बाघडुग्रामा भानुभक्तको सालिक अनावरण, पानीघट्टा मोड अब भानु चोक हुने

0
1721

सिलगढ़ी, 20 अगस्त :  अप्पर बाघडुग्रास्थित पानीघट्टा मोड़मा आदिकवि भानुभक्त आचार्यको सालिक स्थापित गरिएको छ। मङ्गलवार नेपाली भाषा मान्यता दिवसको अवसरमा  नक्सलबारी-मतिगढ़ा क्षेत्रका विधायक एवं प्रदेश कङ्ग्रेस नेता शङ्कर मालाकारले भानुभक्तको सालिकको अनावरण गरे। यसका साथै अब भानुभक्त सालिक रहेको स्थानलाई भानु चोकको रूपमा नामाकरण गरिनेछ। यसका लागि भोलिदेखि नै आवश्यक प्रक्रिया शुरु गर्ने जानकारी गराइएको छ।

यसका लागि विधायक शङ्कर मालाकारले पानीघट्टा मोडको नाम परिवर्तन गरी अब भानुभक्त चोक बनाउने स्थानीय ग्राम पञ्चायत कञ्चन कुशवालाई सुझाएका छन्। साथै विधायक कोषबाट क्षेत्रको प्रतिमा र सुन्दरीकरणका लागि सिमेन्टको छत हाल्न दुई लाख रुपियाँ दिने घोषणा पनि उनले गरे।

उल्लेखनीय छ, अप्पर बाघडुग्रामा भानुभक्तको सालिक स्थापनाका लागि स्थानीय ग्राम पञ्चायत र प्रधान कञ्चन कुशवालगायत सञ्जय महतोको भूमिका महत्त्वपूर्ण छ। उनीहरूकै सक्रिय पहलमा भानुभक्तको सालिक स्थापना सम्भव बनेको हो।

यससम्बन्धमा बोल्दै कञ्चन कुशवाले भने, “बाघडुग्राका मानिसहरूले आफ्नै क्षमतामा प्रतिवर्ष भानु जयन्ती मनाउँदै आएका छन्। यद्यपि यी महान् कविको सालिक स्थापनाबारे कसैले सोचेका थिएनन्। हामीले यसबारे पहल गऱ्यौं। र, छोटो समयभित्रै यो महत् कार्यलाई पूरा गर्न सफल पनि भयौं।”

साथै निकट दिनमा नै अप्पर बाघडुग्रा ग्राम पञ्चायत परिसरमा महात्मा गान्धीको सालिक पनि अनावरण गरिनेछ। एक प्रश्नको उत्तरमा पानीघट्टा मोडलाई भानुभक्त चोकको रूपमा नाम परिवर्तन गर्ने प्रक्रिया भोलि अर्थात् 21 अगस्तदेखि शुरु हुने बताएका छन्।

यसअवसरमा आज स्थानीय मानिसहरूको बाक्लो उपस्थिति थियो। स्थानीय निवासी एवं सामाजिक कार्यकर्ता चन्द्र कार्कीले आजको दिनलाई गोर्खा जातिका लागि ऐतिहासिक दिन बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here