–डीएस बम्जन
मानव सभ्यताको इतिहास तबदेखि शुरु भयो, जबदेखि भाव प्रकाशनार्थ भाषाको विकास र कला ( साहित्य, सङ्गीत, चित्रकलादि) -को विकास गर्न मान्छे सक्षम बन्यो ।
सूर्यको तल कैलाश पर्वतदेखि अनन्त महासागरसम्म विस्तृत जीवन-जगतमा भएका प्राणीमध्येमा सर्वश्रेष्ठ प्राणीको मुकुटले सुशोभित बन्यो मान्छे यसै कारण । यस्तो गरिमामय मुकुटधारी मानव जगतभित्र पनि समूह समूह भएर जात-जातिको भाषा साहित्यादि आ-आफ्नै प्रकारको भौगोलिक र पर्यावरणीय अवस्थानुसार विकास हुँदैगयो । यसरी विकासतिर सम्मुखिन बन्दैगएको जाति-समूहको सम्पन्नता र समृद्धि नाप्ने धेरथोर एकाइकै रूपमा मानिँदैआएको आधार नै हो त्यस जातिको भाषा-साहित्यको विकसित रूप ।
अर्थनीति मानिसका लागि बाँच्ने आधार त बन्छ नै तर अर्थनीतिलाई पनि नीतिगत् परिष्कार पार्दै मार्ग निर्देशित गर्ने क्षमता राख्छ भाषा साहित्य र कलादिले ।
व्यक्तिको भौतिक सम्पन्नताले सिङ्गो जातिकै सम्पन्नताको नापजोख गर्न खाम पुग्दैन । कारण स्पष्ट छ- मानव समाजका उन्नति, प्रगति र विकासादि भाषा र साहित्य प्रष्फुटनमा सप्रिएको गुलाबको फूलको मोहनीयुक्त सौन्दर्य र सुगन्धमाझ सम्पन्नताको ठहर गरिन्छ । यसो हुनाले नै साहित्य समाजको दर्पण स्वीकारिएको हो । साहित्यले मानव समाजको एक एक पल समेटेर राखेको हुँदा नै हामी साहित्यलाई समाजको जिउँदो दस्तावेज भन्छौँ । साहित्य नै हो जाति र समाजको एकलो निष्पक्ष प्रखर प्रवक्ता । सत्ताले समाजको इतिहास खुँडा र खुकुरीले लेख्छ र पक्षपातपूर्ण इतिहासको बोझ बोकाउँछ जातिलाई । तर, साहित्यकारको साहित्यमा समाजको इतिहास कलमले लेख्छ र निष्पक्ष इतिहास उपहार दिन्छ जातिलाई । सत्ताको इतिहास उधिन्न साहित्यकारको कलम जति सक्षम र विश्वसनीय छ, त्यति इतिहासकारको कलम नरहेको देखिन्छ ।
यसैले कुनै पनि जाति-समाज, उसको ठाउँ-थलोको वर्तमान र भविष्य निर्धारणको मार्गनिर्देशक लेखक-लेखिका र बुद्धिजीवीहरू नै हुन्; जसको दिव्य मन-मस्तिकको साधनाले जब प्रष्फुटित बन्ने औसर पाउँछ, त्यही नै साहित्य हो । त्यही नै कला हो । यसरी प्रष्फुटन भएको अंश नै सभ्यताको इतिहासमा भाषा-साहित्यका रूपमा अजम्बरी अवतार लिएर युग युगसम्म अञ्चल, देश औ राष्ट्रकै दिव्य तथा प्रबुद्ध प्रतिनिधि भएर आएको हुन्छ ।
समग्र अञ्चलभित्र यसमा बसोबासो गर्ने जातिलाई सुखी-सम्पन्न-समृद्ध-आत्मनिर्भर-स्वाभिमानी पार्ने/पारिइने कुनै न कुनै व्यवस्थाअन्तर्गत नै मानव जाति बाँधिएको हुन्छ । यसरी बाँधिइने डोरीका रूपमा प्रयोग भएको हुन्छ राजनीति । यो राजनीति आत्मधारी सत्ता सर्वस्वीकृति प्राप्त अजीब बाइपङ्खी घोडा हो । यो घोडाको सवारीचाहिँ मधुमालती कथाको बज्रठिङ्गाकै प्रतीक बुझिन्छ । यो बज्रठिङ्गा बिस्तारै अत्यधिक स्वकेन्द्रित बनावटको प्राणीमा रूपान्तरित हुने मोर्फोलोजी हो ।
