एसडीएफ टोलीद्वारा राज्यपालसँग भेटवार्ता, सिक्किममा प्रजातन्त्रको हत्या भएको छः चामलिङ

0
1046

“सिक्किममा कानून-व्यवस्था पूर्ण रूपमा भङ्ग भएको छ, प्रजातन्त्रको हत्या भएको छ। सिक्किममा देशको संविधानअनुसार कुनै काम भएको छैन। सिक्किममा प्रेसको स्वाधीनता छैन, जनताको जन्मसिद्ध अधिकारको सुरक्षा छैन। संविधानको धारा 19 सिक्किममा लागु छैन जस्तो स्थिति आएको छ। सिक्किममा कसैले पनि आफ्नो कुरा भन्न सक्दैनन्, कुनै कुरा सामाजिक सञ्जाल, समाचार-पत्र वा सार्वजनिक रूपमा भन्न वा लेख्न नसकिने अवस्था आएको छ। पुलिसले पक्राउ गर्छ, कुनै धाराबिना लगेर थुन्छ। सिक्किममा यस खालको ज्यादती भइरहेको छ, पुलिस राज चलिरहेको छ, कानून-व्यवस्था पूर्ण रूपमा भङ्ग भएको छ।“

राज्यको प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) -को एउटा उच्च स्तरीय प्रतिनिधिमण्डलले पार्टी अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा आज राजभवनमा राज्यपाल गङ्गा प्रसादलाई भेटेर राज्यको ताजा स्थितिबारे जानकारी गराउँदै उक्त कुराहरू राखेको छ।

अध्यक्ष चामलिङले राज्यपालसित भेट गरेर फर्केपछि इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा  मिडियासित कुराकानी गर्दै राज्यपालसँग भएका कुराकानीबारे विस्तृत जानकारी गराए।

चामलिङले भने, “एसडीएफ पार्टीको पक्षबाट, एउटा जिम्मेवार विपक्षीको तर्फबाट राज्यपाललाई भेटेर एउटा याद्दाश्त पत्र चढ़ाएका छौं। यसको उद्देश्य आज सिक्किम के भएको छ, जनताको अवस्था के भएको छ, त्यसबारे महामहिम राज्यपाललाई सत्थतथ्य अवगत गराउनु रहेको थियो। हामीले राज्यपाल महोदयलाई सबै जानकारी दिएर आएका छौं र राज्यपाल महोदयले पनि हाम्रो कुरालाई गम्भीरतासित सुन्नुभएको छ। हामीले सत्यतथ्य राज्यपालको संज्ञानमा पुऱ्याएका छौं। उहाँले सबै विषयमा गम्भीरतापूर्वक विचार गरेर हामी सबैले मिलेर सिक्किमे जनताको लागि काम गर्नुपर्नेछ, सरकारहरू आउँछ-जान्छ तर सिक्किम र सिक्किमे जनता सुरक्षित रहनुपर्छ भनी बताउनुभएको छ। त्यसबाट हामीले सङ्केत पायौं – राज्यपाल सिक्किमको वर्तमान वस्तुस्थितिसँग राम्ररी अवगत हुनुहुन्छ। त्यो हाम्रो लागि, सिक्किमे जनताको लागि एकदमै सकारात्मक सन्देश हो।’’

उनले अझ भने, ‘‘यो सरकार गठन भएको 13 महीना भइसकेको छ। यो अन्तरालमा कसरी काम गरेको छ, चुनाउमा कस्तो वाचा दिएको थियो र चुनाउपछि आएर जनतालाई कस्तो चरित्र देखाएको छ, त्यसबारे सिक्किमे जनता स्पष्ट भइसकेका छन्। सरकारको भनाइ र गराइ मिल्दैन भन्ने जनताले चाल पाइसकेका छन्। यसबारेमा राज्यपालसित चर्चा भएको छ।’’

