गान्तोक, 20 नोभेम्बरः सिक्किमका विद्यार्थीहरू तथा खगोल विज्ञानमा चासो राख्नेहरू अब तारामण्डल हेर्न कोलकाता जानु पर्नेछैन।
पूर्व सिक्किमको मार्चकस्थित सिक्किम साइन्स सेन्टरमा अबदेखि तारा मण्डल हेर्न सकिनेछ।
राज्यका मुख्यमन्त्री पीएस गोलेले आज यहाँ डिजिटल प्लानेटोरियम (DIGITAL PLANETORIUM) थ्रीडी थिएटर हल (3D THEATRE HALL) इनोभेशन हब (INNOVATION HUB) र बायोडाइभर्सिटी ग्यालेरी (BIODIVERSITY GALARY)-को विधिवत उद्घाटन गरे।
सिक्किम सरकारको विज्ञान एवम् प्रौद्योगिकी विभागले भारत सरकारको सहयोगमा निर्माण गरेका यी पूर्वाधारहरूले सिक्किम साइन्स सेन्टरलाई अझ समृद्ध बनाएको छ।
चारवटा नयाँ पूर्वाधारको उद्घाटनपछि मुख्यमन्त्री गोलेले यी सबैको निरीक्षण भ्रमण गरी विभिन्न जानकारी पनि लिए।
पछि पत्रकारहरूसित कुराकानी गर्दै उनले आज उद्घाटित पूर्वाधारहरू विशेष गरी विद्यार्थीहरूका लागि उपयोगी र लाभदायक रहेको बताए।
21औं शताब्दीको शिक्षा व्यवस्थामा यस प्रकारका पूर्वाधार अत्यावश्यक रहेको बताउँदै मुख्यमन्त्रीले विद्यार्थीहरूलाई यहाँको भ्रमण गरी यसबाट ज्ञान हासिल गर्ने अपील गरेका छन्।
अहिलेसम्म प्लानेटोरियम हेर्न कोलकता तथा अन्य स्थानहरूमा जानु पर्थ्यो भने अब सिक्किममै हेर्न सकिने बताउँदै उनले यसका लागि विज्ञान एवम् प्रौद्योगिकी विभागलाई बधाई पनि दिए।