दुनियाँ यही अघोषित बज्रठिङ्गाको अरन-खटन र चलनचल्तीमा आएको नियम कानुनअनुसार सञ्चालित रहेको हुन्छ । सायद यस्तै बज्रठिङ्गाको सही-बिसही चल्ने कारणले नै Qualified learning system Inc. USA. Educator, Business Consultant का स्वामी साथै प्रखर वक्ता शिव खेराले बिहानै उठेर प्रयोग गर्ने टुटपेस्ट पनि राजनीतिकै उपज हो भनेका छन् । उनले अझ भनेका छन् – प्राणीको प्राणवायुमा पनि राजनीति नै छ । अझ ताक पर्ने कुरो त के रह्यो भने अमेरिकाका साह्रै प्रसिद्ध राष्ट्रपति जोन एफ केनेडीको कवि र राजनीतिज्ञमाझ कतिको महत्त्वपूर्ण छ, त्यो नै मैले उद्धृत गर्नचाहेँ- “यदि धेरैजसो राजनीतिज्ञले कवितासित साइनो गाँसे अनि त्यसरी नै धेरैजसो कविले राजनीतिसित हात मिलाए, म ढुक्कले भन्नुसक्छु- यो धरती बाँच्नका लागि धेरै सहज हुनेथ्यो।”
यसबाट बुझिन्छ, मानिस राजनीतिदेखि अलग्ग हुनैसक्दैन । मानिसको प्रत्येक कार्य सुत्नु-उठ्नु, बस्नु-हिँड्नु खानु-पिउनु र वस्त्र धारण गर्नु सबै सबैमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजनीतिको गतिलो हिस्सादारी रहेको छ । यसको पुष्टिका लागि धेरै अघि नै Man is a Political Animal भनेर एरिस्टोटलले भनिसकेको हो ।
भारतेली नेपाली जातिको दुई सय वर्षको आधुनिक इतिहासमा धेरै विषयमाथि अजम्बरी महान् औतारी साहित्य स्वभाषामा लेखिएको, मौखिक रूपमा आएको र तत् तत् विषयमा प्रखर आवाज निकालेका प्रशस्त तथ्यहरू पाइन्छन् । तर राजनीति विषयमा बोलेका ध्वनि र लेखिएका प्रतिध्वनि कहीँकतै छ्वास्स आएकोसम्म सुनिँदैन/देखिँदैन । यसो हुनाले नै भारतेली नेपाली समाज र जातिको राजनीतिक आकास सधैँ अँध्यारो छायाले ढाकिएको हो कि !!
जन-आबादी र आयतनको नापोले विश्वको सर्वबृहत् राष्ट्रको मुकुटले सुशोभित भारतमा नेपालीभाषी नागरिकले आफ्नो राजनीतिक/प्रशासनिक प्रकाशले त्यो अँध्यारो खेद्न नसक्नु अथवा हटाउनु नपाउनु – सर्वबृहत् राष्ट्रको मुकुटबाटै अवहेलित हो कि यो जाति अथवा जातीय निकम्मापन हो- बुझ्न सकिएन । यसैले यो भूभाग र यहाँका झर्रो जातिलाई स्वराज र गणतन्त्र शब्द लुतो लागेको झैँ बन्न परिरहेको अवस्था विद्यमान् छ ।
फलस्वरूप, यो जाति अनिश्चित र अन्तहीन राजनीतिक यात्री भएर लक्ष्य हराएको रेगिस्तानमा रनभुल्ल परेको छ । यो रनभुल्ल अवस्थामा निस्सासिएर सबै सचेतवर्ग – शिक्षित,लेखक, कवि, साहित्यकार, विद्वान्, कलाकार, अधिवक्ता, प्रोफेसनल, व्यवसायी, जातीय हिमायतीहरू निकै सकसपूर्ण अवस्थामा पुगेको बुझिन्छ । यसैले हुनुपर्छ आपसी भेटघाटतिर भलाकुसारी पछि उठ्ने विषय नै हो – आफ्नो धरातल, जाति, समाज र आउने पिँढीको अनिश्चित भविष्य लिएर चिन्ता व्यक्त भइरहेकै अवस्था । यसरी हुने छोटो भेटघाटमा पनि चिन्ता, अफसोच र जातीय अकर्मण्यताकै कारणले कहिले किनारा नपाउने हो कि…। थप चिन्ता बढ्छ ।
