सिक्किम अहिले फासीवादको बाटोमा हिँड़िरहेको छ : एसडीएफ

0
918

गान्तोक, 21 अप्रेलः सिक्किम अहिले डरलाग्दो गरी फासीवादको बाटोमा हिँड़िरहेको आरोप विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले लगाएको छ।

मङ्गलबार एसडीएफका प्रचार-प्रसार मामिला महासचिव कृष्ण खरेलले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो आरोप लगाएका छन्।

उनका अनुसार सिक्किममा अहिले सरकारविहीन अवस्था छ। राज्य प्रशासनले नै विधि-विधान, संविधान र कानून व्यवस्थाको खिल्ली उड़ाएर अराजकतापूर्ण रवैया अपनाइरहेको छ।

‘हरेक पेशागत जनताको आत्मसम्मान गिराउने, धम्काउने, डर र त्रासको वातावरण सृजना गराए उनीहरूलाई गुलाम बनाउने घोर अधिनायकवादी कदम अहिले सरकारको लक्ष्य भएको छ’, खरेलले आरोप लगाएका छन्।

साथै एसडीएफ पार्टीले ‘वर्तमान सरकारको जनविरोधी चरित्रको तीव्र भर्त्सना जनाउने’ पनि बताएका छन्।

 उनले विज्ञप्तिमा थप आरोप लगाएअनुसार आफ्ना चुनावी घोषणाहरू पूरा गर्ने कुनै योजना र कार्यक्रम एसकेएम सरकारसँग छैन। विद्यार्थीहरू अपमानित भएका छन्‌। कर्मचारीहरू अपमानित भएका छन्‌। आम जनताको रोजी-रोटी खोसिएको छ। महामारीको चपेटामा परेर श्रमजीवी चालकवर्गको व्यवसाय चौपट भएको छ। ब्याङ्कको ऋणमा चुर्लुम्म डुबेका छन्‌। साना व्यापारीहरू जसले ऋण लिएर व्यवसाय थालेका थिए, आज उनीहरूको घरबारी निलाम हुने अवस्थामा पुगेको छ। होटल तथा पर्यटनीय व्यवसाय ठप्प भएको छ। किसानहरूको आम्दानी घटेर गएको छ। मजदुरहरूले 20 हजार तनखा कहिले हुन्छ भनेर पर्खिहेका छन्‌। गाउँले ठेकेदारहरूको बील भुक्तान नगरेर उनीहरूको घरबारै जाने अवस्थामा पुगेका छन्‌।


‘यस्ता अनेकौं समस्याहरूको थुप्रोमुनि पुरिएको सरकारचै कर्मचारी तर्साउने, विद्यार्थी धम्क्याउने र आम जनतालाई सत्ताको डर देखाएर आफ्नो कुर्सीको आयु बढ़ाउने खेलमा लागेको छ। सत्ता पक्षका प्रवक्ताहरू निर्लज्जतापूर्वक आफ्ना सरकारी योजनाहरू नबताएर मुख्यमन्त्रीको भाषणको आशय बताएर समय कटनी गरिरहेका छन्‌। संविधान, कानून, विधि-विधान ताकमा राखेर वक्तव्य दिने अनि आशय बताएर जनतालाई मूर्ख सम्झने उनीहरूको सत्तादम्भ प्रजातान्त्रिक हुनसक्दैन’, खरेलले थप आरोप लगाएका छन्, ‘उनीहरू सत्ताको दम्भद्वारा जनताको चेतनशील शक्तिलाई कुचल्ने दुस्साहस गरिरहेका छन्‌। कानून, संविधान, विधि-विधानलाई तोड्ने, भत्काउने अनि आफ्नाहरूलाई चेप्न कानूनलाई नै कुल्चने काम गरियो भनेर संविधान दिवसमा सरकारका मुखियाले सगर्व घोषणा गर्नु भनेको शासन सत्ता सञ्चालनको चरम अराजकता हो।’

सरकारको कार्यशैलीलाई  अगणतान्त्रिक, अप्रजातान्त्रिक र अराजकतापूर्ण क्रियाकलापको संज्ञा दिँदै एसडीएफ पार्टीको तर्फबाट जोरदार रूपमा खण्डन गर्दै सरकारको जनउत्तरदायीहीन, जवाफदेहीनता र उदासीन प्रवृत्तिप्रति खेद प्रकट गर्दै धिक्कार जनाउने पनि उनले थप बताएका छन्।

‘आज सिक्किम बाहिरका शक्तिहरूको खेलौना भएको छ। बाहिरबाट सरकारलाई खुल्ला च्यालेञ्ज आइरहेको छ। रूल 4/4 -को धज्जी उड़ेको छ। हाम्रो माटो सुरक्षित छैन। सरकारी तन्त्रमा व्यापक भाइ-भतिजावाद चलेको छ। व्यक्तिगत फाइदा पुऱ्याउन कानून तोड़िएको छ। मुख्यमन्त्रीले भिजिलेन्स चलाउने, अवकाश दिने, कलम चलाउने, भएन भने अरू पनि चलाउने भनेर मध्यदिनमा धम्किदिने प्रवृत्ति के प्रजातान्त्रिक हो? अनि प्रवक्ताहरूको लाइन लगाएर वक्तव्यको अपव्याख्या गरेर ड्यामेज कण्ट्रोल गर्ने चरित्र फासिस्ट चरित्र हो’, कृष्ण खरेलले एसकेएम सरकारमाथि थप आरोप लगाउँदै विज्ञप्तिमा भनेका छन्,  ‘एक-दुइजना कर्मचारी कामचोर हुनछन्‌ भनेर आफै भन्ने अनि समग्र कर्मचारीको आत्मसम्मान गिराउने काम कदापि जनपक्षीय हुँदैन। जो दोषी छ, भिजिलेन्स लगाऊ अथवा अवकाश देऊ तथा कारबाही गर, त्यो सरकारको निजी फैसला हो। तर, आफ्नो नाकामी छोप्न सरकारी तन्त्रलाई बदनाम गराउने काम कसैले गर्नुहुँदैन र गर्ने अधिकार पनि छैन। त्यसैले हामी जिम्मेवार विपक्षीको हैसियतमा सरकारलाई सचेत गराउनचाहन्छौं, आफ्ना चुनावी घोषणाअनुसारका कार्यक्रम ल्याएर सरकारीतन्त्रलाई पूरा काम दिनुपर्छ। जनताको कल्याणकारी योजना थालेर जनतामा उत्साह पैदा गराउनुपर्छ।‘

सरकार कानून, संविधान, विधिसम्मत् भएर प्रजातान्त्रिक बनिए मात्र कार्यसंस्कृतिको विकास हुने र जनताले राहत र फाइदा पाउने उनले बताएका छन्।

‘फोस्रो बोलेर केही हुँदैन। कामले जनताको मन जित्नुपर्छ। विपक्षमा बसेर मनपरी बोलेको जस्तो गर्दा सरकार चल्दैन। जनजिम्मेवार बन्न सरकारको कार्य संस्कृतिमा परिवर्तन आउनुपर्छ। अनि मात्र परिवर्तनको अर्थ रहनेछ’, एसडीएफ प्रचार- प्रसार मामिला महासचिव कृष्ण खरेलले विज्ञप्तिमा भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here