दार्जीलिङ र कालेबुङ जिल्ला अस्पताललाई मेडिकल कलेजमा बढ़ोत्तरी गर्नुपर्ने विष्टको माग

0
1791

दार्जीलिङ, 21 मार्चः दार्जीलिङ र कालेबुङका जिल्ला अस्पताललाई मेडिकल कलेजको रूपमा बढ़ोत्तरी गर्नुपर्ने माग सांसद राजु विष्टले गरेका छन्।

केन्द्रिय स्वास्थ्य मन्त्री डा. हर्षबर्धनबाट प्राप्त प्रत्युत्तरपछि सम्बन्धित मागबारे उनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र पठाएका छन्।  ममतालाई विष्टले यो पत्र पछिल्ला 18 मार्चका दिन पठाएका हुन्।

उल्लेखनीय छ, केही महिनाअघि यसै विषयमा केन्द्रिय स्वास्थ्य मन्त्री डा. हर्षबर्धनसँग सांसदले भेटवार्ता गर्नका साथै एक ज्ञापन चढ़ाएका थिए। पछिल्लो 4 मार्चका दिन उनले केन्द्रिय स्वास्थ्य मन्त्रीबाट सम्बन्धित मागबारे प्रत्युत्तर पाएका थिए।

प्रत्युत्तरमा मन्त्रीले उनलाई केन्द्र सरकारले जिल्ला अस्पतालहरूमा मेडिकल कलेजको स्थापना गर्ने योजनाअन्तर्गत् तेस्रो चरणको योजनालाई क्याबिनेटले अनुमोदन पनि गरिसकेको र यसका लागि राज्य सरकारले केन्द्रलाई सम्बन्धित अस्पतालहरूको प्रस्ताव र डीपीआर पठाउनुपर्ने विषयमा जानकारी गराएका थिए।

यसका साथै दार्जीलिङ संसदीय क्षेत्रमा मेडिकल कलेज स्थापनासम्बन्धी आजका दिनसम्म पश्चिम बङ्गाल सरकारले कुनै प्रकारका प्रस्ताव र डीपीआर मन्त्रालयबाट नपठाएको अवगत गराउँदै यसबारे राज्य सरकारसँग कुरा गर्ने सुझाएका थिए।

यसैको फलस्वरूप विष्टले सम्बन्धित मागबारे ममतालाई पत्र पठाएका हुन्। ममतालाई पठाएको पत्रले उनले आफूले केन्द्रिय स्वास्थ्य मन्त्रीलाई दार्जीलिङ र कालेबुङ जिल्लामा मेडिकल कलेज स्थापनाको मागमा ज्ञापन चढ़ाएको पनि उल्लेख गरेका छन्।

अर्कोतिर, विष्टले उक्त पत्रमा अहिलेसम्म दार्जीलिङ र कालेबुङ जिल्लामा मेडिकल कलेज स्थापनाका लागि राज्य सरकारबाट कुनै प्रकारको प्रस्ताव र डीपीआर स्वास्थ्य मन्त्रालयमा नपठाएको पनि स्वास्थ्य मन्त्रीमार्फत् जानकारी पनि कुरालाई अवगत गराएका छन्।

यसका साथै उनले दार्जीलिङ र कालेबुङ जिल्लामा राम्रो स्वास्थ्य सुविधा अभाव रहेकोले यहाँका आर्थिक विपन्न मानिसहरू स्वास्थ्य उपचारका लागि सिलगढ़ी झर्नु पर्ने बाध्यता रहेको पनि औंल्याएका छन् भने यी दुवै जिल्लाका दुर्गम क्षेत्रका मानिसहरू सिलगढ़ी उपचारका लागि झर्नुपर्दा यात्रामा अत्यधिक समय लाग्ने गरेकोले स्वास्थ्यका लागि पनि जोखिम हुने गरेको  बताएका छन्।

यसैले उल्लिखित मागबारे ठोस पदक्षेपका लागि विष्टले ममतालाई माग गरेका छन्।

जनसंवादसँग कुराकानी गर्दै उनले भने, “राज्यले कालेबुङ र दार्जीलिङ जिल्लामा मेडिकल कलेज स्थापनाका लागि स्वास्थ्य मन्त्रालयलाई चाँड़ोभन्दा चाँड़ो प्रस्ताव र डीपीआर पठाएको खण्डमा हाम्रा मानिसहरूले स्वास्थ्य उपचारबारे झेलिरहेको ठूलो समस्या समाधान हुनेछ।”

यसैअवसरमा दार्जीलिङ र कालेबुङ जिल्लामा कोरोना भाइरस स्क्रिनिङ सेन्टर स्थापना गर्नुपर्ने आफ्नो मागसम्बन्धमा पनि केन्द्रले सम्बन्धित निकायलाई सूचित गरेको प्रत्युत्तर गृहमन्त्री अमित शाहबाट प्राप्त भएको सांसद राजु विष्टले बताएका छन्।

केन्द्रले यी मागसम्बन्ध यथाशीघ्र पहल गर्ने कुरामा सांसदले विश्वस्त छ। यसका साथै एक-दुई दिनभित्र दार्जीलिङ पहाड़का ग्रामीण मानिसहरूका लागि बीस हजार मास्क पठाउने बताएका छन्।

“मास्कको कमीको कारण अहिलेका लागि दार्जीलिङ पहाड़का ग्रामीण मानिसहरूका लागि 20 हजार मास्क यो एक-दुईभित्र दार्जीलिङ पठाउनेछु”, जनसंवादसँगको टेलिफोनिक कुराकानीमा उनले थपे, “मास्क प्राप्त भएपछि फेरि अझ बढ़ी मास्क दार्जीलिङ पठाउनेछु।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here