आईएमसीटीको आगमनमा अनितको आपत्ति, भने- केन्द्रको निर्णयले अन्योल सिर्जना गरेको छ

0
1033
जीटीए अध्यक्ष अनित थापा।

दार्जीलिङ, 21 अप्रेलः दार्जीलिङ, कालेबुङमा कोरोना सङ्क्रमणको स्थिति गम्भीर रहेको केन्द्र सरकारको निर्णयमाथि गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनले पनि असन्तुष्टि व्यक्त गरेको छ।

तरै पनि केन्द्र सरकारको निर्देशअनुसार, दार्जीलिङ र कालेबुङमा लकडाउनलाई अझै कठोर बनाउने दिशामा पहल शुरू गरेको जीटीए बीओएका अध्यक्ष अनित थापाले बताए।

उनले आज कालेबुङ प्रस्थान गर्नअघि पत्रकारहरूसित कुराकानी गर्दै भने, “केन्द्र सरकारले दार्जीलिङ र कालेबुङको स्थलगत सर्वेक्षण गर्नका लागि अन्तर मन्त्रालय टोली (आईएमसीटी)-लाई दार्जीलिङ र कालेबुङमा पनि पठाउने निर्णय लिएकोमा मलाई अचम्म लागिरहेको छ। यो दलले निरीक्षणको रिपोर्ट केन्द्र सरकारलाई बुझाउनुपर्ने पनि जानकारी पाइएको छ, जुन कुरा स्वयंमा विरोधाभाषपूर्ण र जनतामा हतोत्साह उत्पन्न गर्ने कदम हो।‘’

केन्द्र सरकारको यस्तो निर्णयले दार्जीलिङ अनि कालेबुङवासी जनतामा आतङ्क, त्रास अनि अन्योलको माहोल सृजना गरेको थापाले बताएका छन्।

उनका अनुसार केन्द्रिय स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयको कुरामा नै विरोधाभाष देखिएको छ।

“एकतर्फ स्वास्थ्य मन्त्रालयले 14 दिनदेखि यता कालेबुङमा कुनै कोरोना पोजिटिभ भेटिएको छैन भन्ने बयान दिएको थियो। तर त्यसको 48 घण्टाको समय पनि बित्न नपाई गृह मन्त्रालयले दार्जीलिङ र कालेबुङको स्थिति गम्भीर रहेको बताउँदै यहाँ उच्चस्तरीय टोली पठाउने काम गरेको छ’’, थापाले थपे, ‘‘केन्द्र सरकारका दुईवटा मन्त्रालयको अलग-अलग बयानले पहाड़का जनता अन्योलमा परिरहेका छन्।‘’

उनले थप बताएअनुसार, पछिल्लो 28 मार्चका दिन कालेबुङनिवासी एक महिलामा कोरोना सङ्क्रमण पाइएको थियो। दुर्भाग्यवश 30 मार्चका दिन उनको निधन भयो। उनको मृत्युले कालेबुङवासी जनतामा डरलाग्दो आतङ्क फैलिएको थियो। उक्त महिला कालेबुङमा बसेसम्म डाक्टर, परिवारका अन्य सदस्यहरू साथै अन्य केही उनको सम्पर्कमा आएको थाह लागेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here