किशोर प्रधानले सार्वजनिक माफी नमागे क्रामाकपाले अनुशासनात्मक कारबाही गर्ने

0
1011
किशोर प्रधान (फाइल फोटो)

दार्जीलिङ, 21 अप्रेलः किशोर प्रधानले आफ्ना विरोधी बयानहरूका लागि सार्वजनिक रूपमा माग्नुपर्ने क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले बताएको छ। यदि शीघ्रै सार्वजनिक रूपमा माफी नमागे उनीविरुद्ध कठोर अनुशासनात्मक कारबाही गर्ने पनि क्रामाकपाको भनाइ छ।

किशोर प्रधान क्रामाकपाका केन्द्रीय सदस्य हुन्। विधानसभा चुनाउबाट आफ्नो उम्मेदवारिता फिर्ता लिएर भाजपालाई सघाउने क्रामाकपा केन्द्रीय समितिको निर्णयको प्रधानले ठाड़ो विरोध गरेका थिए।

क्रामाकपा अध्यक्ष आर.बी राईका अनुसार आज पार्टीको केन्द्रीय समिति सभामा प्रधानले शीघ्रै माफी माग्नुपर्ने र यदि नमागेको खण्डमा कठोर अनुशासनात्मक कारबाही गर्ने निर्णय गरिएको हो।

क्रामाकपा अध्यक्षका अनुसार किशोर प्रधान पार्टीका एक शीर्ष नेतृत्व हुँदाहुँदै पनि पार्टीको निर्णयविरुद्ध सार्वजनिक रूपमा बयानहरू दिइरहेका थिए। यसैले यी बयानहरूका लागि सार्वजनिक रूपमै उनले माफी माग्नुपर्ने राईको भनाइ छ।

यसका साथै पार्टीले किशोर प्रधानलाई कालेबुङ आञ्चलिक समितिका अध्यक्षलगायत अन्य पदहरूबाट आजै हटाइएको पनि उनले बताएका छन्।

उल्लेखनीय छ, यसपालिको विधानसभा चुनाउको घोषणा भएपछि क्रामाकपाले दार्जीलिङ पहाड़का तीनैवटा विधानसभा आसन क्रमैले दार्जीलिङ, खरसाङ अनि कालेबुङबाट आफ्नो प्रार्थी खड़ा गर्ने घोषणा गरेको थियो, जसमध्ये कालेबुङबाट किशोर प्रधानलाई पार्टीले उम्मेदवार बनाएको थियो। तर, मनोनयन पत्र बुझाउन अघिनै क्रामाकपाले आफ्नो उम्मेदवारिता फिर्ता लिँदै पहाड़का तीनैवटा सिटनमा भाजपालाई सहयोग गर्ने घोषणा गरेको थियो।

पार्टीको यस्तो घोषणा तीखो शब्दमा विरोध गर्दै किशोर प्रधानसँगै कालेबुङ आञ्चलिक समितिका केही पदाधिकारीहरूले पत्रकार सम्मेलन गरेका थिए। उक्त पत्रकार सम्मेलनमा उनीहरूले भाजपालाई भोट नहाल्ने घोषणा गरेका थिए।

त्यतिबेलै किशोर प्रधानहरूले पार्टीको निर्णयको विरोध गर्दै सार्वजनिक रूपमा बयानहरू दिइरहे तापनि उनीहरूविरुद्ध क्रामाकपाले चुनाउ समाप्त नभइञ्जेलसम्म कुनै कारबाहीको निर्णय गरेको थियो। तर आज पार्टीले एक सभाको आयोजन गरी किशोर प्रधानविरुद्ध उल्लिखित निर्णय गरेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here