कोलकाता, २१ मईः चक्रवाती तूफान अम्फानका कारण बङ्गालमा अहिलेसम्म ७२ जना ज्यान गएको छ। यसको जानकारी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज दिएकी हुन्।
अम्फानले राज्यको गरेको विनाशलाई लिएर उनले राज्य सचिवालय नवान्नमा पत्रकारहरूलाई सम्बोधन गर्दै यस्तो जानकारी गराएकी हुन्।
उल्लेखनीय छ, अम्फानले बङ्गालमा ठूलो विनाश गरेको छ।
“यस्तो आपदा यसभन्दा अघि मैले कहिले देखेको थिइनँ”, ममताले भनिन्। यसका साथै मुख्यमन्त्रीले यस चक्रवाती तूफानले राज्यमा गरेको विनाशको स्थिति बुझ्नका लागि प्रधानमन्त्रीलाई बङ्गालको भ्रमण गरिदिने अनुरोध गरेकी छन्।
यसैगरी उनले अम्फानका कारण ज्यान गुमाउने मानिसहरूलाई परिवारलाई अढ़ाई लाख रुपियाँ सहयोग राशि दिने घोषणा गरेकी छन्।
बुधवार अम्फान बङ्गालमा प्रवेश गरेलगत्तै ध्वंस गर्न शुरू गरेको थियो। यस चक्रवाती तूफानले बङ्गालका तटीय क्षेत्रमा जहींतहीं व्यापक क्षति पुऱ्याएको देख्न सकिन्छ।
अम्फानका कारण हजारौं रूख र कच्चा घरसँग सँगै कोलकातासमेत धेरै क्षेत्रमा पुराना पक्की घरहरू पनि क्षतिग्रस्त भएका छन्।
बिजुलीका खम्बा, ल्याम्पपोस्ट, टेलिफोनको टावर, ट्राफिक सिग्नल यत्रतत्र लड़नका साथै नदीहरूका बाँधहरू पनि क्षतिग्रस्त भएका छन्।
अर्कोतिर अम्फानलाई लिएर गठित टास्क फोर्सको बैठक डाकिएको छ, जुन बैठकमा यसले पुऱ्याएको क्षति र तत्काल मानिसहरूसम्म राहत पुऱ्याउन र सम्पर्क स्थापित गर्नका लागि आवश्यक कदमबारे चर्चा गरिनेछ।अम्फानले राज्यमा एक लाख करोड़भन्दा अधिकको क्षति भएको बताइएको छ।