सिलगढ़ी, २१ सेप्टेम्बरः महेन्द्र छेत्रीले गोरामुमोबाट राजीनामा दिएका छन्।
पछिल्लो विधानसभा चुनाउयता मौन बसेका उनले आज राजीनामा दिएका हुन्। विधानसभा चुनाउ अघिसम्म छेत्री गोरामुमोका महासचिव पदमा थिए।
केही दिनअघि उनले गोरामुमो भाजपाको अत्यधिक नियन्त्रणमा रहेको बताएका थिए। साथै पार्टीमा बस्ने/नबस्नेबारे चाँड़ै निर्णय निर्णय त्यसबेला छेत्रीले जनाएका थिए।
“आज मैले गोरामुमोबाट राजीनामा दिएको हुँ”, जनसंवादसँग टेलिफोनिक वार्तालापमा उनले भने, “आउँदो ५-६ दिनभित्र पत्रकार सम्मेलन गरेर राजीनामा दिनुका कारण विस्तृत रूपमा बताउनेछु।”
राजीनामा दिनसाथै महेन्द्र छेत्रीले गोरामुमो अध्यक्ष मन घिसिङको तीखो आलोचना गरेका छन्।
उनले पछिल्लो विधानसभा चुनाउमा पहाड़का तीनवटै सिटमा भाजपालाई सहयोग गर्ने मन घिसिङको निर्णयलाई आत्मसमर्पणको संज्ञा दिएका छन्।
यति मात्र होइन, मन घिसिङले सिद्धान्तलाई लत्याएर आफ्नै गुटलाई ध्यानमा राखेर निर्णय र कार्य गरिरहेकाले सबैभन्दा बढ़ी गोर्खा जातिलाई हानि पुगिरहेको पनि बताएका छन्।