कालेबुङ, २१ अक्टोबरः राष्ट्रिय राजमार्ग १० खोलिन कम्तीमा तीन-चार दिन लाग्ने बताइएको छ।
२० र २१ माइलबिच बिरिक डाँड़ा छेउ हिजो राति गएको पैह्रोले हाइवेलाई चुँड़ाएको छ, जसका कारण आज दिनभरि पनि यस राजमार्गमा वाहनहरूका चलाचल ठप्प रह्यो।
राष्ट्रिय राजमार्ग सोहोरेर पैह्रो झरेको छ। यति मात्र होइन उक्त पैह्रोको छेवैमा माथिबाट अर्को पैह्रो झरेर थुप्रिएको छ।
विभागले दुईवटा जेसीबी मशिन र दुईवटा पक्लेनको सहयोगले भित्ता काटेर सडक बनाउने कार्य गरिरहे तापनि यातायात पूर्ण सुचारू बन्न केही दिन लाग्ने बताइएको छ।
यो पैह्रो हिजो राति करिब १०.३० बजे गएको बताइएको छ।
उल्लेखनीय छ, गत वर्ष पनि यसै ठाउँमा गएको पैह्रोले राष्ट्रिय राजमार्ग १० को आधा भागलाई क्षति पुऱ्याएको थियो भने हिजो गएको पैह्रोले राजमार्गलाई पूर्ण क्षति पुऱ्याएको छ।
लगातार दुई दिन परेको पानीका कारण हिजो २९ माइल र सेतीझोड़ालगायत अन्य ठाउँ ठाउँ साना-ठूला पैह्रो गएका थिए। सेतीझोड़ामा माथिबाट झरेको पैह्रो धेरै ठूलो रहेकाले बाटो खुल्न राति करिब ९.३० बजेसम्म लागेको थियो। तर, सेतीझोड़ाको बाटो खुलेर यातायात सुचारू भएको करिब एक घण्टा नबित्दै बिरिकडाँड़ा छेउ गएको उक्त पैह्रोले हाइवे १० पूर्ण बन्द भएको हो।
विभाग मौन
राष्ट्रिय राजमार्ग १० को यस्तो अवस्थाप्रति विभाग मौन छ। विभागकै लापरवाही र निष्क्रियताका कारण हाइवेको यस्तो अवस्था भइरहेको आममानिस र चालकहरूको आरोप छ। किनभने राजमार्गलाई सुचारू राख्न विभाग पटक पटक चुकेको छ।
विभागका कार्यकारी अभियन्ता सुबोध छेत्रीका अनुसार सचिवस्तरबाटै विभागलाई नबोल्ने निर्देश दिएको छ। विभागले आफ्नो जिम्मेवारी र दायित्व कहिले बुझ्ने? राष्ट्रिय राजमार्ग १० लाई सुचारू राखिरहन कहिल्यै ठोस सक्रियता देखाउने? प्रश्न उठिरहेको छ।
चालकहरूको बिचल्ली
पछिल्ला तीनदेखि राष्ट्रिय राजमार्ग १० बन्द रहेपछि चालकहरूका बिचल्ली भएको छ। तीन दिनदेखि उनीहरू बाटोमै फँसेका छन्। गाड़ीमै सुतेर रात काटिरहेका छन्। उनीहरूको खानु न पिउनु भएको छ।
यसरी बाटोमै फँसेका चालकहरू स्थानीय मात्र छैनन्, बाहिरी राज्यबाट आएका मालवाहक वाहनका चालकहरू पनि छन्। सबैले बाटो कहिले खुल्छ तर सामान सामान टुङ्गोमा पुऱ्याउनु भन्ने नै सोचिरहेका छन्।
“राष्ट्रिय राजमार्गमा यातायात सुचारू बनाउन शीघ्र ठोस पहल गरियोस्”, उनीहरू सबैको एउटै माग छ, “घरी घरी यसरी बाटो बन्द हुन नदिन विभागले ठोस कार्य गर्नुपर्छ।”
यसैबिच, बाटोमा फँसेका चालकहरूलाई भोजन वितरण गर्न चालक महासङ्घ कालेबुङ अघि आएको छ। आजदेखि चालक महासङ्घले यी चालकवर्गका लागि प्याकेट लञ्च वितरण गर्ने बताइएको छ।
सिलगढ़ी जाने वाहनहरूलाई पेशोकबाट पठाइँदै, जामको समस्या
पैह्रोका कारण राष्ट्रिय राजमार्ग १०-मा यातायात ठप्प भएपछि गान्तोक र कालेबुङबाट सिलगढ़ी जाने वाहनहरूलाई पेशोकको बाटो पठाइँदैछ। पुलिसकर्मीहरूले अत्यावश्यक सेवाका लागि मात्र मानिसहरूलाई यात्रा गर्ने सुझाइरहेका छन्।
अर्कोतिर, वाहनहरू पेशोकको बाटो भएर गुड़्न परेपछि विशेषगरी जोरबङ्ग्लो क्षेत्रमा जामको समस्या देखिन शुरू भएको छ।
यसैबिच, कालेबुङ-सिलगढ़ीका वाहनहरू लाभाको बाटो भएर आजदेखि गुड़्न शुरू गरेका छन्।
राष्ट्रिय राजमार्ग कष्टमार्ग बन्दै
सिक्किम र कालेबुङको जीवन रेखा राष्ट्रिय राजमार्ग १० दुरवस्था नयाँ होइन। प्रत्येक बर्खायाममा राष्ट्रिय राजमार्ग १० घरी घरी बन्द हुनेगर्छ।
बाटो पटक पटक बन्द भएका कारण यात्रु र चालकवर्गले अनेकौँ कष्ट भोग्ने गर्छन्। यो वर्ष पनि यस्तै भयो।
विद्युत् परियोजनाको बाँधले टिस्टाको स्वरूप परिवर्तन भएपछि यसको सोझो असर राजमार्गलाई पनि परिरहेको छ। बिरिक डाँड़ा र अन्य ठाउँहरूमा गइरहेको पैह्रोको प्रमुख कारण टिस्टा नदीका बाँध पनि हो।
पछिल्ला केही वर्षयता राष्ट्रिय राजमार्ग १० राष्ट्रिय राजमार्ग नभएर कष्टमार्ग बनिरहेको छ।
जम्मै कष्ट सहेर/ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता यात्रीहरूले भोगिरहेका छन्।
हजुर लाई मोरि मोरि धान्ने बाद आभार प्रकट गर्दै जति पनि भूमि ग्रश भएको छ। तिहि समुह लाई क्षति ग्रास को देख भाल गर्नु हुने सम्पूर्ण bimlamedom को टोलाई मोरि मोरि धान्ने बाद आभार ब्यक्त गर्दै छु।