एसडीएफ अध्यक्ष चामलिङले भने, “चुनाउको समयमा जुन घटना भयो र चुनाउ सकेर सरकार बनेपछि जुन प्रकारले तोड़फोड़ र हिंसाहरू, कुटपीट भयो, जनताको घर-गाड़ी भत्काउने, ढुङ्गा हान्ने, तर्साउनेजस्ता जम्मै गैर-कानुनी र अप्रजातान्त्रिक कामहरू भएका छन्। त्यसमाथि जनता, पीड़ित अनि एसडीएफ पार्टीले विभिन्न थानामा एफआईआर दर्ता गरेका थियौं, त्यसमाथि एउटै सुनवाई आजसम्म भएको छैन, जाँच भएको छैन। हामीले यसबारे पनि राज्यपाल महोदयलाई अवगत गराएका छौं। त्यति मात्र होइन, सरकार बन्नासाथै एकजना मन्त्री सञ्जीत खरेलले रिनाक बजारमा भाषण गर्दै दुइ महीनाभित्र पवन चामलिङलाई शेष गरिदिन्छौं भनेका थिए। शेष गरिदिन्छौं भनेको मार्छौं, हत्या गर्छौं भनेको हो। त्यसमाथि एसडीएफले एफआईआर गरेको छ तर अहिलेसम्म कुनै जाँच भएको छैन, पुलिस कारबाही भएको छैन। त्यसपछि उप-चुनाउमा पोकलोक-कामराङमा चुनाउ प्रचारको क्रममा पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्षको वाहनमा ढुङ्गा बर्साइयो, तोड़फोड़ गरियो, 20 वटा गाड़ीहरू क्षतिग्रस्त पारियो, धेरै घाइते भए, अस्पतालमा भर्नासम्म हुनुपऱ्यो। यस विषयमा पनि थुप्रै एफआईआरहरू दर्ता गरियो। तर कुनै पनि एफआईआरमाथि कार्वाही भएको छैन, अपराधीहरूको पक्राउ गरिएको छैन। हामीले आज यस विषयमा पनि राज्यपाललाई ध्यानाकर्षण गराएका छौं।’’

राज्यमा भइरहेका आपराधिक घटनाहरूबारे थप जानकारी गराउँदै पूर्व मुख्यमन्त्री पवन चामलिङले मिडियासित भने, ‘‘भर्खरै एसडीएफका प्रवक्ता एवं अनुसूचित समुदायका नेता जे.बी. दर्नालमाथि दिउँसै प्राणघातक आक्रमण भयो, उनी पाँच दिन अस्पतालमा भर्ना हुनुपऱ्यो। भगवानको कृपा र जनताको आशिर्वादले उनको ज्यान बाँच्यो। त्यसमाथि पनि एफआईआर गरेको भए पनि पुलिसको तर्फबाट कुनै एक्सन भएको छैन। एसकेएमका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनैतिक सल्लाहकारले प्रेसमा एउटा बयान दिएका छन्, जसमा भनिएको छ – एसडीएफले नै उनलाई कुटेको हो भनेर। यदि त्यो काण्ड एसडीएफले गरेको हो भने सरकार उनीहरूको हातमा छ, पुलिस उनीहरूको हातमा छ। पुलिसले अपराधीलाई किन पक्रिँदैन त? यो काम एसडीएफको होइन, यो काम एसकेकेमको हो। कसले कुटेको, कसले कुट्नु लगाएको हो त्यो एसकेएम प्रवक्तालाई थाहा छ।’’

चामलिङले आरोप लगाउँदै भने, ‘‘सरकारले सिक्किममा यसरी नै अपराधीकरणलाई बढ़ावा दिँदै जाने हो भने सिक्किममा पूर्वोत्तरका कतिपय राज्यहरूजस्तो आतङ्कवाद आउन बेर छैन। एसकेएम सरकार आएपछि सिक्किममा राजनैतिक आतङ्कवाद आएको छ।  सिक्किममा कोही पनि सुरक्षित छैन। सिक्किममा प्रजातन्त्रको हत्या भएको छ।’’

