बुद्ध लेप्चाका परिवारले न्याय पाउनुपर्छः प्रकाश गुरुङ

0
1703
स्व. बुद्ध लेप्चा ।

दार्जीलिङ, 21 अप्रेलः ड्युटीअवधि हिजो बिहान करेन्ट लागेर मृत्यु भएका रम्माम जल विद्युत प्रकल्पका कर्मचारी बुद्ध लेप्चाका परिवारले न्याय पाउनुपर्ने विमल गुरुङपन्थी युवा मोर्चाका अध्यक्ष एवं रिम्बिक-लोधोमा समष्टिका पूर्व सभासद् प्रकाश गुरुङले माग गरेका छन्।

गुरुङले मतक बुद्ध लेप्चाप्रति श्रद्धाञ्जली अर्पण गर्नका साथै शोकाकुल परिवारप्रति पनि समवेदना प्रकट गरेका छन्।

उनका अनुसार यस घटना कसको लापरबाहीले गर्दा भएको हो, त्यसको निष्पक्ष जाँच गरिनुपर्छ। साथै प्रकल्पका ठेकादार एन. शर्मा र प्रकल्पका अधिकारीवर्गले मृतकका परिवारलाई उचित न्याय दिनुपर्ने उनको माग छ।

‘रम्माम जल विद्युत प्रकल्पमा यसभन्दा अघि पनि यस्ता धेरै घटना घटेका छन्। यस्तो हुँदाहुँदै पनि सम्बन्धित विभागले किन त्यहाँका अस्थायी कर्मचारीहरूको सुरक्षाको बन्दोबस्त गर्दैन?’, प्रकाश गुरुङले प्रश्न गरेका छन्।

यसैगरी बुद्ध लेप्चालाई शारीरिक सुरक्षा गर्ने उपकरणबिनै बिजुलीको काम गर्न लगाइयो साथै यसका लागि को जिम्मेवार छन् भन्ने पनि उनले प्रश्न गरेका छन्।

साथै यसको उचित जाँच गरी कारबाही गरिनुपर्ने तथा मृतककी पत्नी स्मृति लिम्बूलाई रम्माम जल विद्युत प्रकल्पमा चाँड़ोभन्दा चाँड़ो नियुक्ति दिइनुपर्ने माग गुरुङको छ।

‘रम्माम जल विद्युत प्रकल्पमा अस्थायी कर्मचारीहरू सधैँ असुरक्षित रहेको यस घटनाले उजागर गरेको छ। कुनै तालिम र कुनै सुरक्षा उपकरणबिनै बिजुलीको कार्य गर्नु धेरै जोखिमको कुरा हो भनेर जान्दाजान्दै पनि कर्तृपक्षले यस विषयमा ध्यान नदिनु एकदमै गैर-जिम्मवारपूर्ण कार्य हो’, उनले थप भनेका छन्, ‘आगामी दिनहरूमा यी कुराहरूको विशेष ध्यान राखिनुपर्छ भन्ने सुझाउ राख्दछु।’

उल्लेखनीय छ, रम्माम जल विद्युत प्रकल्पमा कार्यरत् अस्थायी कर्मचारी 22 वर्षीय बुद्ध लेप्चाको हिजो ड्युटीअवधि करेन्ट लागेर दुखद मृत्यु भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here