यसो हुनाका मूल कारण, चतुर शिकारी बिरालोको सामर्थ्य, चाल, पहुँच नबुझी घण्टी बाँध्न तम्सने मुसाहरूको मनोभाव नै हो । मुसाहरूको अभियानमा ताक परे तिवारी नत्र गोतामेको फर्मुला अघि नै गोजीभित्र पसिसकेको हुन्छ । जाति र माटोको स्टेरिङ हातमा समातेर आन्दोलनमा उत्रिएका जति भए, ती टुङ्गोमा नपुऱ्याउने चालक र बाटोबाटै पैसा उठाउँदै लक्ष्य हराउनेहरू नै भए सबै । यस्ता व्यक्तिगत घटजोडलाई लक्ष्य बनाउनेहरूले एकातिर समाजभित्र स्वीकृति पाइरहेको माहौल छ भने अर्कातिर सचेत साँचो जातीय चिन्ताधारा राख्नेहरूमाझ अव्यक्त उष्णता बिस्तारै सञ्चारित हुँदै गइरहेको स्थिति पनि अस्वीकार गर्न सकिँदैन । यही प्रकारको अनुभूति व्यापकरूपमा सर्वत्र फैलिएको बोध हुन्छ । यसै कारण दार्जिलिङे आधुनिक नेपाली साहित्यको पहिलो, दोस्रो र तेस्रो जेनेरेसनका एकजना जीवित साक्षी आदरणीय नरबहादुर दाहाल महोदयले एउटा कार्यक्रममा “नेपाली साहित्य आज धेरै विकसित भई यसले निक्कै उच्चता प्राप्त गरेको भान हुन्छ । तर त्यही साहित्यले सामाजिक, राजनीतिक चेतना फैलाउँदै जनतालाई जागरुक बनाउनतिर असफल रहेको हो कि…” भन्ने आशयको मन्तव्य सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको थियो । श्रध्देय दाहालले त्यसतिरको रिक्तता औँल्याएर सो भ्याकुम भर्नुका लागि आह्वान गर्नुभएको बुझिन्छ । छ दशकभन्दा अधिक समयदेखि नेपाली भाषा-साहित्यमा अक्लान्त निस्वार्थ सेवा पुऱ्याउँदै आउनुभएका दाहाल महोदयको उक्त उद्गार आफ्नो अनुभवले खारिएको विचार हो । यस्ता तपस्यारत व्यक्तिको अनुभव र अनुभूति सामाजिक सञ्जालमा देखिँदा हाम्रो भाषा-साहित्य, संस्कृति जीवन जगत् लिएर सधैँ समर्पित रही उब्जेको विचारलाई मान्यता दिँदा सत्यताको धेरै नजिक पुगेको हुनुपर्छ । दाहालजीको उक्त मन्तव्य भारतेली नेपाली जातिको सुरक्षा र भलोका लागि पुनर्जागरणको आह्वान होइन भन्नु मिल्दैन भन्ने लाग्छ मलाई । सो आह्वानमाथि पक्ष र विपक्ष दुवैतर्फबाट चर्चा, आलोचना, समाचोलन र बहस हुनुपर्ने हो । तर, यहाँ त स्थिति कस्तो देखिन्छ भने – काम पाएन बुहारी पाडाको….. भने जति पनि रहेन ।
