–करुणा राई
मेरो मनको कोठामा
सधै बस्ने बस्ने
मेरो अगेनादेखि
आँगनसम्म तिमी
मेरो इष्टमित्र, देवदेउता रिझाइदिने
छोरा-छोरी अनि मेरो सुसारे तिमी
मेरी श्रीमती तिमी।
म थाकेर घर आउँदा
हाँसेर ढोकामा स्वागत गर्ने
आफ्नो थकान भुलेर
नुनैको भए पनि चिया टक्राउने तिमी
तिम्रो चोखो मुस्कानमा
मेरो घर सधैँ उज्यालो पार्ने
तिमी मेरी श्रीमती।
म टन्न मातेर आएको बेला
किञ्चित दिक्क नमानी
मलाई सङ्गाल्ने तिमी
मेरा कटुवचनहरूलाई
चुपचाप चुपचाप आँसुसँगै पिइदिने
मेरी श्रीमती तिमी।
तिम्रा रूप अनेक
आमाजस्ती ममतामयी सधैँ बनिदिन्छौं
दिदीजस्ती मायावती कहिले
कहिले सानी छोरीजस्ती मायालु तिमी
मेरी श्रीमती तिमी।
(दार्जीलिङ)