कोलकाता, 21 अक्टोबरः गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङ गोर्खा भवनमा पस्न पाएनन्।
गोर्खा भवनभित्र पस्न नपाएपछि उनी त्यहाँबाट फर्केका छन्। कहाँ फर्के र गुरुङ कहाँ बस्नेछन्, त्यो अहिले नै स्पष्ट भएको छैन।
यसभन्दा अघि बङ्गाल सरकारसँग वार्ता गरेका विमल गुरुङले वार्तामा के के भए, त्यसबारे गोर्खा भवनमा पुगेर विस्तृत रूपमा जानकारी गराउने पत्रकारहरूलाई बताएका थिए।
सोही अनुरूप गुरुङ गोर्खा भवन त गए। केही क्षण प्रतीक्षा गरे, तर कसैले गेट नै नखोलिदिएको बताइएको छ। त्यसपछि उनी त्यहाँबाट उनी फर्केका छन्। गुरुङ झारखण्ड नम्बरको गाड़ीमा कोलकातामा देखिएका हुन्। उनीसँग गेरुवा वस्त्र लगाएका एक मालाधारी व्यक्ति पनि छन्।
यसैबीच, आज राज्य सरकारसँगको वार्तामा गुरुङलगायत मोर्चा पहिलो खेमाका शीर्ष नेतृत्वहरू उपस्थित रहेको बताइएको छ।
अर्कोतिर, सूत्रमार्फत् प्राप्त जानकारीका अनुसार मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङलगायत उनको टिम कोलकाताकै एक होटलमा बसेका छन् भने बेलुकी 6:30 बजे पत्रकारहरूलाई सम्बोधन गर्नेछन्।
उल्लेखनीय छ, 2017-को 8 जूनका दिनदेखि भाषा अतिक्रमणको विरोध गोर्खाल्याण्ड आन्दोलनको उग्र आन्दोलनमा रूपान्तर भएपछि राज्य पुलिसको पक्राउबाट बच्नका लागि विमल गुरुङ भूमिगत भएका थिए। आज तीन वर्षभन्दा अधिक समयपछि उनी कोलकातामा सार्वजनिक रूपमा देखिएका हुन्।