बाहिरबाट फर्किएर बेरोजगार बनेकाहरूका लागि विकल्प खोज्ने अनितको सङ्कल्प

0
1009

दार्जीलिङ, 21 नोभेम्बरः जीटीए बीओएका अध्यक्ष अनित थापाले कोरोना सङ्क्रमणको कारण देश-विदेशबाट आफ्नो घर फर्किएर बेरोजगार जीवन बिताउन बाध्य बनिरहेका युवक-युवतीहरूका लागि ठोस विकल्प खोज्नुपर्ने आवश्यकताबोध गरेका छन्।

उनले रेलिङ कैंजले समष्टिको दुइदिने भ्रमणअवधि समष्टिका धेरै मानिसहरूसित भेट गरेपछि यस्तो अनुभव गरेको बताएका छन्।

थापाले आज बिहान रेलिङ साथै वरिपरिका क्षेत्रमा धेरै परिवारका वृद्ध-वृद्धा सदस्यहरूसित वार्तालाप गरे।

“धेरै परिवारमा प्रायः जसो वृद्ध-वृद्धाहरू पाएँ। उनीहरूका जवान छोरा-छोरीहरू रोजगारका लागि जीटीए क्षेत्रदेखि बाहिर गएका थिए। तर कोभिड-19-का कारण उनीहरू यो समय आफ्नो गाउँ फर्किएर आएका छन्। गाउँमा पढ़े लेखेका युवाहरू प्रशस्तै छन्, तर आय स्रोतका विकल्पहरू धेरै कम्ति छ’’, अनितले थपे, “रेलिङ कैंजले समष्टि कृषि प्रधान क्षेत्र हो, तर यहाँका शिक्षित युवक-युवतीहरूले कृषि अनि पशु पालन गर्न नचाहेको स्पष्ट भएको छ। उनीहरूले कृषि तथा पशु पालनलाई व्यापारिक दृष्टिकोणले हेरेका छैनन्। जसका कारण सामान्य अवस्था रहेको समय यी क्षेत्रका अधिकांश युवा-युवतीहरूले आफ्नै घरमा बसेर कृषि-पशुपालन गर्नको साटो विदेश तथा अन्य राज्यतिर गएर रोजगार गरेका थिए। जसको कारण वृद्ध अवस्थाका मानिसहरू पलायन भएका छोरा-छोरीको कारण समस्यामा परेका थिए। उनीहरूको सामान्य उपचार पनि राम्ररी हुनसकेको थिएन।’’

उनले थपे, “तर गाउँ-बस्ती भएका कारण यहाँ आत्मीयता छ, वल्लो घर-पल्लो घरकाहरू एउटै घरका सदस्यहरू जस्तो छन्। एकजनालाई परेको खण्डमा अन्यले बिनास्वार्थ सहयोग पुऱ्याउँछन्। यसैले छिमेकीको सहयोगका कारण नै पलायन भएका छोरा छोरीहरू पनि बाहिर ढुक्कसित काम गर्न सक्छन्। तरै पनि गाउँले वृद्ध-वृद्धाहरूलाई आफ्ना छोरा-छोरीहरू गाउँबाट पलायन बन्ने क्रमबाट विचलित छन्। यसैकारण एकजना वयोवृद्ध बाजेले मेरो हात समाउँदै नानी तिमीले जुन काम गर्दैछौ, एकदमै ठीक गर्दैछौ। हाम्रो गाउँमा पानी, बाटो सबै दिनु भयो। अब यी घरदेखि टाढ़ा जाने नानीहरूका लागि पनि केही गर्नुहोस् भने।’’

यसैले अब आफूले घरदेखि टाढ़ा रोजगार गर्ने युवा जमातका लागि विकल्पहरू अझै बेसी खोज्नुपर्ने अनितले बताएका छन्।

“अहिले जे गर्दैछु, त्यो यथेष्ट छैन। उनले ती बाजेले आफूलाई गरेको स्पर्श अनि बोली आफ्नो लागि आशिर्वाद हो’’, उनले थप भनेका छन्, “राजनीति आफ्नो ठाउँमा छ। तर, जीटीएको गोठालो भएको नाताले मेरो उत्तरदायित्व भनेको जीटीए क्षेत्रका प्रत्येक परिवारलाई सही मार्गदर्शन गर्नु अनि सबैलाई उन्नतिको पथमा लैजानु हो।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here