विवादमा मणिपालः गलत उपचार भएको परिवारको भनाइ, अस्पतालले भन्यो- काँक्रा खाएर मृत्यु भयो

0
1106

गान्तोक, 21 अगस्तः पछिल्लो एक हप्तादेखि निरन्तर विवादमा मुछिँदै आएको मणिपाल अस्पतालमा फेरि अर्को लापरवाहीको घटना प्रकाशमा आएको छ।

अस्पतालबाट आफ्नी पत्नीलाई निको बनाएर लैजाने तयारी गरिरहेकै बेला अचानक पत्नीको मृत्यु भएको पति श्याम प्रधानले बताएका छन्।

पूर्व सिक्किमको जालीपुल निवासी प्रधानले आज पत्रकारहरूलाई बताएअनुसार उनकी पत्नी गीता राईलाई निम्न रक्तचाप भएकाले सोमबार अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले भनेका सबै कुरा सुन्दै आए तापनि अन्त्यमा गलत उपचारका कारण आफ्नो पत्नीको मृत्यु भएको प्रधानले बताएका छन्।

महिलाको मृत्यु हुनअघि नै अस्पतालले उनको स्वास्थ्यमा हठात आएको खराबीबारे स्पष्टीकरण दिए तापनि उनका परिवारले मृत्युको कारण गलत उपचार नै रहेको दाबी गरेका छन्।

अस्पतालले काँक्रा खाएकाले चोक भएको दाबी गरेको थियो। यदि सही उपचार पाउनु हो भने आफ्नी पत्नीले ज्यान गुमाउने थिएनन् भन्दै पति श्याम प्रधानले यसको पूर्ण जिम्मेवार मणिपाल रहेको बताएका छन्।

अस्पतालको चरम लापरवाहीले आफ्ना ससाना नानीहरूले आमा गुमाएको बताउँदै उनले न्यायको गुहार लगाएका छन्। पीडित परिवारले पुलिसमा उजुरी पनि गरिसकेको छ।

अर्कोतिर, यसबारे अस्पताल प्रबन्धनसित कुरा गर्न चाहँदा कोही अघि आउन चाहेनन्।

यद्यपि यसै मामिलामा बिहीबार अस्पताल प्रबन्धनले एक प्रेस विज्ञप्ति जारी गरी मिडियाले गलत खबर दिएको दाबी गरेको थियो। मृतककी सासुले पनि बालककालमै आमा गुमाएका नानीहरूका लागि अस्पताल प्रबन्धनपक्ष र अन्यप्रति गुहार लगाएकी छन्।

उल्लेखनीय छ, पछिल्ला केही दिनयता मणिपाल अस्पतालमाथि लापरवाहीको आरोप लाग्दै आइरहेको छ।

अस्पताल चलाउन नसके सरकारलाई जिम्मा देऊः जेकब खालिङ
मणिपालमा लापरबाहीका कारण लगातार रोगीहरूले ज्यान गुमाइरहेका घटनाहरू प्रकाशमा आएपछि आज मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र विधायक जीटी ढुङ्गेलले विभागीय अधिकारीहरूका साथ  मणिपालका प्रबन्धनपक्षसित भेट गरी फेरि फेरि यस्तो घटना हुन नदिनका लागि खबरदारी गरेका छन्।
खालिङले प्रबन्धनपक्षलाई अस्पताल चलाउन सक्तैन भने राज्य सरकारलाई जिम्मा दिनुसम्म भनेका छन्।
“अस्पताल ठीकसँग चलाउन सक्तैनौं भने हामीलाई देऊ, हामी चलाएर देखाइदिनेछौं’’, उनले कड़ा शब्दमा भनेका छन्।
यसका साथै उनले लापरवाहीका घटनाहरूको जाँच गर्न आग्रह पनि गरेका छन्।
गीता राईको मृत्यबारे अस्पतालले जुन कारण बताएको थियो त्यसलाई खालिङले सोझै नकारेका छन्।प्रबन्धनपक्षबाट उनले विभिन्न जानकारी मागे। यद्यपि ताजा घटनाहरूबारे अस्पतालले जुन स्पष्टीकरण दिएको छ, त्यसमाथि सरकारको चित्त नबुझेको पनि बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here