पार्टीले गरिरहेको धर्ना प्रदर्शन कार्यक्रमलाई पुलिस प्रशासनले अप्रजातान्त्रिक ढङ्गमा दबाउने र बाधा पुऱ्याउने कार्य पनि गरिरहेको आरोप लगाएको छ।

सिटिजन एक्सन पार्टीले भनेको छ – सिक्किम ऊर्जा लिमिटेडको सेर बिक्री गलत प्रकारले गरिरहेको छ। साथै यसबारे विधानसभा र मङ्गन जिल्लाका प्रभावित मानिसहरूका सुझाउ लिन पनि आवश्यक ठान्ने कार्य भएन।

ज्ञापनमा भोलिका दिनमा आइपर्ने बिघ्नबाधा, अड्चन र सम्भावित तथा व्यावहारिक पक्षका कुरा कुरा समावेश गरिएको छ।

उल्लेखनीय छ, एसकेएम सरकारले चुपचाप सिक्किम ऊर्जा लिमिटेडको सेयर ग्रिनको कम्पनीलाई चुपचाप बेचेको प्रतिवादमा सिटिजन एक्सन पार्टीले  15 फरवरीदेखि गान्तोकको जिल्ला न्यायालयको परिसर अघि धर्ना कार्यक्रम गरिरहेको छ। धर्ना कार्यक्रम गर्न अघि स्थानीय आम्दो गोलाइदेखि जिल्ला न्यायालयको परिसर अघिसम्म जुलुस पनि निकालेको थियो।

यो धर्ना प्रदर्शन 10 दिनसम्म चल्नेछ । यो धर्ना प्रदर्शनलाई बेवास्ता गरी एसकेएम सरकारले सम्बन्धित विषयमाथि कुनै स्पष्टीकरण नदिए अझ बृहत् कार्यक्रम गर्ने सिटिजन एक्सन पार्टीको चेताउनी छ।

उक्त बृहत् कार्यक्रम राज्य सचिवालयको घेराउसम्म हुने सिटिजन एक्सन पार्टीले बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here