कोरोना सङ्क्रमित वृद्धाको मृत्युः लापरबाहीको आरोप र कोभिड नियमको उल्लङ्घन

0
1005

कालेबुङ, 21 अगस्तः कोरोनाको टेस्ट रिपोर्ट पर्खिनको सट्टा रिपोर्ट नआइकनै कालेबुङ जिल्ला अस्पताल प्रशासनले परिवारपक्षलाई किन शव सुम्पियो भन्ने प्रश्न अहिले टिस्टावासीले गरिरहेका छन्।

टिस्टावासीको यस्तो प्रश्नको पछिल्तिर कालेबुङ जिल्ला अस्पतालले देखाएको लापरवाही छर्लङ्ग छ। किनभने यदि कुनै बिरामीको कोरोनाको टेस्ट रिपोर्ट आउनअघि मृत्यु भएको खण्डमा शवलाई टेस्ट रिपोर्ट नआएसम्म अस्पतालमै राखिने गरिन्छ।

नेगिटिभ रिपोर्ट आएमा शव परिवारलाई सुम्पिइन्छ, पोजिटिभ आएको खण्डमा कोभिड नियमअनुसार सरकारीपक्षबाटै दाह संस्कार गरिन्छ। तर कालेबुङ जिल्ला अस्पतालले यस्तो नगरेको आरोप छ।

घटना के हो भने पछिल्लो 16 अगस्तका दिन पखाला लागेका कारण उपचारहेतु टिस्टाबजारनिवासी 73 वर्षीय वृद्धा कालेबुङ जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्।

जानकारीका अनुसार उनको 17 अगस्तका दिन कोरोना टेस्टका लागि स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि पठाइएको थियो। तर रिपोर्ट आउनअघि नै 19 अगस्तको बिहानै उपचाररत् अवस्थामा वृद्धाको मृत्यु भयो। त्यसैदिन बिहान अस्पतालपक्षले मृतकका परिवारलाई शव सुम्पिने कार्य गऱ्यो। परिवारपक्षले शवलाई घर ल्याएपछि भोलिपल्ट अर्थात् 20 अगस्तका दिन अन्तिम संस्कार पनि गरियो। भनिँदैछ, अन्तिम संस्कारमा धेरै गाउँले जुटेका थिए। तर यसैबीच, शव अन्तिम संस्कार गरिसकिएपछि केही घण्टापछि हिजै अपराह्न ती वृद्धाको कोरोना टेस्ट पोजिटिभ आएको खबर केही डिटिजल मीडिया र सोशल मीडियामा भाइरल बन्यो।

वृद्धाको रिपोर्ट पोजिटिभ आएको  कुरालाई अस्पताल सुपरको पद सम्हालिरहेका डा. पी. विश्वासले पनि हिजै पुष्टि गरिसकेका छन्। यद्यपि वृद्धाको कोरोना टेस्ट पोजिटिभ आएको कुरा परिवारपक्ष र गाउँवासीलाई तत्कालै सरकारीपक्षबाट जानकारी नगराइएको टिस्टावासीहरूको भनाइ छ। यति ठूलो लापरवाही प्रशासनपक्षबाट कसरी भयो भन्ने उनीहरूको प्रश्न छ।

स्थानीयवासी एवं जाप युवा एकाइका नेता विशाल राईका अनुसार वृद्धालाई कालेबुङ अस्पतालमा भर्ना गरिएकै दिन परिवारले रेपिड एण्टिजेन टेस्ट गरिदिने अनुरोध गरेका थिए, तर टेस्ट किट्स अस्पतालमा नरहेको बताइएको थियो। “कालेबुङ जिल्ला अस्पतालमा रेपिड एण्टिजेन टेस्ट किट्स नहुनु कति ठूलो लापरवाही हो”, राईले प्रश्न गरेका छन्, ‘‘स्वाब टेस्टको रिपोर्ट नआइकनै शव हतार हतार के कारण परिवारलाई सुम्पिने कार्य गऱ्यो? किन टेस्ट रिपोर्ट पर्खिनु आवश्यक ठानेन?’’

यस्तै प्रश्न स्थानीयवासी एवं क्रामाकपा नेता किशोर प्रधानले पनि गरेका छन्। उनले त यस लापरवाहीमा जिम्मेवारी रहेका अधिकारीविरुद्ध कारबाही गर्नुपर्ने माग गरेका छन्।

वृद्धाको टेस्ट रिपोर्ट पोजिटिभ आएपछि अस्पतालको फिमेल वार्डलाई हिजैदेखि केही दिनका लागि बन्द गरिएको छ। फिमेल वार्डमा रहेका अन्य बिरामीहरूलाई क्याबिनमा सारिएको छ। वृद्धाको उपचारको क्रममा सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरूलाई पनि क्वारेण्टाइनमा पठाइएको छ।

विशाल राईले थप भनेका छन्, ‘‘अस्पताल प्रशासनले फिमेल वार्डलाई बन्द गरेर बिरामीहरूलाई क्याबिनमा सार्ने तथा स्वास्थ्यकर्मीहरूलाई क्वारेण्टाइनमा पठाउने कार्य त गऱ्यो, तर परिवारलाई रिपोर्ट पोजिटिभ आएको कुरा बताउने आवश्यकता ठानेन। प्रशासनबाट पनि केही कुरा भनिएन। यो ठूलो लापरवाही हो। जीटीए प्रशासनले यस्तो गम्भीर लापरवाहीको उचित जाँच गर्नुपर्छ।’’

अर्कोतिर प्रशासनिक लापरवाहीका कारण टिस्टामा अहिले जोखिम थपिएको किशोर प्रधानले बताएका छन्। छ। उनका अनुसार घटनापछि स्थानीय मानिसहरू त्रसित बनेका छन्। अस्पतालपक्षबाट जुन गल्ती भएको छ, त्यसको जाँच हुनुपर्ने तथा दोषी अधिकारी कारबाहीमा पर्नुपर्ने उनको भनाइ छ।

“यो अस्पताल पक्षको गल्ती हो”, प्रधानले भनेका छन्। जीटीए बीओएका अध्यक्ष र राज्यका स्वास्थ्य मन्त्रीले यस घटना संज्ञान लिनुपर्ने, उचित जाँच हुनुपर्ने तथा घटनामा जिम्मेवारी अधिकारीविरुद्ध कारबाही गरिनुपर्ने यी क्रामाकपा नेताको माग छ।  

उल्लेखनीय छ, टिस्टा क्षेत्रमा अघिबाटै कोरोना सङ्क्रमणको मामिला प्रकाशमा आइरहेको बेला प्रशासनपक्षबाट यस्तो लापरवाही हुनुले स्थानीय मानिसहरू थप त्रसित बनेका छन्। किनभने यो घटनाले क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिमलाई बढ़ाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here