इरानको पोस्टमा इङ्ग्ल्यान्डको आधा दर्जन गोल

0
839

(फोटो स्रोत : फिफा)

दोहा, २१ नोभेम्बरः कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै इङ्ग्ल्यान्डले आज इरानको पोस्टमा आधा दर्जन गोल गऱ्यो ।

आफूभन्दा कमजोर इरानविरुद्ध शुरूदेखि नै आक्रामक फुटबल खेलेको इङ्ग्ल्यान्डले पहिलो म्याच ६-२ को गोलअन्तरले जितेको हो ।

इङ्ग्ल्यान्डका लागि युवा मिड फिल्डर जुड बेलिङ्घमले खेलको ३५औँ  मिनटमा गोल गरी आफ्नो टिमलाई शुरुवाती अग्रता दिलाएका थिए ।  

बेलिङ्घमले हेडरमार्फत सुन्दर गोल गरेका थिए । ८ मिनट नबित्दै युवा बुकायो साकाले गोल गरी अग्रतालाई दोब्बर बनाए ।

पहिलो हाफको अतिरिक्त समयमा रहिम स्ट्रेलिङले थप गोल गरी यो अग्रतालाई ३-० बनाए ।

पहिलो हाफमा उम्दा फुटबल खेलेको इङ्ग्ल्यान्ड दोस्रो हाफमा पनि रोकिए । बुकायो साकाले खेलको ६२औँ मिनटमा व्यक्तिगत दोस्रो तथा टिमको चौथो गोल गरे ।

यद्यपि चौथो गोल खाएको तीन मिनट नबित्दै इरानका स्टार खेलाडी मेहदी तेरमीले गोल गरी गोलअन्तर घटाउने प्रयास गरे । तथापि मार्कस रसफोर्डले ७१औँ  मिनटमा गोल गरी गोलअन्तर ५-१ पुऱ्याए ।

त्यसपछि ८९औँ  मिनटमा ज्याक ग्रिलिसले थप एक गोल गरी इङ्ग्ल्यान्डको अग्रतालाई ६-१ बनाए ।

निर्धारित समयपछि थपिएको १० मिनटको अन्त समयमा तेरमीले पेनल्टीमार्फत गोल गरी हारको अन्तरलाई ६-२ बनाए । भिएआरमार्फत इरानले पेनल्टी पाएको थियो, जसलाई तेरमीले खेरो फालेनन् ।

बलियो इङ्ग्ल्यान्डविरुद्ध आज इरान निरीह देखियो । इङ्ग्ल्यान्डले ७९ प्रतिशत बलमाथि पकड राख्दै १३ पटक इरानी पोस्टमा प्रहार गरेको थियो, जसमा ७ प्रहार अन टार्गेट थिए ।

अर्कोतर्फ केवल २१ प्रतिशत बल नियन्त्रण गरेको इरानले ८ पटक इङ्ग्ल्यान्डको पोस्टमा प्रहार गरेको थियो, जसमा तीन प्रहार अन टार्गेट थिए।

यो जीतसँगै इङ्ग्ल्यान्डले समूह ‘बी’-मा पूर्ण तीन अङ्क बटुलेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here