एसकेएम सरकारलाई सिक्किमे जनताको जनादेश प्राप्त भएको सरकार बताउँदै यस सरकारबारे नकारात्मक आलोचना गरेर जनमतको अपमान आफूलाई गर्नु छैन भन्दै चामलिङले भने, ‘‘सरकारलाई हाम्रो सकारात्मक र रचनात्मक समर्थन रहेको छ तर गत 40 वर्षदेखि सिक्किम विधानसभाको सदस्य रहेको सिक्किमका वरिष्ठ नेतालाई जुन प्रकारले विधानसभामा अपमान गरियो, त्यसले प्रमाणित गर्छ सिक्किममा प्रजातन्त्र मरेको छ। सिक्किम विधानसभामा बोल्न दिइँदैन, बोल्न थालेपछि सत्तापक्षका सबै विधायकहरू उठेर गालीगलौज गर्नथाल्छन्, विधानसभाभित्र प्रजातन्त्र छैन। विधानसभा र संसदलाई सबैभन्दा उच्च क्लब भनिन्छ तर त्यहाँ जनप्रतिनिधिले आवाज उठाउँदा सबैल धुरिएर उसको आवाज दबाउँछ। यसैले आज सदनभित्र होस् वा बाहिर, सिक्किममा प्रजातन्त्र मरेको छ।’’

चामलिङले गत 4 फरवरी, 2020 –को दिन राज्यका वर्तमान मुख्यमन्त्रीले रम्फूको मैदानमा पार्टीको वर्षगाँठको अवसरमा दिएको सम्भाषणलाई स्मरण गर्दै त्यहाँ उनले सिक्किमका सबैलाई बद्ला लिन्छु, विपक्षीलाई बद्ला लिन्छु भनेर घोषणा गरेको याद दिलाए।

उनै मुख्यमन्त्रीले सरकार बनाउनासाथ आफूलाई नेल्सन मण्डेला घोषित गरेको कुराको पनि स्मरण दिलाए।

‘‘आफूलाई नेल्सन मण्डेला घोषणा गर्नेले नेल्सन मण्डेलाको जीवन, सङ्घर्ष, त्याग, विचार र योगदानको पनि अध्ययन गर्नुपर्नेछ’’, उनले भने।

संसारमा एकसा एक तानाशाहहरू आए पनि कसैले पनि सरकारमा पुगेर विपक्षीलाई, विरोधीलाई बद्ला लिन्छु भनेर नभनेको बताउँदै चामलिङले वर्तमान मुख्यमन्त्रीले संसारमै रेकर्ड कायम गरेको बताए।

सरकारले कोरोनाको महामारी चलिरहेको बेला पनि धेरै सङ्ख्यामा कर्मचारीहरूलाई ट्रान्सफर गरेर अमानवीय काम गर्नका साथै भारत सरकार, विश्व स्वास्थ्य सङ्गठनका निर्देशहरूको ठाड़ो उल्लङ्घन गरेको आरोप लगाए। उनले यो आदेश कोरोना महामारी समाप्त नभइञ्जेल फिर्ता लिने माग गरे।

भारत-चीनबीच हाल सीमामा तनाउ उत्पन्न भइरहेको परिप्रेक्ष्यमा चामलिङले सिक्किमेली जनताली शान्त, धैर्यशील भएर बस्न तथा नआत्तिन आग्रह गरेका छन्।

यो तनाउले सिक्किमवासीलाई दुखेको छ, एसडीएफलाई दुखेको छ भन्दै सिक्किमे जनता, एसडीएफ पार्टी भारत सरकारको साथमा, भारतीय जनताको साथमा रहेको छ भनी बताए।

एसडीएफ अध्यक्ष पवन चामलिङको नेतृत्वमा शनिवार राज्यपाललाई भेट्न भएको प्रतिनिधि टोलीमा के.टी. ग्याल्छेन,  डी.बी. थापा, एम.के. सुब्बा, आचार्य छिरिङ लामा, आर. ओङ्मु र मनिता प्रधान सामेल थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here