चक्रपाणि भट्टराईले दिए एसआरपीबाट राजीनामा

0
882

गान्तोक, 21 जुलाईः सिक्किम रिपब्लिकन पार्टी (एसआरपी)-का कार्यकारी अध्यक्ष चक्रपाणि भट्टराईले आज (बुधबार) राजीनामा दिए।

उनले पार्टीमा कार्यकारी अध्यक्षका पद तथा प्राथमिक सदस्यता दुवैबाट राजीनामा दिएका छन्।

घरेलु तथा सामाजिक कार्यमा व्यस्त रहनुपर्दा आफूले पार्टीबाट राजीनामा दिएको उनले आज पत्रकार सम्मेलनमा जानकारी गराए।

यस अवसरमा उनले केही समय अघिदेखि नै आफू पार्टीका कार्यक्रमहरूमा निष्क्रिय रहेको पनि स्वीकार गरे।

भट्टराई 27 फरवरी 2017 देखि यस पार्टीमा जोड़िएका थिए।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चक्रपाणि भट्टराईले 1947 र 1973 को आन्दोलन पछि सिक्किममा सबैलाई समेटेर राजनीति गर्ने पार्टी र नेता नरहेको बताए।

अहिलेका राजनीतिक आन्दोलन जातविशेष आधारित हुने गरेका र कसैले पनि ‘सिक्किमे’ एक हुने आन्दोलन नगरेका कारण नै राज्यका धेरै राजनीतिक मुद्दा सामाधान हुन नसकेको बताए।

आफू कार्यकारी अध्यक्ष रहेको सिक्किम रिपब्लिकन पार्टीमा पनि समग्र हितको अभाव देखिएको र यसबारे आन्तरिक चर्चा गर्दा सुनवाइ नभएका कारण पनि आफूले पार्टीबाट राजीनामा दिएको उनले स्पष्ट पारे।

सिक्किम भारतमा विलय भएयता सबै आन्दोलन जातिविशेषमा केन्द्रित रहेका कारण नै राज्यमा लिम्बू-तामाङको सीट आरक्षण, 12 जातिको जनजाति मुद्दा समाधान हुन नसकेको भट्टराईको दावी छ।

राज्यमा जनता माझको अनेकताको बीजारोपण ‘अदूरदर्शी’ नेताहरूका कारण भएको उनले आरोप लगाए।

सिक्किमे जनतामाझको ‘अनेकता’ ले कसैलाई पनि भलो हुनेछैन् भन्ने उनको ठम्याइ छ।

वर्तमान सिक्किममा सत्तामा पुग्नेसम्मको मात्र राजनीति भइरहेको छ भन्दै उनले यस्तो राजनीतिले जन आकाँक्षा कहिलै पनि पूरा गर्न नसक्ने पनि चक्रपाणि भट्टराईले बताए।

सिक्किमेली जनताले विकास र सहुलियतका लागि आन्दोलन अहिलेसम्म नगरेका सथै अरूको भाग खोस्ने पनि आन्दोलन नगरेर केवल आफूले पाउने हक-अधिकारका मात्र आन्दोलन गरेका भए पनि राजनीतिक पार्टीहरूले जनताका मुद्दालाई हाइज्याक गरेर त्यसलाई जातविशेषका मुद्दा बनाइदिएकाले असली मुद्दा हराएर जाने गरेको भट्टराईले बताए।

सिक्किमको राजनीति सत्तासम्म मात्र सीमित रहेको र जनताका मुद्दा भने सधैँ राजनीतिक जाँतोमा पिसिने गरेको दाबी गर्दै उनले सिक्किमेलाई समान न्याय दिएर एक बनाउनसक्ने इच्छा शक्ति भएका नेता र पार्टीलाई समर्थन गर्नुपर्छ भन्ने आग्रह पनि गरे।

यसका साथै उनले सिक्किमका ‘कलम वीर’ हरूलाई सिक्किमे एक हुने कुरा लेख्न पनि आग्रह गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here