स्वस्थ र निष्पक्ष आलोचना जातीय जागरुकता, सचेतनता र अग्रसरताको परिचायक मानिनुपर्ने हो । तर त्यो परिपाटीको विकास भएकै छैन । त्यो परिपाटीको शुरुवात हुनलाई अब पनि कति पर्खनुपर्ने हो ? यस्ता विषय अन्य छिमेकी जातिमाझ उठेको हुन्थे भने चिया पसलदेखि सितारा होटेलसम्म, यान वाहनमा सवारी गर्दाताकाको गफको विषय, हजामको दोकानदेखि स्कुल कलेज र युनिभर्सिटीसम्म चर्चाले महत्त्वपूर्ण स्थान लिएको हुन्थ्यो । पुस्तकालय होस् कि पार्टी अफिस, कुनै संस्था होस् कि सरकारी दफ्तर, कुनै साहित्यिक गोष्ठी होस् कि कलाकार सबै नै आ-आफ्ना विवेक र बुद्धिले भ्याएसम्म चर्चारत हुन्थे । यता हामीलाई भने यस्तो महत्त्वपूर्ण विषयको कुनै भेउ नै छैन । हामी शान्तिप्रिय जाति भनेर असक्षमता लुकाइहिँड्छौं । यही सब हाम्रो मनोभाव देखेरै विद्वान् समालोचक रामकृष्ण शर्माले भन्नुभएको होला – “घर-सत्ताविहीन शासित र आश्रित जाति।” यतातिर टोपी झर्ला झैँ गरी हेर्नुपर्ने उचाइका कवि भूपिहरू वीर भएर बुद्धु भएको स्वीकृति दिनुहुन्छ । ती बुद्धुहरू भएर पनि माथि…अझ माथि र महामाथि उक्लिसकेका छन् । तर यसघरी ती अघिल्ला परिदृश्य पूरापूरी परिवर्तन भएको छ । ती शासितहरू अरुका लागि संसार फाँडेर पुर्खाको नासोसम्म थाम्ननसकी शान्तिधारी आभूषणको मान्यताले गजक्क परेको अवस्था छ । युगौँदेखि यसरी नै अर्जित मान्यताका रक्षा र संरक्षणमै उठबस चलखेल मौजमस्तीले माथि होइन तल अझ तल खस्कँदै गइरहेको स्थिति भोग्नपर्ने बाध्यताबाहेक अरू केही होइन ।
एक समयको नेपाली जातिको मुटुको धड्कन मानिइने दार्जिलिङमा दिग्गज साहित्यकारहरूले राजनीतिक विषयलाई लिएर धेरै साहित्य लेखेका थिए मात्र होइन स्वयं सक्रिय राजनीतिमा होमिएको तथ्य इतिहासमा प्रशस्त पाइन्छ । अङ्ग्रेजकालीन दार्जिलिङदेखि सन् १९५० को दशकसम्म लेखक, साहित्यकार, बुद्धिजीवीहरूले राजनीतिमा प्रत्यक्ष / परोक्ष दुवै धारद्वारा संलग्न रहेका थिए । राजनीतिक सवाल अथवा राजनीतिक हक-हितका माग उठाउँदै दिशानिर्देशन गर्न पनि चुकेका थिएनन् यी कलमकारहरू । यसै सन्दर्भमा महान् साहित्यकार अध्येता ड. इन्द्रबहादुर राई लेख्नुहुन्छ – “भारतीय नेपाली साहित्य र भारतीय नेपाली राजनीति भन्नसकिने र साहित्यिकको राजनीतिमा पनि सक्रियता स्वाभाविक र सहजझैँ थियो राजनीतिक लेख स्वीकृत गरिनेछैन तत्कालीन प्रत्येक पत्रिकामा प्रकाशन विज्ञाप्ति रहन्थ्यो, साहित्यिकले तर राजनीतिमा पनि टेक्थे, हिँड्थे धरणीधर, रूपनारायण बङ्गालको विधानसभाका निर्वाचित प्रार्थीसम्म भए सूर्यविक्रम ज्ञवाली दार्जिलिङ नगरपालिकाको एक चुनाउमा विजयी उम्मेद्वार थिए जब कि स्थानीय प्रशासनलाई राजनीतिक स्वशासनको तैयारी मान्थ्यो ब्रिटिस सरकारले, दुवै सिद्धान्त र कार्यले ।” भारतेली नेपालीहरूको आफ्नो इतिहासमा दार्जिलिङ, कालेबुङ, तराई र डुवर्स सम्पूर्ण क्षेत्रलाई बङ्गालदेखि अलग तथा छुट्टै प्रशासनिक व्यवस्थाको माग-पत्र ८ नोभेम्बर १९१७ -मा मुख्य सचिव बङ्गाल सरकारलाई बुझाएको पहिलो राजनीतिक दस्तावेज हो । त्यो माग-पत्र विषय “अल्लाहबादबाट सूर्यविक्रम ज्ञवालीले आफ्नो समर्थन, सहयोग र हस्ताक्षर पनि गर्ने आशयको पत्र मी मान्टेगुलाई चढाउने आवेदन-पत्रको नक्कल पठाउनुभएको हेरेँ बहुत ठीक छ । तर एक दुई कुरा थप्नुपर्छ सो दुई कुरा यहाँ चिठीसाथ खामी पठाएको”….कुराहरू लेखिपठाएको रहेछ ( स्रोत- लेख र झ्याल इन्द्रबहादुर राई २०००) ।
