कालेबुङ, २१ अक्टोबरः राष्ट्रिय राजमार्ग – १० मा वाहनहरूका आवागमन सुचारू भएको छ ।
हिजो बिहीबारका दिन राष्ट्रिय राजमार्ग १० -अन्तर्गत २७ माइलमा विपरीत दिशाबाट आइरहेको डब्ल्यूबी ७६ ए ०१३० नम्बरको इनोभा वाहनसँग ठोकिएर मूल सडकबाट केही फुट तल खसेको एसके १ डी २५३६ नम्बरको एलपीजी ट्याङ्करलाई आज निकालेर उचित व्यवस्थापन गरेपछि राजमार्ग-१० मा अपराह्न करिब १.३० बजेदेखि यातायात सुचारू भएको छ ।
मूल सडकबाट पल्टेको एलपीजी ट्याङ्करबाट ग्यास लिक भएर कुनै प्रकारको दुर्घटना नहुन सक्ने आशङ्कालाई ध्यानमा राखेर प्रशासनले सुरक्षा उपाय अपनाउँदै आज बिहानदेखि करिब ६ बजेदेखि राष्ट्रिय राजमार्ग १० मा वाहनहरूको आवागमनमाथि रोक लगाएको थियो ।
यसअवधि प्रशासनले सिलगढीबाट सिक्किम-कालेबुङ जाने वाहनलाई रम्बी र सिक्किम-कालेबुङबाट सिलगढीतर्फ झर्ने गाडीलाई टिस्टामा रोकेको थियो । यद्यपि वैकल्पिक मार्गहरू भने यातायातका लागि खुला राखिएका थिए ।
यसअवसरमा कालेबुङका डीएसपी विनोद छेत्री, ट्राफिक इन्स्पेक्टर निङ्मा शेर्पा, इन्डियन ओयल कर्पोरेसनका सेप्टी अफिसर पी. पात्र, आपदा प्रबन्धन कालेबुङका अधिकारीलगायत आपदा प्रबन्धन टिम र स्थानीय पुलिस प्रशासन जुटेका थिए ।
एलपीजी ग्यास ट्याङ्करलाई मूल सडकमा निकाल्नका लागि चारवटा रिकभरी भ्यान र दुईवटा हाइड्रा खटाइएको थियो ।
उल्लेखनीय छ, राष्ट्रिय राजमार्ग १० अन्तर्गत २७ माइलमा हिजो बिहान करिब ७.३० बजे विपरीत दिशाबाट आइरहेको इनोभा वाहनसँग ठोकिएर उक्त ट्याङ्कर मूल सडकबाट केही फुट तल झरेका कारण चालक कालीकान्त झा घाइते भएका थिए ।