दार्जीलिङका दोकानहरू खुल्लाः के खुल्ला? के बन्द? जनता अनभिज्ञै!

0
1115
आज दार्जीलिङ चोकबजारमा खुल्ला रहेका लुगा दोकान।

दार्जीलिङ, २१ मईः देशमा चलिरहेको लकडाउऩको ५५औं दिन आज दार्जीलिङ शहरका लुगा दोकानदेखि हार्डवेयर, जुत्ता दोकान साथै भाँड़ा दोकानहरू पनि खोलिए।

यति मात्रै होइन, आज खुल्ला रहेका दोकानहरूमा कस्मेटिक्स, पान दोकानहरू पनि छन्।

तर यसको ठीक विपरीत आज बिहीबार भएका कारण दार्जीलिङ शहरका सब्जी मण्डी पूर्णरूपले बन्द रहेको थियो।

तरै पनि अहिलेसम्म दार्जीलिङ पहाड़का जनता के-के खुल्ला र के-के बन्द हुन् भन्नेबारे अनभिज्ञ नै छन्।

यसबारे आज दार्जीलिङका केही पसलेसँग प्रश्‍न गर्दा केही उत्तर दिन नमाने तापनि ५५ दिनपछि खोलिएको दोकानमा आज प्रायःजसोले केवल सफाइको काम मात्रै गरिएको बताए।

यद्यपि, दार्जीलिङमा आज लुगा, जुत्ता, हार्डवेयर, भाँड़ा आदिका दोकानहरू खुल्ला गरिए पनि ग्राहकहरू उति देखिएन। किनभने, लकडाउनको कारण गत सप्ताहसम्म पनि प्रत्येक बिहीबारको दिन दार्जीलिङ शहरलाई पूर्णरूपले ठप्प बनाउने गरिएको थियो।

तर अन्य दिन दार्जीलिङको चोकबजारस्थित सब्जी मण्डी तथा अन्य केही आवश्यक सामग्रीका दोकानहरू मात्रै खुल्ला हुने गरेको भए पनि बजारमा मानिसहरूको व्यापक भीड़ देखिने गरिएको थियो।

यद्यपिआज शहरका धेरैवटा दोकान खुल्ला गरिए पनि ग्राहकहरूको उत्ति भीड़ देखिएन।

उल्लेखनीय छ, कोरोना सङ्क्रमणको कारण देशमा गत २५ मार्चदेखि लकडाउन चलिरहेको छ।

चौथो चरणको लकडाउनअनुसार, अझै आउँदो ३१ मईसम्म देशमा लकडाउन रहनेछ। तरै पनि केन्द्र सरकारले यसका लागि निर्णय लिन चौथो चरणको लकडाउनमा राज्य सरकारहरूलाई अधिक क्षमता दिएको कारण विभिन्न राज्य सरकारले आ-आफ्नै प्रकारले निर्णय लिएका छन्।

जसअनुसार, २१ मई अर्थात् आजदेखि पश्‍चिम बङ्गाल सरकारले कन्टेनमेन्ट जोन र रेड जोन छोड़ेर अन्य जोनहरूमा धेरै छुट दिने कार्य गरेको छ।

यसैअनुसार, आजदेखि दार्जीलिङ शहरमा पनि धेरैवटा दोकान खुल्ला रहन शुरू भयो। तर आज दार्जीलिङ शहरमा दोकानहरू खुल्ला गर्दा अड र इवनको नियमलाई त्यति ध्यान नदिएको पनि स्पष्ट भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here