दार्जीलिङ, 21 जूनः राज्यपाल जगदीप धनखड़ आज उत्तर बङ्गालको एक हप्ता भ्रमणमा आउँदैछन्।
ट्वीटमार्फत् स्वयं राज्यपालको तर्फबाट यसबारे जानकारी गराइएको छ।
ट्वीटका अनुसार आज अपराह्न 1.40 बजे उनी बाघडुग्रा हवाईअड्डा आइपुग्नेछन्।
बाघडुग्रा हवाइअड्डामा राज्यपालले पत्रकारहरूलाई संक्षिप्तमा सम्बोधन गरेपछि सोझै दार्जीलिङतर्फ प्रस्थान गर्नेछन्। दार्जीलिङ जाने क्रममा उनी खरसाङमा पनि बस्ने ट्वीटमा जनाइएको छ।
राज्यपालको उत्तर बङ्गाल भ्रमणको स्पष्ट कारण खुलाइएको छैन।
उल्लेखनीय छ, बङ्गालमा चुनावी हिंसाका आरोपहरूबिच राज्यपालले केही दिनअघि दुईपटक केन्द्रीय गृह मन्त्री अमित शाहसँग भेट गरेका थिए।
हिजै मात्र सुवेन्दु अधिकारीले राज्यपालसँग भेट गरी राज्यमा मानव अधिकारको उल्लङ्घन र चुनाउपछि कथित् हिंसालाई रोक्नका लागि हस्तक्षेपको माग गरेका थिए।