
दार्जीलिङ, २१ जुलाईः गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङको नाममा पैसा ठगेको आरोपमा सिलगढ़ी साइबर क्राइम र डिटेक्टिव विभागले कालेबुङ निवासी दुई युवकलाई पक्राउ गरेको छ।
साइबर क्राइम सूत्रले दिएको जानकारीका अनुसार, गत ८ जुलाईका दिन सिलगढ़ीको डागापुरस्थित इण्डियन इन्स्टिट्युट अव् लिगल स्टडिजका प्रिन्सिपल सञ्जय भट्टाचार्यलाई एउटा फोन कल आएको थियो। सञ्जयलाई फोन गर्ने व्यक्तिले आफू गोजमुमो अध्यक्ष विमल गुरुङको पीए हुन् भन्ने बताएका थिए अनि त्यसै समय उक्त व्यक्तिले सञ्जय भट्टाचार्यलाई पार्टी फण्डको रूपमा १ लाख रुपियाँको माग गरेका थिए। त्यस समय इन्स्टिट्युटका मालिक जयजीत चौधरीसित पनि विमल गुरुङका तथाकथित पीएले फोनमा कुरा गरेका थिए। त्यसको भोलिपल्ट अर्थात ९ जुलाईका दिन सञ्जय मुखर्जीले एनएफटीमार्फत १ लाख रुपियाँ उक्त फोन गर्ने व्यक्तिले दिएको एकाउन्ट नम्बरमा ट्रान्सफर गरिदिए। तर सञ्जय मुखर्जीलाई पैसा माग्ने क्रम यतिमा नै रोकिएन।
१० जुलाईका दिन फेरि सञ्जयलाई फोन गरी थप २ लाख रुपियाँको माग गरियो। त्यसपछि भने सञ्जयलाई केही शङ्का भयो। यसैकारण उनले १२ जुलाईका दिन सिलगढ़ी साइबर क्राइममा एक उजुरी दर्ता गरेपछि साइबर क्राइम र डिटेक्टिव विभागले जाँच शुरू गरेका थिए।
यसै जाँचको क्रममा तीन सदस्यीय जाँच टोलीले सोमबार यी दुईलाई कालेबुङबाट पक्राउ गरेको हो, जसमध्ये एकजना कालेबुङको ठाकुरबाड़ीनिवासी ३३ वर्षे युवक हुन् भने दोस्रो कालेबुङकै टाशीडिङ ३ माइलनिवासी ४० वर्षीय युवक हुन्।
यीमध्ये एकजनाका दाजु पनि यस घटनामा सामेल रहेको आरोप छ, तर उक्त युवक अहिले बेपत्ता बनिरहेका छन्।
विभागीय सूत्रबाट प्राप्त भएको जानकारीका अनुसार, यी युवकहरू २०१४-मा पनि यस्तै घटनामा लिप्त रहेको आरोपमा पक्रा परेका थिए।
त्यस समय सेना र माविस्ट गोरिल्लाको नाममा सिलगढ़ीका धेरै व्यवसायीहरूबाट पैसा ठगेका थिए भने उनीहरूले त्यस समय पनि विमल गुरुङ, रोशन गिरी साथै तत्कालीन दार्जीलिङका विधायक त्रिलोक कुमार देवानको नाममा पनि पैसा उठाएको आरोप छ।
यसैबिच पक्राउ गरिएका दुवै युवकविरुद्ध कठोर कारबाही गर्नुपर्ने माग विमल गुरुङले गरेका छन्।
“मैले शुरुदेखि नै भन्दै आइरहेको छु- मेरो र पार्टीको अथवा अरू कसैको पनि नाम गरेर पैसा ठग्नेहरूलाई पुलिस प्रशासनले पक्राउ गरी कठोर सजाय दिनुपर्छ; किनभने यसरी पैसा ठग्नु ठीक होइन”, विमलले थपे, “पक्रा परेका यी युवकहरूले पहिलादेखि नै यसरी नै पैसा ठग्दै आइरहेका छन्। कहिले मेरो नाममा त कहिले रोशन गिरीको नाम र कहिले अरूकै नाममा। यस्ता युवकहरूलाई पुलिस प्रशासनले कठोर सजाय दिनुपर्छ।”
गुरुङका अनुसार पैसा ठग्नेहरू ती युवकद्वय न त उनका पीए नै हुन् न त उनीहरू गोर्खा जनमुक्ति मोर्चाकै कार्यकर्ता हुन्।