त्यो पहिलो राजनीतिक दस्तावेज साहित्यिक र विद्वानहरूले तयार पारी अञ्चलको समग्र नेपाली, भोटे र लाप्चेहरू सबैका सामाजिक संस्थान हिलमेन्स एसोसिएसनले आफ्नो ठाउँ र जनजीवनको पक्षमा ब्रिटिस सरकारको भारत राज्य मामिला सेक्रेटरीलाई सुपुर्द गरेको जिउँदो डकुमेन्ट हो । यो दस्तावेज निखुर अराजनीतिक, शिक्षित, सचेत र बुद्धिजीवीहरूका मन मस्तिष्कको फ्युजनबाट जन्मेको भारतेली नेपालीहरूको तिक्खर राजनीतिक ज्वालामुखी फुटेसरह आजपर्यन्त इतिहास बनिरहिरहेकै छ । यही राजनीतिक ज्वालामुखीलाई साहित्यिक बुद्धिजीवी लेखकहरूले संरक्षण र दिगन्तबोध गरी सन् साट्ठीको दशकसम्म संलग्न भएको देखिन्छ । त्यसपछि भने यो जातीय सवाल वा मुद्दादेखि ती साहित्यिक बुद्धिजीवीहरू आ-आफै पर पर पन्सिएको देखिन्छ/बुझिन्छ । पहाडमा राजनीतिक पार्टीहरूको सक्रिय आगमनपछि राजनीति बोकेर आउनेहरूले नै यो सवाललाई समात्छन् ।
कति हाँसउठ्दो स्थिति –हाल भारतेली नेपाली साहित्यकार, कलाकार र स्रष्टाहरू अचानक भेट हुँदा साहित्य, समाज जाति र राजनीति विषय चर्चा गर्छन् । कोही चर्चामा खुलेर आउँछन् । कोही भयातुर बनी बिचैमा उठेर लुसुक्क भाग्छन् । भाग्ने त भागे तर त्यो चर्चा चलाउनेहरू पनि न कुनै त्यस प्रकारको लेख लेख्ने ह्याउ देखाउँछन् न त सक्रिय राजनीतिमा नै होम्मिन्छन् । उनीहरू कसैले पनि राजनीतिक विषय लेख लेखेको न त देखिन्छ न त राजनीतिमा प्रवेशै गरेको पाइन्छ । जातीय हक हितमाथि बोल्नु पनि अपराध बराबर ठान्छन् कि कसो ? साहित्य कला र सङ्गीत जातीय चेतनाको द्योतक मानिन्छ । तर हाम्रो समाजमा यी सब भइरहेको छैन । बौद्धिक-सम्पन्न चेतनशीलहरूमा यस्ता मनोभाव र चारित्रिक गुण कताबाट कसरी निर्माण हुनगएको हुँदो हो…यो नै जिक्स पज्जल लाग्छ । दार्जिलिङ भेकमा प्रथम पिँढीका शिक्षित साहित्यिक लेखकहरूबाट नै श्रीगणेश भएर प्रान्त परिषद्को जन्म भएको हो । यसमा शिक्षित साहित्यकारहरू नै सक्रिय थिए । रामकृष्ण शर्मा गणेशलाल सुब्बा, इन्द्रबहादुर राई बद्रीनारायण प्रधान । अझ हेर्दै जाँदा टिस्टा पारी सत्ताको सर्वोच्च र साहित्यमा सक्रिय नरबहादुर भण्डारी देख्छौँ । त्यस्तै पवन चाम्लिङ देख्छौँ र वर्तमान प्रेमसिंह गोले पनि सत्ता र साहित्यमा बराबर सक्रिय रहेकै पाउँछौँ । सिक्किमकै पूर्व लोकसभा सदस्य भीम दाहाल साहित्य अकादेमी पुरस्कारले सम्मानित भएका थिए ।
