दार्जीलिङ, २१ जूनः चर्चित गीत काट बरू मलाई…एकपटक आमा भन्न देऊ.. गीतका रचयिता कवि/गीतकार देव खम्बु उर्फ गगण राई (४५)-को निधन भएको छ।
जानकारीका अनुसार हिजो मध्यराति करिब १२.३० बजे दार्जीलिङ जिल्ला अस्पतालमा उनको निधन भएको हो। उनी केही दिनअघि कोरोना सङ्क्रमित बनेका थिए।
गगण राईको ‘कारागारमा संवेदना (कविता सङ्ग्रह) प्रकाशित प्रकाशित छन्। यसका साथै उनले धेरै गीत लेखेका छन्। बलेको आगो थाप्नेहरूलाई भुप्रोमा आगोका झिल्काहरू.. भन्ने गीत पनि उनले नै लेखेका हुन्।
२०१७-को गोर्खाल्यान्ड आन्दोलनमा राई विस्थापित बनेका उनी विमल गुरुङका अत्यन्त निकटका थिए। २०१७ पछि उनी राजनीतिमा सक्रिय बनेका थिए।
उनको निधनमा विमल गुरुङले गहिरो शोक प्रकट गरेका छन्। उनले भनेका छन् -मान्छेको जीवन आज छ कि भोलि भन्ने जान्दा जान्दै पनि अति आत्मीय सहयात्रीहरू गुमाउनु पर्दा जुन आघात सहन पर्छ, त्यो अति वेदनादायक हुँदोरहेछ भन्ने अनुभूति गर्न पऱ्यो। मेरा अतिघनिष्ठ अतिप्रिय भाइ देव खम्बुको आकस्मिक निधनले म अत्यन्तै दुखित बनेको छु। मेरा हरेक दुःख-सुखमा साथ दिने भाइको निधन मेरा लागि मात्र नभएर पार्टी र जातिका लागि अपूरणीय क्षति हो। उनले पार्टी र जातिका लागि गरेका हरेक कार्यहरू हामी सदैव याद राख्नेछौँ।
यस्तो दु:खद घडीमा पार्टी पक्षबाट म भाइको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु। वहाँको आत्माले दिव्य शान्ति प्राप्त गरून्।‘