सिलगढ़ी, २१ मईः सिलगढ़ीको मतिगढ़ानिवासी एक ३२ वर्षीय युवक पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। यसपछि तत्कालै उनलाई मतिगढ़ाको हिमाचल विहारस्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा भर्ना गरिएको छ।
युवकको घर मतिगढ़ास्थित पतिरामजोत रहेको बताइएको छ।
प्राप्त जानकारीका अनुसार १६ मईका दिन असम गुवाहाटी गएका ती युवकको स्वाब टेस्ट गुवाहाटीमै गरिएको थियो। यद्यपि स्वाब टेस्टको रिपोर्ट आउनअघि नै उनी १८ मईका दिन असमबाट आफ्नो घर मतिगढ़ा फर्किआएका थिए।
यी युवकको टेस्ट पोजिटिभ आएपछि असम सरकारले पश्चिम बङ्गाल सरकारलाई सूचित गरेलगत्तै दार्जीलिङ जिल्ला प्रशासनले तत्कालै तत्परता देखाउँदै प्रशासनले आजै बेलुकी युवकलाई डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा भर्ना गरेको छ।
जानकारीका अनुसार यी युवकमा यद्यपि कोरोना भाइरसका कुनै लक्षण देखिएको थिएन।
आजै बेलुकी युवकका परिवारका सदस्यहरूलाई पनि क्वारेन्टिन पठाइएको बताइएको छ।
अर्कोतिर, असमबाट फर्केपछि यो तीन दिनभित्र यी युवकको सम्पर्कमा को को आएका थिए भन्ने कुराको छानबिनमा प्रशासन जुटेको छ।
उल्लेखनीय छ, केही दिनयता सिलगढ़ी शहरीय क्षेत्रमा एकपछि अर्को कोरोना सङ्क्रमणको मामिला प्रकाशमा आइरहेको छ। अहिलेसम्म सिलगढ़ीको शहरीय क्षेत्रमा चारजना कोरोना सङ्क्रमित भइसकेका छन्।
यसभन्दा अघि सिलगढ़ी नगरनिगमका ६ र २७ नम्बर वार्डस्थित क्रमैले डाँगीपाड़ा र बाबुपाड़ानिवासी एक-एक व्यक्ति कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो।
त्यसपछि भोलिपल्ट अर्थात् १९ मईका दिन डाँगीपाड़ानिवासी कोरोना सङ्क्रमित फल विक्रेताका १० वर्षीय छोरा पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो।उनीहरू सबै अहिले डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा उपचाराधीन छन्।
जनसंवाद सदैव जनगणको हितार्थ सहित खबर जनगणसम्म पस्किन सक्षम र सफल हुँदैछ।बधाई छ।