तर यता हाम्रातिर मुद्दालाई टुङ्गोतिर नपुऱ्याएर आपसमै अल्झाएर राख्छन् । आवश्यकता पर्दा बल्झाएर पनि राख्छन् । हल्ला सुनिन्छ – एउटाको अहंकार र अर्कोको डङ्कभित्र मुद्दा चेप्टिएको छ । फेरि सुनिन्छ- घरभित्रै विश्वासघातको मारमा पऱ्यो मुद्दा । अझ सुनिन्छ – सुनसित साटेर सबै नै रङ्गिएको स्याल भएको कथा । रङ्गिएका जति छन्, ती तीसित साँठगाँठ बढाउन नलजाउने, नडराउनेहरूले आफ्ना घर-जहान परिवारका सुख सुविधासँगै दोस्रो, तेस्रो बिहे गरेर घर बिल्डिङ जोड्दै हिँड्ने ऐय्यासी जीवन-भोगीहरूले तितो-टर्रो र खस्रो-मसिनो हल्ला खल्ला सबै चाखेर थाक्नेहरू प्रशस्त देखिन्छ । तर केही दशक यता कवि लेखकहरू राजनीतिलाई बोक्सी र छौंडाजस्तै सम्झनेहरू यत्रतत्र सबैतिर देखिन्छ । बाजे तानाले न्वारन गरेको दाम्लो झुण्ड्याउनेहरूले राजनीतिलाई फेनतमको रूपमा हेरिरहेको आभाष हुन्छ वर्तमानमा । पुर्खाको नासो स्वरूप सालनालसितै जोडिएको ऐतिहासिक भूमि र जातीय सवालको हाल बेहाल पारिएको छैन भन्नु पनि छैन । अस्तित्वसित गाँसिएको नासोलाई सबैका अघि नाङ्गै पारेर अदृश्य अम्पायरको निर्क्यौलमा भकुण्डो खेलिएको दृश्य बन्नपुगेको छ पहाड र तराई डुवर्सको भूभागको राजनीति । सिङ्गो जातिमाथि आउँदैगरेको डरलाग्दो अवस्थाबाट हुनसक्छ, अथवा इनट्युसनको जोडमा इन्द्रबहादुर राईको अध्ययन र साहित्य लेखनमा अधिक समय क्षेत्रीय राजनीति र जातीय सवालमा खर्चिएको पाउँछौँ । सन् अस्सीको दशकमा त पार्श्व खेलाडी मात्र नभएर मञ्चमा नै उभिएर जनतालाई सम्बोधन गरेका छन् इबराले । (यस विषयमाथि मेरो एउटा लामो लेख केही समय अघि सिलगढीबाट प्रकाशित दैनिक सम्वाद पत्रमा प्रकाशित भएको थियो ।)
एक समय संसारै जित्दैहिँड्ने र साम्राज्य खडा गर्ने सपना बोकेको ब्रिटिसको देश ब्रिटेन एउटा सानो टापु मात्र थियो । त्यस समय उनीहरू फ्रान्सको शक्ति, सौर्य देखेर रात दिन त्रस्त र भयभीत रहन्थे । तर त्यही ब्रिटिस शासक उन्नाइसौँ शताब्दिमा कहिले घाम नअस्ताउने साम्राज्यको मालिक भएर उभिएको इतिहास निर्माण भयो । त्यस टापुबाट उठेर आएको ब्रिटेनको यस्तो अद्भुत र अपूर्व सफलताको राज बुझ्न लागिपरेका शोधकर्ताहरूको विश्लेषण अनुसार उक्त टापु ब्रिटेनका शिक्षित र साहित्यिकहरूले साहित्य-शिक्षाको माध्यमबाट समाजलाई रिजेनेरेटेड गरी नयाँ पिँढी तयार पार्दा नै सम्भव भएको हो भन्ने निर्णय निकाले । उनीहरूले ग्रहण गरेको शिक्षानीति र प्रयोग गरेको पद्धति भारतीय गुरुकुल शिक्षा प्रणालीको परिमार्जित वैज्ञानिक, जातीय, राष्ट्रियता निर्माणको व्यवहारिक रूप थियो, भन्छन्। यसैले यो अङ्ग्रेजी उक्तिको प्रयोग भएको हो – The Battle of Waterloo was won in the playfield of Eton and Harrow. यी