नयाँ दिल्ली, 21 सेप्टेम्बरः तृणमूल कङ्ग्रेसका सांसद डेरेक ओ ब्रायनसमेत आठजना सांसद कार्वाहीमा परेका छन्।
हिजो कृषि बिललाई लिएर राज्यसभामा रड़ाको मच्चाउनका साथै रूल बुक च्यातेकाले यी सांसदहरूमाथि कार्वाही गर्दै सात दिनका लागि निलम्बित गरिएको हो।
आज राज्यसभाका अध्यक्ष वेङ्कैया नायडुले उनीहरूलाई सात दिनका लागि निलम्बित गरेका हुन्।
निलम्बित हुनेहरूमा तृणमूल कङ्ग्रेसका सांसद डेरेक ओ ब्रायन, आपका सञ्जय सिंह र कङ्ग्रेसका राजीव साटव पनि छन्।
यसैगरी निलम्बित भएका अन्य सांसदहरूमा डोला सेन (तृणमूल कङ्ग्रेस) सैयद नासिर हुसैन र रिपुन बोरा (कङ्ग्रेस) तथा केके रागेश र एल्मलारान करिम (सीपीआई एम) छन्।
हिजो राज्यसभाका उपसभापति हरिवंशअघि सांसदहरूले दुर्व्यव्हार गरेका थिए।
अर्कोतिर विपक्षले राज्यसभाका उपसभापति हरिवंशविरुद्ध अविश्वास प्रस्ताव दिएको थियो, जसलाई अध्यक्ष वेङ्कैया नायडुले खारेज गरेका छन्।
त्यहीं राज्यसभामा आज तीनवटा महत्त्वपूर्ण बिल आवश्यक वस्तु (संशोधन) विधेयक 2020, भारतीय सूचना प्रौद्योगिकी कानून संस्थान (संशोधन) विधेयक 2020, ब्याङ्किङ विनियमन (संशोधन) विधेयक 2020 प्रस्तुत गरिनेछ।