दुई संस्थान इटोन र हेरेओद्वारा प्रदत्त शिक्षा-साहित्यको उत्पादनले नै आफ्नो जाति र देशको जन्मजात शत्रु फ्रान्समाथि विजय प्राप्ति भएको देखिन्छ । यो फ्रान्समाथिको विजय ऐतिहासिक घटना थियो, जसले दुनियाँको इतिहासलाई नै नयाँ दिशा दिएको औ दिइरहेको पाउँछौँ। ” (स्रोत – Sai Baba’s Mahavakya On Leadership a book by Padma Bhushan , Lieut. Gen (Retd) Dr. M. L. Chibber, Pvsm, avsm, Ph.D)
शिक्षा, साहित्य र साहित्यकारहरूको उद्देश्य र लक्ष्य एउटै हुन्छ, तर तौरतरिका आफ्ना-आफ्ना प्रकारका हुन्छन् । यही पद्धतिलाई अनुसरण गर्दै कार्य सम्पादन हुँदा नै संसारमा सूर्य कहिले नअस्ताउने साम्राज्यको मालिक एक समय ब्रिटेन हुनपुगेको हो । त्यसरी नै आफ्नो गौरवमयी इतिहासमा अमेरिका कुनै पनि युद्ध/ समरभूमिमा पराजय हुनु परेको इतिहास थिएन । तर यस्तो अजय अमेरिकाले २५ सालसम्म युद्ध गर्दा पनि भियतनामलाई पराजय गर्नसक्दैन । पछि अमेरिकाले पराजयका कारण खोज्दा पत्तो लगाउन Pennsylvania University का लेखक, साहित्यकार, शोधार्थीलगायत सबै विधाका विद्वानहरू लिएर जाँच कमिटी गठन भएको थियो । उक्त कमिटीको रिपोर्टको गुह्य तथ्य भियतनामीहरूले शिक्षा र साहित्यको माध्यमद्वारा जनसाधारणलाई आफ्ना ठाउँ, जाति, देश औ राष्ट्र-प्रेम, सम्मान, त्याग र उत्सर्गको महत्त्व बुझाएर दृढ-सङ्कल्पित बनाउनसकेकै कारण बलियो शत्रुले पनि पराजय भोग्नुपरेको थियो । आधुनिक अस्त्र-शस्त्रले सुसज्जित अमेरिकी सैन्य युद्धको कला र कौशलमा निपुणता हासिल गरेको भए तापनि ती सैनिकहरू मूलत अर्थ र भौतिक सुविधाका लागि मात्र खटेका थिए । यदि इटोन र हेरेओको विचारसित हुन्थे भने जय निश्चित देखिन्थ्यो (स्रोत ऐजन) ।
यसैकारण शिक्षा र साहित्यको विकास, संरक्षण र समृद्धि कुनै पनि जातिका ठाउँ-थलो, समाज-जात र देशका लागि सञ्जीवनी ठहरिएको हो ।
भारतीय नेपालीलाई चेतनाले भरिएको सञ्जीवनी-बुट्टी बाँधिदिनुपर्ने नैतिक औ राजनीतिक जिम्मेवरी साहित्यकारहरूको थाप्लोमा परिरहेको मेरो ठहर छ । समाजभित्र जातिको प्रतिनिधित्व गर्ने जो कोहीलाई पनि बाटो बिराउँदा भनौं अर्घेलो भई काम कुरोतिर सही सही निर्णय गर्न चुक्दा बौद्धिक गौरी बेतले सोड्क्याएर सही दिशा देखाइदिने नैतिक अधिकार पत्रकार, साहित्यकार र लेखक सिवाय अरू कसैको हुनैसक्दैन । देशको कानुनको दायरा ननाघी लेखक र साहित्यकारहरूले कलम चलाउँदै होशियारीको लौरो पनि उज्याइरहेको हुनुपर्छ । समाज र जातिका लागि चुनिएका नेतृत्ववर्ग अथवा दायित्वप्राप्त व्यक्ति आफ्नो कर्तव्यबाट भागेर निजी स्वार्थमा लिप्त भइरहेको उदाहरण समाजमा प्रशस्त पाइन्छ । यस्तालाई तह लगाउने लौरो कलमबाहेक अरू केही हुनैसक्दैन ।
अस्तु